जनताको पैसामा सुलभको रजाइँ : राजीनामा दिएका सीईओलाई २ करोड २६ लाख र गाडी उपहार

9.7k
Shares

काठमाडौं । शंकर ग्रुपका प्रबन्ध निर्देशक शुलभ अग्रवालको मनोमानीले हिमालयन लाइफ इन्स्योरेन्स संकटतर्फ धकेलिएको छ । हिमालयन लाईफका अध्यक्षसमेत रहेका सुलभ अग्रवालको इशारामा काम गर्दै आएका इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले कर्मचारी र अभिकर्ताको आन्दोलनपछि राजिनामा दिन बाध्य भए ।

राजीनामा दिएका कर्णलाई सुलभकै जोडबलमा गैरकानुनी रुपमा २ करोड २६ लाख रुपैयाँ र गाडीसमेत दिने निर्णयले कम्पनीलाई थप समस्यामा लगेको छ । पब्लिक कम्पनीका अध्यक्षले सुशासनलाई धज्जी उडाउँदै निजी कम्पनी जसरी चलाउँदा समेत नियामक निकाय बिमा प्राधिकरणले मौन समर्थन जनाएर अक्षमता देखाएको छ ।

बिमितको पैसामा कम्पनीको व्यवस्थापन र सञ्चालन समितिले उचित लगानी गरी प्रतिफल दिन नसकेको र बोनस दर न्युन भएको भन्दै अभिकर्ताहरुले कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग्दै आन्दोलन चर्काएपछि कर्णले राजिनामा दिएका थिए । 

शंकर ग्रुपको नेतृत्वमा खुलेको साविकको युनियन लाईफका सीईओ रहेका कर्ण नै मर्जरपछि पनि कम्पनीको सीईओ बनेका थिए । युनियन लाइफको अध्यक्ष रहेका सुलभ अग्रवाल मर्जरपछि कम्पनीको अध्यक्ष नियुक्त भए । मनोजकुमार लाल कर्ण र सुलभ अग्रवालको निर्णयमा कम्पनी चल्ने र बिमा प्राधिकरणले पनि उनीहरुका लागि अनुकुल हुनेगरी एकपछि अर्को गरी सजिलो हुनेगरी नीतिगत सहजिकरण गर्दै गएको थियो । जसले गर्दा हिमालयन लाइफको वित्तीयरुपमा समेत कमजोर बन्दै गएको छ । 

कम्पनीले राजीनामा दिएका तत्कालिन सीईओ कर्णलाई गैरकानुनी रुपमा २ करोड २६ लाख रुपैयाँ दिने निर्णय थप विवादित हुँदा कम्पनीको ‘गुडविल’मा समेत धक्का लाग्ने अवस्था आएको छ। २७ असोज २०८२ मा बसेको सञ्चालक समिति बैठकले कर्णको राजीनामा स्वीकृत गर्दै २ करोड २६ लाख रुपैयाँ कम्पेन्सेसन दिने निर्णय गरेको थियो ।  

व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका कर्णलाई कम्पेन्सेसन दिने निर्णयमा कम्पनीको सञ्चालक समिति नै विभाजित भएको छ । कम्पनीको अध्यक्ष सुलभ अग्रवालले बोर्डबाट बलपुर्वक उक्त निर्णय गराए पनि सञ्चालकले उक्त निर्णयको माइन्युटमा हस्ताक्षर नगर्दा कम्पनीको सञ्चालक समितिबीच विवाद बढ्दै गएको छ ।  स्रोतका अनुसार उक्त सञ्चालक समितिको बैठकमा केही सञ्चालक समिति अनुपस्थित थिए भने केही सञ्चालकले उपस्थित भएर पनि माइन्युटमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए  ।

माइन्युनटमा बहुमत सञ्चालकको हस्ताक्षर नभए पनि कम्पनीका अध्यक्ष अग्रवालले कर्णलाई कम्पेन्सेसन भन्दै उक्त रकम निकाशा गर्न कर्मचरीलाई दबाब दिएपछि समस्या बढ्दै गएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपील दहाल कर्णलाई कम्पेन्सेसन दिने निर्णय कार्यान्वनय नभएको बताउँछन् ।  सञ्चालक समितिको निर्णयअनुसार कर्णलाई भुक्तानी नभएको र उक्त निर्णय यथास्थितिमा राखिएको उनले क्लिकमान्डुलाई बताए । 

