शाहिल अग्रवालले हिमालयन लाइफको २८ करोडको सेयर कम्पनीका सीइओ मनोज कर्णको ब्रोकरबाट बेचे



काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारला कर्णको ब्रोकरबाट उक्त सेयर बिक्र गरेको तथ्य क्लिकमान्डुलाई प्राप्त भएको छ ।

शाहिल अग्रवालले पछिल्लो २ साताका ५ कारोबार दिन (असार १२ देखि २५ सम्म)का विभिन्न कारोबार दिनमा उक्त रकमको सेयर बिक्री गरेका थिए। उनले कम्पनीका सीइओ मनोज कुमारला कर्णकी श्रीमति सुधा कर्ण अध्यक्ष रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ५५) बाट उक्त सेयर बिक्री गरेका हुन् । कर्ण तत्कालीन युनियन लाइफ इन्स्योरेन्सका पनि सीइओ थिए ।

अग्रवालले यो अवधिमा सेयर प्रतिकित्ता न्यूनतम ४९० रुपैयाँदेखि अधिकतम ५७४ रुपैयाँसम्ममा बिक्री गरेका छन् । अग्रवालले असार १२ गते ५० हजार ७२० रुपैयाँको सेयर बिक्री गरेका छन् । यस्तै असार १३ गते ११ करोड १० लाख, १७ गते ७ करोड ५१ लाख, २० गते १ करोड १५ लाख, २४ गते २ करोड ८० लाख र २५ गते आइतबार ५ करोड २० लाख रुपैयाँ बढीको सेयर बिक्री गरेका छन् ।

अर्थतन्त्रमा देखिएको संकुचन, बढ्दो ब्याजदर र व्यवसायमा देखिएको कमीका कारण यो समूहलाई नगद प्रवाहमा सकस परेको छ । नगद प्रवाह व्यवस्थापन गर्नका लागि शंकर ग्रुपका सदस्यहरुले विभिन्न कम्पनीमा रहेको अर्बभन्दा बढीको सेयर बिक्री गरेको उनी निकट व्यवसायी बताउँछन् ।

तत्कालीन युनियन लाइफ इन्स्योरेन्समा अग्रवालको १९.९३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँको संस्थापक सेयर थियो । त्यस्तै, शाहिलका दाजु सुलभ अग्रवालको नाममा १८.०४ प्रतिशत अर्थात् २७ लाख १५ हजार कित्ता संस्थापक सेयर थियो ।

शाहिलका दाजु शुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष छन् । युनियन लाइफमा पनि शुलभ नै अध्यक्ष थिए।

अहिले युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स मर्जर भएर वैशाख २६ देखि ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । यी कम्पनीहरु १ः१ अनुपातमा मर्ज भएका हुन् ।

युनियन लाइफ इन्स्योरेन्सले २०७८ असार २४ देखि २८ सम्म निष्कासन गरेको सेयर २०७८ असार ३१ गते बाँडफाँड गरेको थियो । सेयर बाँडफाँड भएको ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाइने व्यवस्था छ ।

तर, अग्रवालले भने तीनवटा कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेपछि धितोपत्र बोर्डबाट संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत (कन्भर्जन) गराएर करिब २८ करोडको सेयर बिक्री गरेका हुन् । शाहिललाई सेयर बेच्न हिमालयन लाइफ इन्स्योरेन्सका सीइको मनोज कुमारलाल कर्णले सघाएका छन् ।

सीइओ कर्णकी पत्नी सुधा कर्ण अध्यक्ष रहेको ब्रोकर कम्पनीले अग्रवालको उक्त सेयर बिक्री गरेको हो । भृकुटी स्टक ब्रोकिङ कम्पनीमा सुधा कर्णको २ करोड ५० लाख रुपैयाँ लगानी छ । अर्थात् सुधासँग उक्त कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व छ । भृकुटी स्टक ब्रोकिङको कूल चुक्ता पुँजी १० करोड रुपैयाँ हो ।

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ५५) मा हिमालयन लाइफका सीइओ मनोजकुमारलाल कर्णकी श्रीमति सुधा कर्णको सेयर स्वामित्व (स्रोतः कम्पनी रजिष्ट्रारको कार्यालय)

कर्ण दम्पतीका एक छोरा (आदित्य) र एक छोरी (अदिति) गरी दुई सन्तान छन् ।

यसरी सीइओकै मिलेमतोमा कम्पनीको सेयर बिक्री वितरण गनु नियमबिपरित भएको धितोपत्र बोर्डका एक अधिकारीले बताए।

‘यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यदि तपाईंले भनेजस्तै गरी कारोबार भएको हो भने त्यो गैरकानूनी हो,’ धितोपत्र बोर्ड स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘कामको शिलशिलामा अध्यक्षज्यू देश बाहिर हुनुहुन्छ, उहाँ फर्किएपछि हामी अनुसन्धान प्रक्रिया अघि बढाउँछौं । तर, उक्त सेयर बिक्री गर्न बोर्डले कुन ऐन अनुसार दिएको हो भन्नेमा हामी नै अन्यौलमा छौं।’

स्मरण रहोस्, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र शंकर ग्रुपबीच निकटतम् सम्बन्ध छ । उनीहरु बीचको सम्बन्ध प्रगाढ बनाउने व्यक्ति हुन् व्यवसायी दिपक भट्ट ।

तत्कालीन युनियन लाइफमा अग्रवाल दाजुभाईको सेयर स्वामित्व (स्रोतः युनियल लाइफ इन्स्योरेन्सको वार्षिक प्रतिवेदन)

शंकर ग्रुपका बारेमा

शंकर ग्रुप देशकै ठूलो व्यावसायिक घरानामध्येमा पर्छ । यो ग्रुपअन्तर्गतका विभिन्न कम्पनीले १ खर्ब ६० अर्ब रुपैयाँ बढीको कारोबार गरेका थिए । आक्रामक व्यवसाय विस्तारमा लागेको शंकर ग्रुपसँग विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ८० अर्ब रुपैयाँको हाराहारीमा ऋण छ ।

अहिले शंकर ग्रुपअन्तर्गत ४० भन्दा बढी कम्पनी छन् । शंकर ग्रुपको लगानी नभएको कुनै क्षेत्र छैन भन्दा पनि फरक पर्दैन।

शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।

नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुपअन्तर्गत छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । सन् २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो ।

सिमेन्ट उद्योगमा ग्रुपले हेटौंडामा रिद्धिसिद्धी तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ । नक्सालमा ५ तारे होटल हिल्टन बनाइरहेको छ । यसबाहेक ग्रुपले जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।

शंकर ग्रुप नेपालका लागि रियल मी मोबाइलको आधिकारिक बिक्रेता पनि हो भने टीभीएस बाइक नेपालमै उत्पादन गरी बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु