
काठमाडौं । केही सिमित व्यक्तिको योजनामा पब्लिक लिमिटेड कम्पनीसमेत सहभागी गराएर योजनावद्ध रुपमा नेपाल पुर्नबिमा कम्पनीको सेयर मूल्य बढाउने चलखेल भएको पाइएको छ । एक जिवन बिमा कम्पनीसँग भएको कोषको रकम केही व्यक्तिले सेयर किन्ने र सोही कम्पनीको सेयर मूल्य बढाउन दुरुपयोग भएको पाइएको हो ।
नेपाल पुनर्बिमा कम्पनीको सेयरमा केही पब्लिक लिमिटेड कम्पनी समेतको संलग्नतामा योजनवद्ध रुपमा सेयर होल्ड बढाउँदै लगेको तथ्य क्लिकमान्डुले प्राप्त गरेको छ ।
यतिबेला हिमालयन रि-इस्योरेन्सका लगानीकर्ताको स्वार्थमा नेपाल रि-इन्स्योरेन्सको सेयर मूल्यमा चलखेल भइरहेको छ ।
हिमालयन रिका ठूला लगानीकर्ता सुलभ अग्रवाल र दिपक भट्टको नेतृत्वमा सोही हिमालयन रिमा मूख्य लगानी रहेको हिमालयन लाइफ इन्स्योरेन्सको समेत प्रयोग भएको पाइएको हो । त्यतिमात्रै नभएर उक्त योजनामा बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले समेत सहयोग पुग्ने नीति लिएको देखिन्छ ।
हिमालयन रिका ठूला लगानीकर्तामध्येका एक सुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् । उनै सुलभ अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी समेतको प्रयोग गरी कम्पनीको साधारण सेयर सोही समुहले उठाउँदै जाने नीति लिएको देखिन्छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले जिवन बिमा कम्म्पनीको लगानी सम्बन्धी निर्देशकाले ताकेको भन्दा धेरै लगानी सेयर बजारमा लगानी गरेको देखिएको थियो ।
नेपाल बिमा प्राधिकरणले जिवन बिमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गर्दै कुल लगानीको बढीमा १० प्रतिशतमात्रै सेयर बजारमा लगानी गर्न पाउने रहेको सीमा बुधबार बढाएर १५ प्रतिशत पुर्याएको छ ।
यसरी स्वार्थ बाझिने गरी संगठितरुपमै नेपाल पुनर्बिमा कम्पनीको साधारण सेयरमा लगानी गर्ने र कम्पनीको सेयरमूल्य बढाएर व्यक्तिगतरुपमा लाभ आर्जन गर्न आम नेपाली नागरिकले भोलि राम्रो प्रतिफल पाइने आशमा बिमा गरेका बिमितहरुको पैसा दुरुपयोग भइरहेको पाइएको छ ।
‘नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सुचिकृत पब्लिक लिमिटेड कम्पनी वा अन्य सुचिकृत संस्थाको संस्थापक र साधारण सेयरमा कुल लगानीको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाइनेछ,’ बुधबार जारी गरेको संशोधित निर्देशनमा भनिएको छ ।
तर, प्राधिकरणले उक्त निर्देशिका संशोधन गर्नु अगाडि नै हिमालयन लाइफ इन्स्योरेन्सको भने सेयर बजारको लगानी कुल लगानीको १० प्रतिशतभन्दा माथि पुगिसकेको थियो । गत असारमा नेपाल बिमा प्राधिकरणले नै सार्वजनिक गरेको बिमा कम्पनीहरुको लगानीको विवरणमा हिमालयन लाइफले उक्त सीमाभन्दा माथि लगानी गरिसकेको देखिन्छ । नियामकले तोकेभन्दा बढी लगानी कम्पनीलाई कारबाही गर्नुको साटो उल्टै थप लगानी गर्ने बाटो प्राधिकरणले नै खोलिदिएको छ।
हिमालयन लाइफको कुल लगानी गत असारमा ७९ अर्ब ११ करोड १९ लाख रुपैयाँ पुगेकोमा कम्पनीले सुचिकृत कम्पनीको सेयरमा मात्रै ११ अर्ब ४ करोड ३७ लाख रुपैयाँ लगानी गरिसकेको छ । जुन कुल लगानीको १३.९६ प्रतिशत हो ।