‘यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले व्यक्तिगत कारण उल्लेख गर्दै पदबाट दिनु भएको राजीनामा स्वीकृत गर्ने निर्णय गरियो,’ कम्पनीको सञ्चालक समितिको माइन्युटमा भनिएको छ, ‘निजले राजीनामा गर्दा गोल्डेन हेण्डसेक वा अन्य सुविधासमेत उपलब्ध गराई दिन अनुरोध गरेको सन्दर्भमा छलफल गर्दा ४ वर्ष अवधिको लागि भएको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी व्यवस्थालाई आधार मानि निजले २०८२ असोज महिना २६ गतेसम्म कम्पनीमा सेवारत रहि बिताएको ८८ दिनको कट्टा गरी बाँकी रहन आउने ५७३ दिनको अवधिको तलब भत्ताको मासिक पारिश्रमिक १२ लाख हुन आउने २ करोड  २६ लाख ६ हजार क्षतिपूर्ति बापत प्रदान गर्ने निर्णय गरियो ।’

यति मात्रै नभएर पब्लिक लिमिटेड कम्पनीबाट अध्यक्ष सुलभ अग्रवालको जोडबलमा राजीनामा दिएका सीईओलाई गाडीसमेत दिने निर्णय भएको छ । 

कम्पनीको मर्जरअघि साविक यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रहँदा उक्त सवारीसाधन खरिद गरेर दिएको र मर्जरपछि पनि कर्णले सोही सवारीसाधन प्रयोग गरीरहेको सञ्चालक समितिको माइन्युटमा उल्लेख छ ।  

उक्त सवारी साधन खरिद गरेको अवधि ४ वर्ष पुरा भई सकेकोले त्यसलाई पनि निज कर्णको नाममा नामसारी गरिदिने निर्णय उक्त सञ्चालक समितिबाट अध्यक्ष  अग्रवालले गराएका थिए । 

कम्पनीले गरेका निर्णय यसअघि पनि विवादस्पद हुँदै आएका छन् । कम्पनीले नेपाल पुनर्बिमा कम्पनीको सेयरमा गरेको लगानी पनि स्वभाविक देखिँदा नियामक बिमा प्राधिकरण मौन मात्रै बसेको छैन अझै थप सहजिकरण गरिदिएको थियो । नेप्सेमा सुचिकृत कम्पनीको सेयरमा कुल लगानीको १० प्रतिशतमात्रै लगानी गर्न पाइने व्यवस्थामा कम्पनीले उक्त सीमा नाघ्‌ने गरी लगानी गरेको थियो ।

नेपाल बिमा प्राधिकरणले जिवन बिमा कम्पनीको लगानी सम्बन्धी निर्देशिकामा कुल लगानीको बढीमा १० प्रतिशतमात्रै सेयर बजारमा लगानी गर्न पाउने रहेको सीमा गतएो भदौमा संशोधन गरेर १५ प्रतिशत पुर्याएको थियो । हिमालयन लाइफलाई सहजिकरण गर्नको लागि नै उक्त निर्देशिका संशोधन भएको हो । 

‘नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सुचिकृत पब्लिक लिमिटेड कम्पनी वा अन्य सुचिकृत संस्थाको संस्थापक र साधारण सेयरमा कुल लगानीको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाइनेछ,’ बिमा प्राधिकरणले संशोधन गरेको निर्देशिकामा भनिएकोछ । 

हिमालयन लाइफ इन्स्योरेन्सको भने सेयर बजारको लगानी कुल लगानीको १० प्रतिशतभन्दा माथि पुगिसकेको थियो ।

हिमालयन लाइफको कुल लगानी गत असारमा ७९ अर्ब ११ करोड १९ लाख रुपैयाँ पुगेकोमा कम्पनीले सुचिकृत कम्पनीको सेयरमा मात्रै ११ अर्ब ४ करोड ३७ लाख रुपैयाँ लगानी गरिसकेको छ । जुन कुल लगानीको १३.९६ प्रतिशत हो ।

कम्पनीको बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिका विपरित गएर लगानी गरेकोमा कारबाही गर्ने भन्दा पनि प्राधिकरणले बुधबार कम्पनीलाई नै सहजिकरण हुनेगरी सेयर बजारमा लगानी गर्ने सीमा बढाएर १५ प्रतिशत पुर्याएको छ । त्यतिमात्रै, नभएर कम्पनीको सेयर बजारमा गरेको कुल लगानीको ५० प्रतिशतभन्दा धेरै लगानी एउटै कम्पनीमा केन्द्रित गरेको देखिन्छ ।

क्लिकमान्डुको प्राप्त गरेको तथ्यांकमा अहिलेको बजार मूल्यमा ६ अर्ब रुपैयाँभन्दा धेरैको लगानी एउटै कम्पनीमा गरेको थियो ।

नेपाल पुनर्बिमा कम्पनीको सुचिकृत रहेको साधारण सेयर २ करोड १४ लाख ७५ हजार ४९९ कित्तामध्ये ३६ लाखभन्दा धेरै कित्ता हिमालयन लाइफ इन्स्योरेन्सले होल्ड गरेको थियो । १५ भदौ २०८२ को तथ्यांकअनुसार नेपाल रि–इन्स्योरेन्सको साधारण सेयर हिमालयन लाइफ इन्स्योरेन्सले ३६ लाख ४६ हजार ५६४ कित्ता होल्ड गरेको देखिन्छ । जुन १८ भदौको नेप्सेको बजार मूल्य अनुसार ६ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हुन जान्छ ।

त्यति मात्रै नभएर नेपाल धितोपत्र बोर्ड समेतको सहजिकरणमा हिमालयन लाइफको म्युचुअल फण्ड हिमालयन लाइफ लार्ज क्याप फण्डमा समेत नेपाल पुनर्बिमा कम्पनीले ४० करोड रुपैयाँ लगानी गरेको छ । सोही म्युचुअल फण्डबाट पनि नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिदमा नै प्रयोग भएको स्रोतको दाबी छ । यसरी पब्लिक लिमिटेड कम्पनीको दुरुपयोगमा प्रयोग भएका कर्णलाई कम्पनीको स्रोत दुरुपयोग गर्दै अध्यक्ष अग्रवालले पुरस्कृत गर्न खोजेका हुन् ।

सुलभ अग्रवाल र उनको साझोदार तथा व्यवसायी दिपक भट्टको समुहले नेपाल पुनर्बिमा कम्पनीको सेयर ठुलो परिमाणमा खरिद गरेका छन् । जसको सेयरमूल्य बढाउन हिमालयन लाइफको प्रयोग भएको थियो भने त्यसमा कम्पनीको सीईओको रुपमा कर्णले नै सहयोग गर्दै आएका थिए ।

हिमालयन लाइफका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कर्णले नै शुलभ अग्रवाल र शाहिल अग्रवालले गर्ने सेयर कारोबारको समेत व्यवस्थापन गरिदिने गरेका थिए। कर्णको श्रीमती सुधा कर्ण अध्यक्ष रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत् नै शुलभ र शाहिल अग्रवालको सेयर कारोबार हुने गरेको देखिन्छ । 

हिमालयन लाइफ र दिपक भट्ट लगायतका समुहले ठुलो संख्यामा खरिद गरेको नेपाल पुनर्बिमा कम्पनीको सेयर भृकुटी स्टक ब्रोकिङ कम्पनीले पनि खरिद गरेको थियो । शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ कर्ण श्रीमती सुधा कर्णको ब्रोकरबाट बिक्री गरेका थिए । यसले विगतदेखि नै शाहिल र शुलभ अग्रवालको सेयर कारोबारमा मनोज कुमार लाल कर्णले नै गर्दै आएको देखिन्छ ।