
काठमाडौं । नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक तथा लेखक राजु रायमाझीको पहिलो उपन्यास ‘रिमा’ लोकार्पण गरिएको छ । शिमल बुक्सद्वारा प्रकाशित उक्त कृतिको संयुक्त रूपमा प्रमुख अतिथि नइ एकेडेमीकी कुलपति तथा त्रिमूर्ति निकेतन एवं बानिरा फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईं, रायमाझीकी आमा रमा रायमाझी, साहित्यकार वासुदेव अधिकारी, हरिशरण ढुंगानालगायतले गरे ।
कार्यक्रममा वक्ताहरूले रिमाले समकालीन समाजका संघर्ष, सपना, प्रेम, सफलता र मानवीय संवेदनालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टा राजु रायमाझीको साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
रायमाझी हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा कार्यरत छन् । उनले भारतको युनिभर्सिटी अफ माइसोरबाट एमबीए तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन् । नबिल बैंक र नेपाल राष्ट्र बैंकमा गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा ८ वर्षभन्दा बढीको अनुभव हासिल गरेका उनीसँग किस्टकलेज अफ म्यानेजमेन्ट, कलेज अफ एप्लाइड बिजनेस तथा पुष्पलाल मेमोरियल कलेजमा वित्त तथा व्यवस्थापनसम्बन्धी विषय अध्यापन गरेको अनुभव पनि छ ।
बैंकिङ पेशासँगै साहित्य सिर्जनामा सक्रिय रायमाझीका सिर्जना विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । शिमल बुक्सद्वारा प्रकाशित ‘रिमा’ उपन्यासको सफ्ट कभर संस्करणको मूल्य ४ सय ५० तथा हार्ड कभर संस्करणको मूल्य ५ सय ५० रूपैयाँ निर्धारण गरिएको प्रकाशकले जनाएको छ ।






प्रतिक्रिया