
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा ६३ जना कर्मचारीले कार्यालय समय र अनुशासनसम्बन्धी नियम पालना नगरेको पाइएपछि केन्द्रले उनीहरूमाथि कारबाही गर्न निर्देशन दिएको छ ।
सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यरत कर्मचारीको उपस्थिति, नियमित सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयमा छड्के अनुगमन गरेका थियो ।
सेवा प्रवाह, कर्मचारीको समयपालना, पोशाक तथा आचरणको अवस्थाबारे अनुगमन गरिएकामा ठूलो संख्यामा कर्मचारी समयमै कार्यालयमा उपस्थित नभएको वा कार्यालय समयमा अनुपस्थित रहेको भेटिएपछि कारबाहीको सिफारिस गरिएको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले निजामती सेवा ऐन, २०४९ को दफा ५५(क) तथा प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको छ ।
पछिल्लो समय राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालयहरूमा आकस्मिक अनुगमनलाई तीव्रता दिएको छ। सरकारी सेवामा सुशासन, पारदर्शिता र कर्मचारी अनुशासन कायम गर्ने उद्देश्यले यस्ता अनुगमनलाई निरन्तरता दिइएको केन्द्रले जनाएको छ ।
केन्द्रले कार्यालय अनुशासन र सेवा प्रवाह सुधार गर्न समयपालनालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।









प्रतिक्रिया