एक खर्बको कारोबार गर्ने शंकर ग्रुपको ७५ अर्ब ऋण, स्टिलमा ३५% भन्दा बढी हिस्सा
काठमाडौं । नेपालमा सञ्चालित व्यावसायिक घरानामा सबैभन्दा बढी ऋण लिनेमा शंकर ग्रुप अगाडि देखिएको छ । क्रेडिट रेटिङ कम्पनीहरूको विवरणलाई हेर्दा शंकर ग्रुपले ७५ अर्बभन्दा बढी ऋण लिएको भेटिएको छ ।
शंकर ग्रुपले गतवर्ष १ खर्बको बिक्री आफ्ना कम्पनीहरु मार्फत गरेको सार्वजनिक घोषणा गरेको थियो ।
शंकर ग्रुप मुख्य रुपमा सिमेन्ट तथा स्टिलमा पायोनियर ग्रुप मानिन्छ । पछिल्लो समय अटोमोबाइल्स,होटल तथा बीमा क्षेत्रमा समेत आक्रामक रुपले लगानी अगाडि बढाएको छ ।
शंकर ग्रुप अन्तर्गतका कम्पनीहरुले गराएको रेटिङको आधारमा हेर्दा ६८ अर्ब ४३ करोड रुपैयाँको ऋण गराएको देखिएको छ । रेटिङ नगराएका कम्पनीहरूको कारोबारको प्रकृति हेर्दा ग्रुपको ऋण मात्रै ७५ अर्बभन्दा बढी देखिन्छ ।
ग्रुप अन्तर्गत ठूलो कारोबार हुने जगदम्बा अटोमोबाइल्सको रेटिङ छैन । टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा अटोमोबाइल्स हो । जसको बजार सेयर पछिल्लो ५ वर्षमा निकै बढेको छ ।
अहिले टिभिएस मोटरसाइकल तथा स्कुटरको एसेम्बल नेपालमा नै हुने गरेको छ । यस आधारमा ग्रुपको ऋण ७५ अर्बभन्दा बढी भएको मान्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाले दिएको ऋणमा शंकर ग्रुपको मात्र हिस्सा १.५९ प्रतिशत छ । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४६ खर्ब ९६ अर्ब रुपैयाँको ऋण दिएका थिए ।
शंकर ग्रुप अन्तर्गत सबैभन्दा बढी कारोबार गर्ने तथा ऋण लिने कम्पनी जगदम्बा स्टिल हो । अहिलेसम्मको रेटिङमा सबैभन्दा बढी ऋण लिने कम्पनी जगदम्बा स्टिल हो । जगदम्बा स्टिलले यसअघि सार्वजनिक भएको एनसेलको २७ अर्बको ऋणको रेटिङलाई जितेको छ ।
जगदम्बा स्टिलले ३४ अर्ब ३७ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ । जगदम्बा स्टिलले गत आर्थिक वर्षको ६ महिनामा मात्र २१ अर्ब ६६ करोड रुपैयाँको कारोबार गरेको छ । शंकर ग्रुपले आफ्नो वेवसाइटमा नेपालको स्टिल बजारमा आफ्नो हिस्सा ३५ प्रतिशत रहेको जनाएको छ । जगदम्बा स्टिलमा शंकर ग्रुपको मात्र लगानी रहेको छ ।
ग्रुप अन्तर्गत दोस्रोमा सबैभन्दा बढी ऋण लिने कम्पनीमा शौर्य सिमेन्ट हो । शौर्य सिमेन्टले १४ अर्ब १४ करोड रुपैयाँको लागि रेटिङ गराएको छ । शौर्य सिमेन्टमा भने शंकर ग्रुप बाहेक सिके गोल्छा ग्रुप तथा अम्बे ग्रुपको लगानी छ ।
यसबाहेक रिद्धिसिद्धी सिमेन्टले १० अर्ब ८६ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । जसमा शंकर ग्रुप बाहेक अम्बे ग्रुपको लगानी छ । पछिल्लो अर्थिक वर्षमा रिद्धिसिद्धी सिमेन्टले ६ अर्ब ३७ करोडको कारोबार गरेको थियो ।
