कार्ल्सबर्गका नेपाल साझेदार राजबहादुर: नाम सबैभन्दा बढी कर तिर्ने, काम सेयरमा घोटाला गर्ने

 राम्रो छैन इतिहास: हिमालयन डिस्टीलरीको सेयर इन्साडर ट्रेडिङमा भएको थियो कारबाही

6.9k
Shares

काठमाडौं । नेपालीमा एउटा चर्चित कथन छ, धन भनेपछि महादेवका पनि त्रिनेत्र ।

अर्बपति व्यवसायी राजबहादुर शाहको व्यवहारमा यो कथन ठ्याक्कै मेल खान्छ । राज्यलाई सबैभन्दा बढी कर तिरेर पटक पटक सरकारबाट सम्मान पाएका शाह सेयर बजारमा हुने अर्बौंको घोटलामा पटक पटक संलग्न भएको पाइन्छ ।

हिमालय डिस्टिलरीको सेयर नियम विपरित बिक्री गरेका कारण सजाय भोगेको ५ वर्षपछि अर्को ठूलो घोटालामा शाह अनुसन्धानमा तानिएका छन् । हिमालयन रि इस्योरेन्सको रकम दुरुपयोग गरी शाहले आफ्नो नाममा उधारो सेयर किनेको पाइएपछि नेपाल धितोपत्र बोर्डले शाहसहितका हाइप्रोपाइल व्यवसायीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

हिमालयन रिइन्स्योरेन्स लगायतका विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणसम्बन्धि अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै मदिरा बादशाह राजबहादुर लगायतका व्यवसायी पनि अनुसन्धानको घेरामा तानिएका छन् ।

जाउलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजका प्रबन्ध निर्देशक शाहलाई हिमालयन रिको रकम दुरुपयोग गरी अनियमितता गरेको आरोपमा धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले फौजदारी कसूरमा मुद्दा चलाउन सिफारिस गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई प्रतिवेदन बुझाएको छ । धितोपत्र बोर्डले शाहलाई आर्थिक जरिवानासहित २ वर्षसम्म जेल सजाय गर्न सिफारिस गरेको हो ।

अहिले धितोपत्र बोर्डको सिफारिस अनुसारै राजबहादुरसहित व्यवसायीमाथि अनुसन्धान अघि बढाइएको सीआईबीका अधिकारीहरु बताउँछन् । शाहले सेयर किनेर करिब अर्ब रुपैयाँको हाराहारीमा पैसा नतिरेको अनुसन्धानको क्रममा फेला परेको छ । ‘यहअघि हिमालयन रिको रकम दुरूपयोग गरेर सेयर खरिद गरेको विषयमाथि सुक्ष्म अनुसन्धान गरिरहेका थियौं । केही व्यवसायीहरू हाम्रो अनुसन्धानको राडारमा हुनुहुन्थ्यो । धितोपत्र बोर्डले अुनसन्धान प्रतिवेदन तयार पारेपछि यो केसमा उहाँहरूविरूद्ध थप प्रमाण मिलेको छ,’ सीआईबी स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘अनुसन्धान तीब्र गतिमा अघि बढिरहेको छ ।’

बोर्डका कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा तयार प्रतिवेदन अनुसार शाहले नेपाल रिको सेयर उधारोमा किनेको ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५)लाई तिर्न बाँकी छ । उनले २०८२ साउन २१ गतेदेखि साउन ४ गतेसम्म किनेको उक्त सेयरको पैसा अहिलेसम्म पनि तिरेका छैनन् ।

‘राजबहादुर शाहले भृकुटी स्टक ब्रोकिङबाट नेपाल रिइन्स्योरेन्सको १० लाख ५१ हजार २०४ कित्ता सेयर विभिन्न मूल्यमा १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९३७ रुपैयाँमा खरिद गरी उक्त रकममध्ये केवल ५२ करोड ५० लाख रुपैयाँ मात्रै भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई भुक्तानी गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

देशकै सर्वाधिक आयकर तिर्ने व्यक्तिले नै पैसा कमाउन गैरकानूनी बाटो अबलम्बन गरिनुले नेपालमा व्यवसायीहरुलाई हेर्ने सर्वसाधारणको नकारात्मक नजर थप नकारत्मक बनेको छ ।

