भारतले इन्डोनेसियालाई ब्रह्मोस र अस्त्र मिसाइल आपूर्ति गर्ने, ६३ करोड डलरको रक्षा सम्झौता

77
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्ताको दुई दिने भ्रमण सुरु गरेसँगै भारतले इन्डोनेसियालाई ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल र अस्त्र एयर–टु–एयर मिसाइल आपूर्ति गर्ने एक सरकारी अधिकारीले मंगलबार बताएका छन् ।

करिब ६३ करोड डलर बराबरको यो सम्झौता मोदीको भ्रमणकै क्रममा हुने सम्भावना रहेको भारतीय स्रोतहरूले यसअघि रोयटर्सलाई बताएका थिए । ब्रह्मोस एरोस्पेस प्राइभेट लिमिटेडले उत्पादन गर्ने यी मिसाइलहरू खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्ने इन्डोनेसिया तेस्रो देश हुनेछ ।

इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव जमाउनका लागि चीनसँग प्रतिस्पर्धा बढिरहेका बेला भएको यो सम्झौताले भारतको रक्षा निर्यातमा ठूलो विस्तार गर्ने र दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रसँगको रणनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।

भारत र रुसले संयुक्त रूपमा विकास गरेका ब्रह्मोस मिसाइलहरू विश्वकै तीव्र गतिको क्रुज मिसाइलहरूमध्ये पर्छन् र यिनलाई जमिन, समुद्र र हावाबाट प्रहार गर्न सकिन्छ ।

त्यसैगरी, अस्त्र नामक भिजुअल रेन्जभन्दा टाढा प्रहार गर्न सकिने एयर–टु–एयर मिसाइलहरूलाई इन्डोनेसियाली वायुसेनामा रहेका रुसी निर्मित सुखोई लडाकु विमानहरूमा जडान गर्न सकिनेछ ।

यस विषयमा प्रतिक्रियाका लागि पठाइएका ईमेलहरूको भारतीय सरकारले कुनै जवाफ दिएको छैन भने नयाँ दिल्लीस्थित इन्डोनेसियाली दूतावासले पनि तत्काल कुनै टिप्पणी गरेको छैन ।

गत मार्चमा इन्डोनेसियाले भारत र रुस सरकारको संयुक्त स्वामित्वमा रहेको ब्रह्मोस मिसाइल प्रणाली खरिद गर्न भारतसँग सम्झौता गरेको बताएको थियो । त्यस समयमा इन्डोनेसियाको रक्षा मन्त्रालयले रोयटर्सलाई यो सम्झौता अन्तिम चरणमा रहेको र २० करोडदेखि ३५ करोड डलरसम्मको हुन सक्ने बताएको थियो ।

गत वर्ष पाकिस्तानसँगको चार दिने द्वन्द्वका क्रममा नयाँ दिल्लीले पहिलोपटक यो हतियार प्रणाली युद्धमा प्रयोग गरेपछि ब्रह्मोस मिसाइलप्रति चासो बढेको छ । भारतले यसअघि नै भियतनाम र फिलिपिन्सलाई ब्रह्मोस मिसाइल बिक्री गर्ने सम्झौता गरिसकेको छ । संयुक्त अरब अमिरातसहित आधा दर्जनभन्दा बढी देशले यसप्रति चासो देखाएका छन् ।

मोदीले इन्डोनेसियाली राष्ट्रपति प्रबोबो सुब्यान्टोसँग वार्ता गर्ने र समुद्री सुरक्षा, रक्षा औद्योगिक सहयोग, क्षेत्रीय कनेक्टिभिटी र इन्डो–प्यासिफिक क्षेत्रमा बृहत्तर रणनीतिक समन्वयका बारेमा छलफल गर्ने कार्यक्रम रहेको भारतीय स्रोतले जनाएको छ ।

तेस्रो भारतीय स्रोतका अनुसार, ब्रह्मोस सम्झौता सम्बन्धी वार्ताहरू फेज्ड एक्विजिसन मोडल (चरणबद्ध खरिद प्रक्रिया) मा केन्द्रित हुने अपेक्षा गरिएको छ जसले इन्डोनेसियालाई बिस्तारै आफ्नो मिसाइल क्षमता विस्तार गर्न अनुमति दिनेछ ।

विचाराधीन प्याकेजमा मिसाइल प्रणाली, सहयोगी पूर्वाधार, अपरेटर तालिम, मर्मत सम्भार सेवा र दीर्घकालीन तैनाथीका लागि आवश्यक अन्य प्राविधिक सहयोग समावेश छ ।

सन् २०२४–२५ मा इन्डोनेसियासँगको द्विपक्षीय व्यापार २८.१५ अर्ब डलर पुगेको छ र यो देश दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) मा भारतको दोस्रो ठूलो व्यापारिक साझेदारको रूपमा रहेको छ ।

भ्रमणअघि मोदीले इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको आफ्नो भ्रमणले भारतको ’एक्ट ईस्ट’ नीति, क्षेत्रभर सुरक्षाका लागि आपसी र समग्र उन्नतिको भिजन र स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्रप्रतिको प्रतिबद्धतालाई बलियो बनाउने बताएका थिए ।