अर्थमन्त्री डा. वाग्लेको ‘धम्की’ लाई लिएर हंगामा: सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की

126
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई धम्की दिएको भन्दै संसदीय समितिमा तीव्र विवाद र हंगामा भएको छ । बिहीबारको बैठकमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर शुक्रबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच निकै बेर सबालजवाफ भएको हो ।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक सच्याइएको विषयमा स्पष्टीकरण दिँदै विगतमा पनि यस्ता विधेयक सच्याउने गरिएको दाबी गरेका थिए । उनले सरकार अब सुशासनको मामिलामा निर्मम भएको र पुराना ‘फाइल खोल्ने’ चेतावनी दिएका थिए । साथै, उनले विगतका अर्थमन्त्रीहरूले ७० वटासम्म गल्ती गरेकोमा आफूले ‘६ वटा मात्रै गल्ती गरेको’ भन्दै आफ्नो कदमको बचाउ गरेका थिए । यही अभिव्यक्तिलाई प्रतिपक्षी दलहरूले सांसद र समितिको अपमानको रूपमा लिएका छन् ।

शुक्रबारको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले वर्तमान अर्थमन्त्रीले समितिको मर्यादा विपरीत धम्कीपूर्ण र अपमानजनक अभिव्यक्ति दिएको भन्दै कडा विरोध जनाए । पुनले अर्थमन्त्रीको ‘७० बनाम ६’ को तर्कमाथि प्रश्न उठाउँदै भने, ‘हिजोकाले ७० वटा गरे त्यसैले मैले ६ वटा मात्र गरें भन्नु अपराधको न्यायोचितीकरण हो । अपराध जति वटा गरे पनि अपराध नै हो, यसमा समिति गम्भीर हुनुपर्छ ।’

सांसद पुनले अर्थमन्त्रीले सांसदहरूलाई ‘हेप्ने र धम्की दिने’ शैली अपनाएको आरोप लगाए । उनले थपे, ‘यो समिति अर्थमन्त्रीका लागि आफ्ना कुरा प्रष्ट पार्ने र तथ्य प्रस्तुत गर्ने अवसर हुनुपर्नेमा उल्टै समितिको मानमर्दन गरियो। यदि समितिको मानमर्दन भइरहने हो भने यहाँ बस्ने–नबस्ने विषयमा पनि सोच्नुपर्ने हुन सक्छ । सभापति ज्यूले यसमा रुलिङ गर्नुपर्छ ।’

पुनले अर्थमन्त्रीले संसद्‌सम्म पुगेर सांसदहरूलाई दिएको धम्कीपूर्ण अभिव्यक्ति दुःखद भएको बताउँदै कानूनी ‘ग्रे एरिया’ हरूलाई स्पष्ट पार्न समितिले सहयोग गर्ने तर धम्की सह्य नहुने स्पष्ट पारे ।

पुनको आरोपपछि सत्तापक्ष (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसद गणेश पराजुलीले अर्थमन्त्रीको बचाउ गर्दै प्रतिवाद गरे । उनले पुनको भनाइलाई ‘चित्त दुःखाइ र दुखेसो’ को संज्ञा दिए । सांसद पराजुलीले भने, ‘एउटा अर्थमन्त्रीले अर्को अर्थमन्त्रीको बाध्यता बुझ्नुपर्छ । हामी प्रतिपक्षमा हुँदा आवाज उठाउँदा ‘संख्या पुर्‍याएर ल्याऊ’ भन्ने खालका सफ्ट धम्की आउने गर्थे, जसलाई हामीले सहज रूपमा लियौं र आज जनताले हामीलाई त्यो संख्या दिएर पठाएका छन् ।’

पराजुलीले सत्तापक्ष भएकै कारण आफूहरू छानबिन रोक्ने पक्षमा नरहेको तर धम्की र अवरोधले कतै नपुर्‍याउने बताए । उनले जिम्मेवार राजनीतिक दलको हैसियतले समितिले गर्न मिल्ने सबै काम गर्न आफूहरू तयार रहेको बताउँदै विगतको इतिहासबाट सिक्न आग्रह गरे ।

दुई पक्षबीचको जुहारीपछि सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले अर्थमन्त्रीको अभिव्यक्तिका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, ‘माननीयज्यूले उठाएको कुरामा मेरो ध्यानाकर्षण भएको छ। आज विविध विषयमा धेरै नजाऊँ, यो विषयमा हामी पछि पनि छलफल गरौंला ।’