प्रतिवेदनका अनुसार शाहले धितोपत्र खरिद वापत तिर्नुपर्ने रकम जम्मा नगरेको, निजले अग्रिम रकम नराखे पनि कारोबार गर्न सीमा प्रदान गरेको र धितोपत्र खरिद बापतको रकम भुक्तानी नभए पनि उनको खातामा धितोपत्र जम्मा गरिदिएको देखिन्छ ।

शाहलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९८ बमोजिमको कसुरमा सहयोग रहेको भन्दै दफा १०३ को उपदफा (३) अनुसार अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको छ ।

व्यवसायीद्वय भट्ट र अग्रवालले समूह नै बनाएर नेपाल रिको सेयर मूल्य बढाएर नाफा कमाउने चलखेल गरेका थिए । शाह पनि उक्त समूहका सदस्य हुन् । अग्रवालको योजनाअनुसार साढे २ अर्ब रूपैयाँको पुल फन्ड बनाएर नेपाल रिको सेयर खरिद गर्ने, कर्नरिङ गरेर मूल्य बढाई नाफा गर्ने कार्यमा शाह प्रत्यक्ष रूपमा संलग्न रहेको थिए ।

यस कार्यमा एकातिर चलखेल गर्न पनि हिमालयन रि इन्स्योरेन्सको रकम दुरुपयोग गरिएको छ भने अर्कातिर सेयर ब्रोकरलाई योजनाभन्दा बढी सेयर किनेको पैसा नतिरेर अपराध गरेको धितोपत्र बोर्डको अनुसन्धानमा भेटिएको छ ।

सेयर किन्दा अग्रिम रकम (कोल्याटरल) जम्मा नगरी लिमिट लिएको र त्यसपछि पैसा नतिरे पनि ब्रोकरले सेयर खातामा जम्मा गरिदिएको पाइएको हो । यो कार्यले नेपाल रिको सेयर मूल्य बढाउन सहयोग पुगेको तथा लगानीकर्ता र धितोपत्र बजारलाई भ्रममा पार्ने काम भएको धितोपत्र बोर्डको निष्कर्ष छ ।

शाहले हिमालयन लाइफ इन्स्योरेन्सको सेयरको समेत सर्कुलर ट्रेडिङमा संलग्न रहेको पाइएको छ । हिमालयन लाइफका तत्कालीन अध्यक्ष सुलभ अग्रवालको योजनामा शाहले हिमालयन लाइफको १ लाख २५ हजार १११ कित्ता सेयर १६ करोड ५६ लाख ९२ हजार ९८२ रुपैयाँ ६० पैसामा किनेका थिए । एकातिर सुलभकी श्रीमती शुभी अग्रवालको नाममा रहेको ३ लाख ९ हजार ९३६ कित्ता सेयर बेच्ने र अर्कातिर शाहले सोही संख्याको सेयर ४० करोड ७३ लाख १३ हजार ८९८ रुपैयाँ ७० पैसामा किनेको पाइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘शाहले भृकुटी स्टक ब्रोकिङसँग मिलेर धितोपत्रको मूल्य कृत्रिम रूपमा बढाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र दफा ९८ बमोजिम कसूर गरेको पाइएको छ ।’ दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य र दफा ९८ मा जालसाजीयुक्त कारोबार सम्बन्धी व्यवस्था गरिएको छ ।

ऐनको दफा १०१ अनुसार यस्तो कसूरमा दण्ड सजायको व्यवस्था छ । दफा ९६ अनुसार कसूर गरेमा ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, कसैलाई हानी नोक्सानी पुगेको भए त्यसको क्षतिपूर्ति पनि भराउनुपर्ने हुन्छ ।

त्यसैगरी, दफा ९८ अनुसार कसूर गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । साथै, पीडितलाई भएको नोक्सानी समेत भराउनुपर्ने उल्लेख गरिएको छ । सीआईबीको अनुसन्धान पछि अर्बपति व्यवसायी राजबहादुरले ३ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने सम्भावना देखिएको छ ।

राजबहादुर प्रतिष्ठित व्यवसायी विजय कुमार साहका छोरा हुन् । नेपालको मदिरा उद्योगको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विजयकुमारको स्वच्छ छवि राजबहादुरको पैसा कमाउने नशाले धमिल्याएको छ । राजबहादुरका बुबा विजयकुमार यतिसम्म पारदर्शी थिए कि उनी राजनीतिक दलहरुलाई चन्दा पनि कर तिरेको पैसाबाट दिने गरेको बताउँथे।

