स्वीकृति नपाउँदा रोकियो दीपक मल्होत्राले टोखामा बनाउन लागेको अपार्टमेन्ट निर्माणको काम


काठमाडौं । व्यवसायी दीपककुमार मल्होत्राले टोखामा बनाउन लागेको अपार्टमेन्ट निर्माणको स्वीकृति नपाउँदा परियोजनाको काम रोकिएको छ । आईएमएस ग्रुपद्वारा टोखामा अपार्टमेन्ट निर्माण कार्य अगाडि बढाउनका लागि नियामकीय स्वीकृति नपाउँदा कार्य रोकिएको हो ।

सन् १९९६ मा स्थापना भएको कम्पनी होटल शाहंशा इन्टरनेशनलले टोखामा रियल इस्टेट आयोजना निर्माण कार्य अगाडि बढाएको छ । जसमा कम्पनीले व्यवसायिक भवन र ९० युनिटको आवासीय अपार्टमेन्ट कम्प्लेक्स बनाउने भनिएको थियो ।

हालसम्ममा व्यवसायिक भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अपार्टमेन्टको निर्माण कार्य बढ्न सकेको छैन ।
कम्पनीअनुसार अपार्टमेन्टको डिजाइन चरण सम्पन्न भए पनि आवश्यक नियामकीय स्वीकृति प्राप्त नभएका कारण परियोजनाको कार्य रोकिएको उल्लेख छ ।

कम्पनीले परियोजना दुई चरणमा विभाजित गरी निर्माण गर्ने जनाएको छ । जसमा व्यवसायिक भवन र अपार्टमेन्ट छन् । व्यवसायिक भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ र उक्त भवन भाडामा दिएर मासिक भाडा आम्दानी प्राप्त गर्ने निर्णय गरेको छ । तर, समयमा निर्माण सुरु नभएको अपार्टमेन्ट अझै पनि ढिलाइमा रहेको छ ।

कम्पनीले अपार्टमेन्ट २ अर्ब २ करोड ६० लाख रुपैयाँमा निर्माण गर्ने जनाएको छ । जसमा कम्पनीले ६०ः४० को ऋण–इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गर्ने योजना बनाएको छ ।

कम्पनीअनुसार १ अर्ब २१ करोड ६० लाख रुपैयाँ ऋण र ८१ करोड १० लाख रुपैयाँ इक्विटीमार्फत् अपार्टमेन्ट निर्माण गर्ने भएको हो । कम्पनीको कुल ऋणको व्यवस्था भइसकेको छ । तर, परियोजनाको कार्य अगाडि बढ्न नसक्दा कार्यान्वनमा जोखिम बढेको रेटिङमा उल्लेख छ ।

कम्पनीले आगामी साउनदेखि निर्माण कार्य अगाडि बढाउने र आगामी तीन वर्षभित्र सम्पन्न हुने अपेक्षा गरेको छ । कम्पनीले हालसम्म नियामकीय स्वीकृति बाँकी रहेकाले असारको अन्त्यसम्ममा प्राप्त हुने अपेक्षा गरेको छ ।

दीपककुमार मल्होत्रा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २६ करोड ९४ लाख रुपैयाँको रेटिङ गराएको छ ।