यसबाहेक शंकर ग्रुपले ल्याउन लागेको ५ तारे होटलको लागि ५ अर्ब २ करोड रुपैयाँको रेटिङ गराएको छ । जगदम्बा सिमेन्टको लागि १ अर्ब ६१ करोड तथा शुभश्री जगदम्बा सिमेन्टको लागि २ अर्ब ४१ करोडको रेटिङ गराएको छ । जगदम्बा सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्टमा भने शंकर ग्रुपको सौरभ ग्रुपसँग साझेदारी रहेको छ ।
रेटिङबाट देखिएको तथ्यांक तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँगको कुराकानीको आधारमा सबैभन्दा बढी ऋण लिने व्यावसायिक समूहमा शंकर ग्रुप अगाडि देखिएको छ ।
ट्रेडिङबाट उद्योगमा सफलता
शंकर ग्रुपको व्यावसायिक यात्राको शुरुवात म्यानमारबाट भएको हो । रावतमाल गोल्यानले सन् १९६० को दशकमा बटम उद्योग लगाएका थिए । म्यानमारबाट नेपाल आएर उद्योग लगाए पनि रावतमान गोल्यान भने सफल हुन सकेनन् । त्यसपछि गोल्यानले ट्रेडिङमा हात हाले ।
रावतमाल गोल्यानका छोरा शंकरलाल अग्रवालले बाबुको व्यावसायिक यात्रालाई अगाडि बढाउन सन् १९८० को दशकमा शंकर ग्रुपको स्थापना गरे ।
शंकरलालले शुरुको व्यावसायिक यात्रा भने ट्रेडिङबाट गरेका थिए । अहिले शंकर ग्रुप अन्तर्गत ४० वटाभन्दा बढी कम्पनी छन् । शंकर ग्रुपको लगानी नभएको कुनै क्षेत्र छैन भन्दा पनि फरक पर्दैन ।
शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।
नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुप अन्तर्गत छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । सन् २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो ।
सिमेन्ट र डण्डी उद्योगमा शंकर ग्रुप नेपालको पायोनियर मानिन्छ । शंकर ग्रुपले कम्पनीहरुमा सौरभ ग्रुप तथा अम्बे ग्रुपसँग साझेदारी लगानीमा व्यावसायिक यात्रा अगाडि बढाएको छ ।
ट्रेडिङबाट पाएको सफलताले शंकरलालले उद्योगमा सफलता पाए । उनका छोराहरु साहिल अग्रवाल र सुलभ अग्रवालले व्यवसाय अगाडि आउँदा ग्रुप फेरि ट्रेडिङमा ट्रेडिङमा केन्द्रित भयो । छोराहरुको सक्रियता र आक्रमक सोचले यो समूहको ग्रोथको पारो उकालो मात्रै छ ।
शंकर ग्रुप टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता बनेपछि नेपाली बजारमा टिभिएसले बलियो उपस्थिती जनायो । अहिले टिभिएस मोटरसाइकल र स्कुटरको एसेम्बल नेपालमै हुन्छ । केही समयअघि यो समूहले मलेसियाको प्रोटोन गाडीलाई भित्राएको थियो ।
प्रोटोन गाडीको नेपालमा आधिकारिक बिक्रेता शंकर ग्रुपको कम्पनी जगदम्बा अटोमोबाइल्स हो ।
यसबाहेक सिमेन्ट उद्योगमा पछिल्लो समय ग्रुपले हेटौंडामा रिद्धिसिद्धी तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ । नक्सालमा ५ तारे होटल हिल्टन बनाइरहेको छ । यसबाहेक ग्रुपले जलविद्युत् आयोजनामासमेत लगानी गरेको छ ।
वित्तीय क्षेत्रमा भने शंकर ग्रुपको सबैभन्दा बढी लगानी रहेको जीवन बीमा कम्पनी युनियन लाइफ हो । जसले प्रथम बीमा शुल्क आर्जनमा स्थापित भइसकेका पुराना कम्पनीलाई समेत जितेको छ । यस्तै हिमालयन रि इन्स्योरेन्समा पनि ग्रुपको ठूलो लगानी छ ।