कम्पनीको बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिका विपरित गएर लगानी गरेकोमा कारबाही गर्ने भन्दा पनि प्राधिकरणले बुधबार कम्पनीलाई नै सहजिकरण हुनेगरी सेयर बजारमा लगानी गर्ने सीमा बढाएर १५ प्रतिशत पुर्याएको छ । त्यतिमात्रै, नभएर कम्पनीको सेयर बजारमा गरेको कुल लगानीको ५० प्रतिशतभन्दा धेरै लगानी एउटै कम्पनीमा केन्द्रित गरेको देखिन्छ ।
क्लिकमान्डुको प्राप्त गरेको तथ्यांकमा अहिलेको बजार मूल्यमा ६ अर्ब रुपैयाँभन्दा धेरैको लगानी एउटै कम्पनीमा भएको देखिन्छ ।
नेपाल पुनर्बिमा कम्पनीको सुचिकृत रहेको साधारण सेयर २ करोड १४ लाख ७५ हजार ४९९ कित्तामध्ये ३६ लाखभन्दा धेरै कित्ता हिमालयन लाइफ इन्स्योरेन्सले होल्ड गरेको देखिन्छ । १५ भदौ २०८२ को तथ्यांकअनुसार नेपाल रि इन्स्योरेन्सको साधारण सेयर हिमालयन लाइफ इन्स्योरेन्सले ३६ लाख ४६ हजार ५६४ कित्ता होल्ड गरेको देखिन्छ । जुन १८ भदौको नेप्सेको बजार मूल्य अनुसार ६ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हुन जान्छ ।
नेपाल रिको सेयर हिमालयन रिका ठूला लगानीकर्तामध्येका एक दिपक भट्टसँग १४ लाख २९ हजार ९०३ कित्ता, राजबहादुर शाहसँग १० लाख ५१ हजार २०४ कित्ता र ऋषिराज मोरसँग ६ लाख १० हजार २०८ कित्ता सेयर रहेको देखिन्छ । यी सबै लगानीकर्ता पछिल्लो समय व्यवसायिक घरानाहरु मिलेर बनेको हिमालयन ग्रुपमा आवद्ध व्यवसायीहरु हुन् । जसको नेतृत्व दिपक भट्ट र सुलभ अग्रवालले गरिरहेका छन् । उनीहरु पछिल्लो समय लाइसेन्स पाएको हिमालयन रि इन्स्योरेन्सका साथै लघुबिमामा कम्पनीहरुमा समेत व्यवसायिक साझेदार पनि हुन् । त्यस्तै स्टक एक्सचेञ्जका लागि लाइेनस पाउने प्रयास गरिरहेको हिमालयन स्टक एक्चेञ्जमा समेत उक्त समुह सँगै रहेको छ ।
सोही समुहको लगानी रहेको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७२ हजार २०४ कित्ता सेयर छ भने हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका मनोजकुमार लाल कर्णकी श्रीमती सुधा कर्णको मूख्य लगानी रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीको ५७ हजार ६६६ कित्ता सेयर होल्ड गरेको देखिन्छ । यस्तै हिमालयन ग्रुपकै लगानी रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको समेत यसमा प्रयोग भएको देखिन्छ । २२ साउनमा नेपाल माइक्रो इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको १ लाख ९६ हजार कित्ता सेयर होल्ड गरेकोमा १५ भदौमा आउँदा कम्पनीले उक्त सेयर बिक्री गरीसकेको देखिन्छ ।
१५ भदौको तथ्यांकअनुसार नेपाल पुनर्बिमा कम्पनीको सेयर हिमालयन ग्रुप (हिमालयन लाइफ, दिपक भट्ट, राजबहादुर शाह, ऋषीराज मोर, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र भृकुटी स्टक ब्रोकिङ कम्पनी) मात्रै ६८ लाख ६७ हजार ७४९ कित्ता सेयर होल्ड गरेको देखिन्छ ।
