
विराटनगर । डेढ महिनादेखि भारतले नेपाली चियाको निकासीमा गैरभन्सार अवरोध गर्दा समेत सरकारले कूटनीतिक पहल नगरेको भन्दै नेपाली चिया उत्पादक किसान आन्दोलित बनेका छन् ।
गुणस्तरको बहानामा भारतीय पक्षले नेपाली उत्पादनलाई रोक लगाएर बजारमा एकाधिकार जमाउने प्रयत्न गरेको भन्दै नेपाली चिया उत्पादक किसान र चियासँग जोडिएका वर्गले काँकरभिट्टा नाकाबाट भित्रिने भारतीय उत्पादनलाई भित्रिन नदिने तयारी गरेका छन् ।
चिया निकासी डेढ महिनादेखि अवरुद्ध हुँदा उत्पादन गोदाम र बगानमै कुहिने अवस्था आउँदा पनि सरकारले निकासी सुचारु गर्न कूटनीतिक पहल गरेन । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले क्लिकमान्डुसँग भने, ‘त्यसका विरुद्ध हामी पनि काँकरभिट्टा नाकाबाट भारतीय उत्पादन भित्रिन नदिएर सरकारलाई दबाब दिने तयारी गरेका छौं ।’
पछिल्लो डेढ महिनाको अवधिमा भारत पुगेको करिब डेढ लाख चिया बायरहरूको गोदाममै थन्किनुका साथै निकासी अवरुद्ध हुँदा करिब १५ लाख किलो चिया नेपाली बगान र गोदाममा सड्ने अवस्थामा रहेको पराजुलीको गुनासो छ ।
वैशाख दोस्रो सातासम्म हरेक दिन काँकरभिट्टा नाकाबाट सरदर ३ ट्रक चिया निकासी हुन्थ्यो । वैशाख १८ गतेयता ८ ट्रक चिया निकासी भएको छ । त्यो पनि भारतको चिया बोर्डले गुणस्तर परीक्षणका नाममा आयातकर्ताको गोदामबाट बजार निकाल्न नदिँदा पछिल्लो दुई सातादेखि चिया निकासी पूर्ण रूपमा ठप्प भएको पराजुलीको गुनासो छ ।
पछिल्लो डेढ महिनामा भारत निकासी भएको करिब डेढ लाख किलो चिया गुणस्तर परीक्षणका नाममा भारतीय चिया बोर्डले आयातकर्ताको गोदामबाट बजारमा पुर्याउन दिएको छैन । बोर्डले गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना लगेर रिपोर्ट नआएसम्म चिया बजार नलैजान आदेश दिएको छ । पराजुलीले भने, ‘भारतले गुणस्तरका बहानामा नेपाली चिया रोकेर बजारमा एकाधिकार जमाउन खोज्दा समेत सरकारले वास्ता नगर्दा हामी आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।’
भारतले आफ्नो उत्पादन मात्र विदेशमा पठाएर अरूको उत्पादन आफ्नो बजारमा रोक लगाएको छ । पराजुलीले भने, ‘यसले हामीलाई पनि काँकरभिट्टा नाकाबाट भित्रिने भारतीय उत्पादन रोक्न बाध्य बनायो ।’
नेपाली उत्पादनको भारतमा गुणस्तर परीक्षण गर्दा तीन सातासम्म रिपोर्ट दिँदैनन् । भारतीय उत्पादन नेपाल भित्रिँदा सेकेन्डमा गुणस्तर परीक्षणको रिपोर्ट दिएर नेपाल सरकारले समेत स्थानीय किसान र उत्पादकलाई विभेद गर्दै आएको पराजुलीको गुनासो थियो ।
गत वैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो ।
त्यसको व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । पराजुलीले भने, ‘तर भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि पछिल्लो दुई सातादेखि चिया निकासी पूर्ण रूपमा ठप्प भएको छ ।’
पछिल्लो समय भारत पुगेको करिब डेढ लाख किलो चियाको गुणस्तर परीक्षणका नाममा बोर्डले आयातकर्ताको गोदामबाटै नमुना लगेर तीन साता बितिसक्दा पनि रिपोर्ट नदिएर चियालाई बजार पुर्याउन दिएको छैन । पराजुलीले भने, ‘त्यसैका कारण दुई सातादेखि निकासी पूर्ण रूपमा ठप्प हुँदा झण्डै १५ लाख किलो चिया निकासी नहुँदा किसानको गोदाममा थन्किएको छ ।’
