अयोध्या राम मन्दिर दान चोरी प्रकरणः अभियुक्तले प्रेमिकालाई आईफोन उपहार दिएको खुलासा

84
Shares

एजेन्सी । अयोध्याको राम मन्दिरमा भक्तजनहरूले चढाएको दानको रकम चोरी गरेर एक अभियुक्तले महँगो आइफोन किनेको र परिवार, साथीभाइ तथा प्रेमिकाका लागि खर्च गरेको खुलासा भएको छ ।

स्रोतका अनुसार, दान चोरीको आरोप खेपिरहेका गणना टोलीका आठ कर्मचारीमध्येका एक अविनाश शुक्लले सोधपुछका क्रममा यस्तो बयान दिएका हुन् । अनुसन्धानकर्मीहरूले अहिले सो पैसाको मनी ट्रेल (पैसा कहाँ कहाँ पुग्यो भन्ने मार्ग) खोजी गरिरहेका छन् ।

एनडीटीभीको रिपोर्ट अनुसार, शुक्लले आफू, आफ्नो परिवार र साथीभाइका लागि करिब १९ लाख भारु खर्च गरेको स्वीकार गरेका छन् । चोरी भएको कुल रकम करोडौंमा रहेको अनुमान गरिएको छ ।

स्रोतका अनुसार, शुक्लले ६ लाख भारु भाइको भव्य विवाहमा खर्च गरेका थिए भने अर्का एक भाइलाई ५ देखि ६ लाख भारु दिएका थिए । उनले आफ्नी प्रेमिकालाई आईफोन उपहार दिनुका साथै उनको खातामा थप २.५ लाख भारु ट्रान्सफर गरेको पनि खुलेको छ ।

प्रहरी कागजातका अनुसार, शुक्लले करिब २० लाख भारु हात पारेका थिए । यो संदिग्धहरूमध्ये सबैभन्दा बढी रकम हो ।
अनुसन्धानकर्मीहरूले अहिले यस प्रकरणमा थप प्रमाण जुटाउन वित्तीय कारोबार, बैंक खाता र सम्बन्धित सम्पत्तिहरूको जाँच गरिरहेका छन् । नगद हिनामिनाको आरोपमा अहिलेसम्म आठजना अभियुक्तलाई पक्राउ गरिएको छ ।

यसैबीच राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले यस घटनामा कडा कारबाहीको माग गर्दै विशेष अनुसन्धान टोली (एसआईटी) को अनुसन्धानलाई समर्थन गरेको छ । विवादकै बीच मन्दिर ट्रस्टले चम्पत रायको राजीनामा स्वीकृत गर्दै बजरंग बागरालाई नयाँ महासचिव नियुक्त गरेको छ ।

दान चोरीको विवाद चर्किएपछि मन्दिर ट्रस्टले मंगलबार भक्तजनहरूले दान गरेका बहुमूल्य वस्तुहरूको विवरण सार्वजनिक गरेको छ । ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीले मन्दिरमा दान गरिएका २९ सय २६ वटै बहुमूल्य सामग्रीहरू सुरक्षित रहेको र तिनीहरूको उचित अभिलेख राखिएको बताए ।

ट्रस्टसँग अहिले ३२ केजीभन्दा बढी सुन र १५ सय १८ केजीभन्दा बढी चाँदीका वस्तुहरू रहेको जानकारी दिइएको छ । ट्रस्टले सोमबार मिडियालाई सुनको रामचरितमानस र हीरा जडित हारसहितका कतिपय सामग्रीहरू प्रदर्शन गरेको थियो ।

सामाजिक सञ्जालमा हराएको भनिएको चाँदीको चरण पादुका र काकभुशुण्डी कलाकृति पनि सुरक्षित रहेको भन्दै मिडियालाई देखाइएको छ ।

गिरीका अनुसार, ३१ मार्च २०२४ सम्म १६.७६५ केजी, आर्थिक वर्ष २०२४–२५ मा १०.४४५ केजी र २०२५–२६ मा ५.०५० केजी सुन प्राप्त भएको छ जसले गर्दा ३१ मार्च २०२६ सम्म कुल सुन ३२.२५९ केजी पुगेको छ ।

त्यस्तै, चाँदीको मौज्दातमा सरकारी निगरानीमा गालेर शुद्ध बनाइएको ८४९.२७२ केजी चाँदी पनि समावेश छ । ट्रस्टले हरेक दान गरिएको वस्तुको विवरण, दाताको नाम र मितिसहितको अभिलेख सुरक्षित राखिएको स्पष्ट पारेको छ ।

केही सामाजिक सञ्जालमा हराएको भनिएका सामग्रीहरू मन्दिरको संरक्षणमा पूर्ण रूपमा सुरक्षित रहेको ट्रस्टले जनाएको छ ।