यसबाहेक अक्षय गोल्यानले ९६ हजार ३८४ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सले ९६ हजार ३२३ कित्ता, एनआइबीएल सहभागिता फण्डले ९१ हजार ४२९ कित्ता, निराजन गजुरेलले ८३ हजार ९८३ कित्ता, रमेशराज आचार्यले ८१ हजार ५०० कित्ता, एकराज भट्टराइले ६० हजार ६१८ कित्ता, गरिमा समृद्धि योजनाले ५३ हजार ८३४ कित्ता र अनलाइनखबर डटकम र हिमालयन टिभीका सञ्चालक धर्मराज भुषालले कम्पनीको ५० हजार कित्ता सेयर होल्ड गरेको देखिन्छ । दिपक भट्ट, निराजन गजुरेल र हिमालयन लाइफले २२ साउनयता पनि कम्पनीको सेयर होल्डिङ बढाउँदै लगेको देखिन्छ ।
दिपाक भट्ट र राबहादुर शाह आफैं भने हिाालयन लाइफ इनस्योरेन्सको सेयरधनी होइनन् । तर, भट्ट र अग्रवालले नेतृत्व गरिरहेको व्यवसायिक समुहका लगानीकर्ताहरु शाहिल अग्रवाल, शेखर गोल्छा, राजेन्द्र खेतान लगायतका व्यवसायीहरु हिमालयन लाइफ इन्स्योरेन्सका मूख्य लगानीकर्ता हुन् । हिमालयन रि इन्स्योरेन्समात्रै नभएर क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्समा उनीहरु सबै ठुला सेयरधनीको रुपमा छन् । यी कम्पनीमा ऋषिराज मोर, राजबहादुर शाहको परिवारकी सदस्य रहिशा शाह श्रेष्ठ लगायतका लगानीकर्ता पनि यी कम्पनीको ठुला लगानीकर्ता हुन् । दिपक भटट् र हिमालयन लाइफसँगै राजबहादुर शाह र ऋषिराज मोर नेपाल पुनर्बिमा कम्पनीको साधारण सेयर होल्डिङ बढाउँदै लैजानेमा शिर्ष ४ लगानीकर्ताको रुपमा देखिन्छन् ।
नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीले सेयर बजारमा लगानी गर्ने सिमा बढाएर हिमालयन लाइफलाई नै पनि सेयर कारोबार बढाउन अझै सहज बनाइदिएको छ ।
सेयरमा लगानी गर्न हिमालयन लाइफको सहकायक कम्पनीले ४ अर्ब रुपैयाँको सामुहिक लगानी योजना निष्कासनमा ल्याएको छ । ४ अर्बको उक्त म्युचुअल फण्डमा २ अर्ब रुपैयाँ हिमालयन लाइफले नै लगानी गर्ने प्रविद्धता जनाएको विवरणपत्र सार्जनिक भएको छ । बाँकी रहेको २ अर्ब रुपैयाँमध्ये ४० करोड रुपैयाँ उक्त म्युचुअल फण्डमा लगानी गर्ने निर्णय नेपाल पुनर्बिमा कम्पनीको सञ्चालक समितिले गरिसकेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर कोष व्यवस्थापक रहेको हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डले ११ साउन २०८२ मा म्युचुअल फण्डका इकाइ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । नेपाल धितोपत्र बोर्डले पनि २२ साउनमा नै निष्कासनको लागि विवरणपत्र स्वीकृत गरीदिएको छ । जबकी, सिटिजन्स क्यापिटल कोष व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फण्डको सिटिजन्स सहुलियत योजनाले २०८१ पुस १९ गते आवेदन दिएर पनि अहिलेसम्म विवरणपत्र स्वीकृत भएको छैन । त्यस्तै २०८१ माघ ४ मा आवेदन दिएको सानिमा म्युचुअल फण्डको सानिमा इक्वीटी फण्ड २ ले पनि अहिलेसम्म विवरणपत्र स्वीकृत भएको छैन । तर, एचएलआई लार्ज क्याप फण्डको भने विवरणपत्र ११ दिनमा नै स्वीकृत भएको देखिन्छ ।
