
एजेन्सी । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको ४८ टिमको फिफा विश्वकप २०२६ मैदानभित्रको प्रतिस्पर्धा जत्तिकै रोचक बनेको छ मैदान बाहिर रेफ्रीहरूको पारिश्रमिकको चर्चा ।
यस पटकको विश्वकपमा फिफाले ५२ रेफ्री, ८८ सहायक रेफ्री र ३० भिडियो सहायक रेफ्री (भीएआर) अधिकारी खटाएको छ, जसमध्ये सोमालियाली रेफ्री ओमार अब्दुलकादिर आर्टानलाई भने अमेरिकी सीमामा प्रवेश नदिइएकाले फिर्ता पठाइयो।
फिफाले भने रेफ्रीहरूको पारिश्रमिक तालिका कहिल्यै आधिकारिक रूपमा सार्वजनिक गर्दैन । तापनि द टाइम्स, बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्टिङका आधारमा यसपालिको भुक्तानी संरचनाबारे प्रस्ट चित्र सार्वजनिक भएको छ।
मुख्य रेफ्रीलाई कति ?
रिपोर्टहरूका अनुसार मुख्य (सेन्ट्रल) रेफ्रीले टुर्नामेन्टमा छनोट हुँदा नै एकमुष्ट लगभग ७० हजार अमेरिकी डलर (१ करोड ६ लाख ४० हजार रुपैयाँ) आधार शुल्क पाउँछन् र यो रकम उनले कति खेल खेलाए भन्नेसँग सम्बन्धित नभई केवल छनोट भएकै बापत दिइन्छ । यसमा थप गरी प्रत्येक ग्रुप चरणको खेल खेलाए बापत करिब तीन हजार डलर र नकआउट चरणको प्रत्येक खेलमा दश हजार डलरसम्म थपिन्छ ।
उदाहरणका लागि, यदि एक रेफ्रीले समूह चरणमा ३ वटा खेल खेलाए भने उनले थप ९,००० डलर (नेपाली १३ लाख ६८ हजार रुपैयाँ) प्राप्त गर्छन् । यदि उनको प्रदर्शन उत्कृष्ट रह्यो र उनले नकआउट चरणका दुईवटा खेल र फाइनल खेल खेलाउने अवसर पाए भने उनले प्रति खेल १०,००० डलरका दरले थप ३०,००० डलर (नेपाली ४५ लाख ६० हजार रुपैयाँ) बुझ्नेछन्। यसरी हेर्दा, फाइनलसम्म पुग्ने एक मुख्य रेफ्रीले प्रतियोगिताभरिमा करिब १,१०,००० देखि १,३०,००० अमेरिकी डलरसम्म कमाउन सक्छन्, जुन नेपाली रुपैयाँमा १ करोड ६७ लाखदेखि १ करोड ९७ लाख रुपैयाँसम्म हुन आउँछ।
कतिपय रिपोर्टअनुसार शीर्ष तहका अधिकारीले खेलगत भुक्तानी र फाइनल चरणका बोनससहित तीन लाख डलरसम्म आम्दानी गर्न सक्ने अनुमान गरिएको छ।
लाइनमा उभिई अफसाइड र अन्य निर्णयमा सहयोग गर्ने सहायक रेफ्रीहरूले भने मुख्य रेफ्रीभन्दा कम पाउने गरेका छन् । उनीहरूले करिब २५ हजार डलर आधार शुल्क, त्यसमा ग्रुप चरणको खेलका लागि २,५०० डलर र नकआउट खेलका लागि ५,००० डलर थप पाउने रिपोर्ट छ।
भार प्रविधिको बढ्दो महत्त्वसँगै फिफाले यसपालि ३० जना दक्ष भिडियो अधिकारी नियुक्त गरेको छ। उनीहरूको पारिश्रमिक संरचना पनि सहायक रेफ्रीसँग लगभग मिल्दो छ । उनीहरूको आधार शुल्क २५ हजार डलर रहेकोमा ग्रुप चरणमा तीन हजार र नकआउटमा पाँच हजार डलर थपिने बताइएको छ।
फाइनल खेलाउनेले कति कमाउँछन् ?
पूर्व प्रिमियर लिग रेफ्री मार्क क्लाटनबर्गले ‘व्हिसलब्लोअर्स पोडकास्ट’मा फिफाको भुक्तानी संरचना प्रति-खेल आधारमा रहेको बताएका थिए । उनका अनुसार फाइनल खेलाउने रेफ्रीले कुल रूपमा ६० देखि ७० हजार डलरसम्म आम्दानी गर्ने अनुमान छ । यसबाहेक फाइनल खेलाएको सम्मानस्वरूप स्मारक पदक पनि दिइने चलन छ र २०२२ कतर विश्वकपमा जसरी अधिकारीहरूले आधिकारिक टाइमकिपर साझेदारबाट महंगो घडी उपहार पाएका थिए यसपालि पनि त्यस्तै उपहार दिइने वा नदिइने भने अझै पुष्टि भइसकेको छैन।
विश्वकपको सबैभन्दा प्रतिक्षित फाइनल खेलका लागि मुख्य रेफ्रीको छनोट गर्ने प्रक्रिया भने निकै जटिल र निष्पक्ष रहने गर्दछ। फिफा रेफ्री कमिटीले प्रतियोगिताभरि रेफ्रीले देखाएको कार्यकुशलता, निर्णय लिने क्षमता र शारीरिक तन्दुरुस्तीको आधारमा ‘रेटिङ’ तयार पार्छ। फाइनल खेलका लागि रेफ्री छान्दा भौगोलिक तटस्थतालाई पहिलो सर्त मानिन्छ; अर्थात् फाइनलमा पुगेका दुई देश आबद्ध फुटबल महासंघका रेफ्रीले सो खेल खेलाउन पाउँदैनन्। यसरी सबै प्राविधिक र नैतिक मापदण्ड पूरा गरी छानिएका रेफ्रीले विश्वकपको फाइनल सञ्चालन गर्दा प्राप्त गर्ने प्रतिष्ठा र आर्थिक लाभ दुवै करियरकै उच्च विन्दुमा रहने गर्दछ।
तलब मात्र होइन, थप सुविधा पनि
फिफाले रेफ्री, सहायक रेफ्री र भीएआर अधिकारी सबैको आवास, हवाई यात्रा र दैनिक भत्ता (खाना तथा अन्य खर्च) पूर्ण रूपमा बेहोर्ने गरेको छ। साथै आधिकारिक स्पोर्ट्सवेयर ब्रान्डबाट किट, जुत्ता र जर्सी पनि उपलब्ध गराइन्छ।
यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने, विश्वकपमा छनोट हुने अधिकांश रेफ्री फिफाअन्तर्गत पूर्णकालीन कर्मचारी होइनन् । उनीहरूको मुख्य आम्दानीको स्रोत आफ्नै देशको घरेलु लिग (जस्तै प्रिमियर लिग, बुन्डेसलिगा, ला लिगा) बाटै हुने गर्छ । तुलनाका लागि हेर्दा, इंग्लिश फुटबल लिगले गत वर्ष क्लबहरूलाई जनाएअनुसार प्रिमियर लिगका शीर्ष रेफ्रीहरूले वार्षिक औसत १ लाख ७० देखि १ लाख ८० हजार पाउन्ड सम्म कमाउने गर्छन्, जसमा अनुभव र वरिष्ठताका आधारमा आधार तलब मात्रै ७२ हजारदेखि १ लाख ४८ हजार पाउन्डसम्म हुन्छ।






प्रतिक्रिया