शाहिल अग्रवालले ५ दिनमै बेचे हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर



काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् ।

अग्रवालले पछिल्लो २ साताका ५ कारोबार दिनमा उक्त रकमको सेयर बिक्री गरेका हुन् । क्लिकमान्डुलाई प्राप्त तथ्यांकअनुसार अग्रवालले असार १२ देखि २५ सम्मका विभिन्न कारोबार दिनमा उक्त रकमको सेयर बिक्री गरेका हुन् । तत्कालीन युनियन लाइफ इन्स्योरेन्समा अग्रवालको १९.९३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँको संस्थापक सेयर थियो ।

शाहिलका दाजु शुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष छन् । तत्कालीन समयमा पनि शुलभ नै अध्यक्ष थिए । कम्पनीमा सुलभको सेयर १९.९३ प्रतिशत छ ।

अहिले युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स मर्जर भएर वैशाख २६ देखि ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । यी कम्पनीहरु १ः१ अनुपातमा मर्ज भएका हुन् ।

युनियन लाइफ इन्स्योरेन्सले २०७८ असार २४ देखि २८ सम्म निष्कासन गरेको सेयर २०७८ असार ३१ गते बाँडफाँड गरेको थियो । सेयर बाँडफाँड भएको ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाइने व्यवस्था छ ।

तर, अग्रवालले भने तीनवटा कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेपछि धितोपत्र बोर्डबाट संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत (कन्भर्जन) गराएर करिब २८ करोडको सेयर बिक्री गरेका हुन् ।

अग्रवालले असार १२ देखि सेयर बिक्री गरेको देखिएको छ । उनले आफूसँग भएको सेयर बढी ५५ नम्बर ब्रोकरबाट कारोबार भएको नेप्सेको फ्लोर सिटले देखाएको छ । अग्रवालले यो अवधिमा सेयर प्रतिकित्ता न्यूनतम ४९० रुपैयाँदेखि अधिकतम ५७४ रुपैयाँसम्ममा बक्रिी गरेका छन् ।

अग्रवालले असार १२ गते ५० हजार ७२० रुपैयाँको सेयर बिक्री गरेका छन् । यस्तै असार १३ गते ११ करोड १० लाख, १७ गते ७ करोड ५१ लाख, २० गते १ करोड १५ लाख, २४ गते २ करोड ८० लाख र २५ गते आइतबार ५ करोड २० लाख रुपैयाँ बढीको सेयर बिक्री गरेका छन् ।

फ्लोर सिटमा देखिएको कारोबारको विवरण

शंकर ग्रुप देशकै ठूलो व्यावसायिक घरानामध्येमा पर्छ । यो ग्रुपअन्तर्गतका विभिन्न कम्पनीले १ खर्ब ६० अर्ब रुपैयाँ बढीको कारोबार गरेका थिए ।

आक्रामक व्यवसाय विस्तारमा लागेको शंकर ग्रुपसँग विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ८० अर्ब रुपैयाँको हाराहारीमा ऋण छ । अर्थतन्त्रमा देखिएको संकुचन, बढ्दो ब्याजदर र व्यवसायमा देखिएको कमीका कारण यो समूहलाई नगद प्रवाहमा सकस परेको छ । नगद प्रवाह व्यवस्थापन गर्नका लागि शंकर ग्रुपका सदस्यहरुले विभिन्न कम्पनीमा रहेको अर्बभन्दा बढीको सेयर बिक्री गरेको उनी निकट व्यवसायी बताउँछन् ।

अहिले शंकर ग्रुपअन्तर्गत ४० भन्दा बढी कम्पनी छन् । शंकर ग्रुपको लगानी नभएको कुनै क्षेत्र छैन भन्दा पनि फरक पर्दैन।

शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।

नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुपअन्तर्गत छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । सन् २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो ।

सिमेन्ट उद्योगमा ग्रुपले हेटौंडामा रिद्धिसिद्धी तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ । नक्सालमा ५ तारे होटल हिल्टन बनाइरहेको छ । यसबाहेक ग्रुपले जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।

वित्तीय क्षेत्रमा भने शंकर ग्रुपको सबैभन्दा बढी लगानी रहेको जीवन बिमा कम्पनी युनियन लाइफ (हिमालयन लाइफ) हो । जसले प्रथम बिमा शुल्क आर्जनमा स्थापित भइसकेका पुराना कम्पनीलाई समेत जितेको छ । यसबाहेक लाइसेन्स पाएको हिमालयन रि-इन्स्योरेन्समा पनि यो ग्रुपको ठूलो लगानी छ ।

शंकर ग्रुप नेपालका लागि रियल मी मोबाइलको आधिकारिक बिक्रेता पनि हो भने टीभीएस बाइक नेपालमै उत्पादन गरी बिक्री गर्दै आएको छ ।


सोभित थपलिया