योजनावद्ध रुपमा भएको स्वार्थ बाझिने कार्यमा नियामकको रुपमा नेपाल धितोपत्र बोर्डले मात्रै साथ दिएको छैन । नेपाल सकारकै सहसचिवले अध्यक्षका रुपमा काम गरिरहेको बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरण र नेपाल सरकारकै सहसचिव सञ्चालक रहेको र सरकारको ४४ प्रतिशत सेयर स्वामित्व भएको नेपाल पुनर्बिमा कम्पनीले समेत सिमित व्यक्तिले लाभ आर्जन हुनेगरी बुनेको योजनामा साथ दिएको विभिन्न तथ्यहरुले देखाउँछ ।
यसरी स्वार्थ बाझिने गरी संगठितरुपमै नेपाल पुनर्बिमा कम्पनीको साधारण सेयरमा लगानी गर्ने र कम्पनीको सेयरमूल्य बढाएर व्यक्तिगतरुपमा लाभ आर्जन गर्न आम नेपाली नागरिकले भोलि राम्रो प्रतिफल पाइने आशमा बिमा गरेका बिमितहरुको पैसा दुरुपयोग भइरहेको पाइएको छ । कम्पनीले सेयर बजारमा गरेको लगानीको ५० प्रतिशतभन्दा माथि एउटै कम्पनीको सेयरमा लगानी गरेको छ । तर, पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण भने यस्तो लगानीले कम्पनीमा कुनै जोखिम नहुने दाबी गर्छन् ।
योजनाबद्ध रुपमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्य कर्नरिङमान नेपाल पुर्नबिमा कम्पनीको सञ्चालक समितिले पनि साथ दिँदै आएएको छ । नेपाल पुनर्बिमा कम्पनीको गत १४ साउनको सञ्चालक समिति बैठकले नेपाल बिमा प्राधिकरणले पूँजी बढाउन दिएको निर्देशन समेतलाई देखाउँदै हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । नेपाल सरकारको सहमति लिएर आगामी वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने निर्णय कम्पनी सञचालक समितिले गरिसकेको छ ।
नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत सेयर लगानी छ । त्यस्तै नेपाल सरकारको नै मूख्य स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनीको पनि २.७७ प्रतिशत सेयर स्वामित्व छ । यसरी सरकारको अधिकांश सेयर स्वामित्व रहेको कम्पनीमा केही व्यापारिक क्षेत्रको लगानीकर्ताको योजनामा सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुले नै योजनावद्ध रुपमा निर्णय गर्दै जाने अवस्था देखिन्छ ।
सरकारले अहिलेसम्म कम्पनीको हकप्रदमा लगानी गर्न स्रोत सुनिश्चितता गरेको छैन । कम्पनीको हकप्रद प्रस्तावमा सहमति दिनुपर्ने दवाबमा सरकार छ । स्रोतका अनुसार कम्पनीको हकप्रदमा नेपाल सरकराले लगानी नगरेको अवस्थामा ४४ प्रतिशत सेयर लिलामीमा लैजाने र लिलामीमा लैजाँदा नेपाल सरकारकै संस्थानहरुबाट लिलामीको सेयर।मा आवेदन दिने गरी योजना अगाडि बढाइएको छ ।
यसरी उक्त सेयर लिलामीमा लैजाँदा प्रिमियमसहित कम्पनीको नेटवर्थ बढ्ने र त्यसले कम्पनीको पूँजी २६ अर्ब र अन्य कोषहरुसहित ५० अर्ब रुपैयाँको कम्पनी बढाउने योजना सहित हिमालयन लाइफ इन्स्योरेन्सलाई उक्त योजना पूरा गराउने गरी अगाडि सारेको स्रोतले क्लिकमान्डुलाई बतायो । हिमालयन लाइफ इन्स्योरेन्स म्युचअल फण्डलाई द्रुत गतिमा स्वीकृति दिएर निष्कासन गर्ने र त्यसमा नेपाल पुनर्बिमा कम्पनीले नै ४० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि सोही योजना अन्तरगत नै अगाडि बढेको देखिन्छ ।
यी हुन्, नेपाल रिइन्स्योरेन्स कम्पनीमा ५ हजार कित्ताभन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्ताः







प्रतिक्रिया