गृहमन्त्री सुधनको गाडीबाट कालो सिसा ट्राफिकले हटायो


काठमाडौं । गृहमन्त्री सुधन गुरूङको गाडीबाट कालो सिसा हटाइएको छ।

गृहमन्त्रीको अग्रसरतामा कालो स्टिकर हटाउने अभियान अन्तर्गत उहाँ तथा गृहसचिवको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालले जनाएको छ ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले अभियानलाई तीव्रता दिन आग्रह गर्दै आफूले प्रयोग गर्ने गाडीमा जडान गरिएको कालो सिसासमेत हटाउन निर्देशन दिएका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले तथा अन्य अधिकृतहरूसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका थिए ।

ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा टाँसिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ। पहिलो चरणमा सिसामा टाँसिएका काला स्टिकर हटाउने काम भइरहेको छ।