बहुराष्ट्रिय कम्पनीका साझेदारको अन्तर्राष्टिय बेइज्जत

बहुराष्ट्रिय कम्पनी काल्सबर्गको एकल स्वामित्व रहेको गोर्खा ब्रुअरीमा राजबहादुरको १५ प्रतिशत सेयर छ । हालैमात्र राज ब्रुअरीलाई गोर्खा ब्रुअरीमा बिलय गराएर शाह कार्ल्सबर्गको नेपाली साझेदार बनेका हुन् । शाह गोर्खा ब्रुअरीका अध्यक्षसमेत हुन्। बहुराष्ट्रिय ख्यातीप्राप्त कम्पनीको पार्टनर शाह सेयर घोटला प्रकरणमा अनुसन्धानमा तानिएका हुन् । यो कार्यले शाहको मात्रै नभएर ‘नेपालका व्यवसायी खराब हुने रहेछन्’ भनेर देशकै अन्तर्राष्ट्रिय बेइज्जत हुने जोखिम बढेको छ । सामान्यतया बहुराष्ट्रिय कम्पनीहरुले यस्ता विवादास्पद व्यवसायीहरुसँग साझेदारी गर्न चाहँदैनन् । यो प्रकरणमा राजबहादुर दोषी ठहरिए नेपालको छवि धुमिल त हुने नै छ, साथै काल्सबर्गले उनीसँगको साझेदारी तोड्ने प्रबल सम्भावना रहन्छ ।

इन्साइडर ट्रेडिङमा परेर कारबाही भोग्दा पनि नचेतेका शाह फेरि अर्को कान्डमा मुछिएर थप बदनामी कमाएका हुन् । देशकै सर्वाधिक आयकर तिर्ने व्यक्तिले नै पैसा कमाउन गैरकानूनी बाटो अबलम्बन गरिनुले नेपालमा व्यवसायीहरुलाई हेर्ने सर्वसाधारणको नकारात्मक नजर थप नकारत्मक बनेको छ ।

राम्रो छैन इतिहास: हिमालयन डिस्टीलरीको सेयर नियमविपरित बेच्दा भएको थियो कारबाही

नियम विपरीत सेयर बिक्री गरेको भन्दै नियामक नेपाल धितोपत्र बोर्डले राजबहादुरकी श्रीमती रहिशा श्रेष्ठ शाहलाई २०७७ सालमा कारबाही गरेको थियो । बोर्डले उनलाई ७५ हजार रूपैयाँ जरिवाना तिराएको थियो । रहिशा हिमालयन डिस्टिलरीको सञ्चालकसमेत थिइन् ।

रहिशाले नियम विपरित २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँ बराबरको सेयर बिक्री गरेकी थिइन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन विपरीत सेयर बिक्री गरेको भन्दै ७५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा १०८ बमोजिम कारबाहीमा परेका सञ्चालक वा कार्यकारी प्रमुख कुनै पनि सूचीकृत संस्थाको १० वर्षसम्म सञ्चालक वा कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनलाई १० वर्षसम्म कुनै पनि सूचिकृत संगठित संस्थाको सञ्चालन हुन नपाउने गरी कारबाही गरिएको थियो ।

ब्रोकर कम्पनीले कारोबारको पूर्ण विवरण सहितको अभिलेख नराखेको तथा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक नगरेको भन्दै कारबाही गरिएको थियो ।

यतिमात्रै होइन उनले सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्था पनि उल्लंघन गरेकी थिइन् । हिमालयन डिस्टिलरीकी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रहिशाले व्यक्तिगत कारण देखाइ २०७६ भदौ १८ गते राजीनामा दिएकी थिइन् ।

रहिशाले १ वर्ष अर्थात् २०७७ भदौ २५ गतेसम्म आफ्नो नाममा रहेको कुनै पनि सेयर बिक्री गर्न नपाउने व्यवस्था थियो । तर उनले बोर्डको नियमावलीको वास्तै नगरी २ लाख १३ हजार १८३ कित्ता सेयर बिक्री गरिन् । जुन विनियमावलीको ३८ ‘क’ को विपरीत हो ।

यसरी ५ वर्षअघि श्रीमतीमार्फत् इन्साडर ट्रेडिङ गरेर कारबाहीमा परेका शाह अहिले पुनः त्योभन्दा ठूलो वित्तीय घोटालामा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो । उनीमाथि लागेको आरोप प्रमाणित भए शाहले आर्थिक जरिवानासहित बढीमा ३ वर्षसम्म जेल बस्नुपर्ने हुन्छ ।