भारतले पुनः चिया निर्यातमा अवरोध लगाउँदै प्रत्येक कन्साइनमेन्टको गोदाममै पुगेर नमुना संकलन र प्रयोगशाला परीक्षण सुरु गरेको छ । यसले करिब डेढ लाख किलो चिया भारतीय गोदाममै थन्किएको छ ।
सिटीसी चिया उत्पादक संघका अध्यक्ष शिवकुमार गुप्ताले भने, ‘कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको दुई साताभन्दा बढी भइसक्दा पनि रिपोर्ट छैन ।’ उनले भने, ‘गोदाममै गएर नमुना संकलन गर्न थालेपछि बायरहरू नै चिया किन्न मान्न छाडेको अवस्था छ । नेपाली चिया भारतीय व्यापारीले नकिनून् भन्ने भारतीय चिया बोर्डको नियत प्रस्ट देखिन्छ ।’
गुप्ताले भने, ‘नेपालबाट गएको चिया गोदाममा पुग्नेबित्तिकै प्रत्येक बोराबाट नमुना संकलन गरेर प्रयोगशाला पठाइन्छ । रिपोर्ट नआएसम्म बिक्री रोक्न भनिएको छ । यही कारण व्यवसायीले नयाँ निर्यातका लागि फाराम नै पेस गर्न छाडेका छन् । परीक्षणको नतिजा मापदण्डअनुसार नआए आफ्नो सामान नष्ट गर्नुपर्ने हुन सक्ने डर व्यापारीमा पर्दा चिया नै बिक्री हुने अवस्था छैन ।’
वैशाखमा २१ दिनको अवरोधपछि जेठ पहिलो साता दुई दिन निकासीका लागि खुकुलो बनाएलगत्तै भारतले पुनः चिया निर्यातमाथि अवरोध गरेको हो । भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले नै निर्यात रोकेको चिया उद्यमीहरूको भनाइ छ ।
जेठको पहिलो साता कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिए पनि अहिलेसम्म रिपोर्ट नआउँदा करिब डेढ लाख किलो चिया अहिले भारतीय बायरहरूको गोदाममै थन्किएको पराजुलीले बताए ।
यसअघि पनि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै ‘टी काउन्सिल’ पोर्टलमा चिया आउने मिति, गोदामको ठेगाना, कन्टेनर विवरण र प्रोफर्मा इन्भ्वाइससहितको जानकारी बुझाउनुपर्ने व्यवस्था लागू गरेको थियो ।
नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुने नेपाल चिया विकास निगमको तथ्याङ्क छ । त्यसमध्ये करिब ९० प्रतिशत चिया निर्यात हुने गरेको छ ।
भारतीय चिया बोर्डले गुणस्तर नियन्त्रणलाई मजबुत बनाउन र मिसावट रोक्न भन्दै गत वैशाख १८ गतेदेखि लागू हुने गरी नेपालसहित सबै देशबाट आयात हुने चियामा अनिवार्य परीक्षण प्रणाली सुरु गरेको थियो । उक्त कार्यविधि (एसओपी) अन्तर्गत आयात गरिने चियाको प्रत्येक कन्साइनमेन्ट (खेप) को नमुना संकलन र प्रयोगशाला परीक्षण अनिवार्य गरिएको थियो ।
भारतीय आयातकर्ताहरूले चिया बोर्डको पोर्टलमार्फत ढुवानीको विस्तृत विवरण बुझाउनुका साथै प्रतिनमुना भारु ११ हजार १ सय २० र लागू हुने जीएसटी शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब ३५ करोड मूल्य बराबरको ११ हजार ४ सय टन नेपाली चिया निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ । गत वर्ष यही अवधिमा ३ अर्ब ९७ करोड मूल्यको १४ हजार ३० टन चिया निर्यात भएको थियो । त्यसैगरी गत वर्षभरिमा ४ अर्ब ५९ करोड मूल्यको १५ हजार ६ सय टन चिया निकासी भएको निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ । कुल निकासी हुने नेपाली चियाको तेस्रो मुलुक बजारको हिस्सा करिब ११ प्रतिशत छ ।









प्रतिक्रिया