१ खर्ब ‘सेल्स’ गर्ने बिजनेश हाउस बन्यो शंकर ग्रुप, छोराको साथले शंकरलालले पूरा गरे बुबाको सपना



काठमाडौं । व्यवसायिक घराना शंकर ग्रुप १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्ने ठूलो कर्पोरेट हाउस बनेको छ ।

निर्माण क्षेत्रका उद्योगमा पायोनियर मानिएको शंकर ग्रुपले गतवर्ष आफ्नो ग्रुप अन्तर्गतका कम्पनीबाट १ खर्ब रुपैयाँको बिक्री भएको जानकारी दिएको हो ।

रियलमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता घोषणाका कार्यक्रममा शंकर ग्रुपले १ अर्ब अमेरिकी डलर अर्थात् सवा १ खर्ब रुपैयाँ बराबरको सेल्स गर्ने व्यवसायिक समूह भएको घोषणा गरेको हो ।

पछिल्ला वर्षहरुमा व्यवसाय विस्तारमा आक्रमकरुपमा प्रस्तुत भएको यो समूहले उल्लेख्य सफलता हासिल गरेको छ । यो ग्रुपले ठूला र पूराना कतिपय व्यावसायिक घरानालाई निकै पछि पारिसकेको छ ।

शंकर ग्रुपको व्यवसायिक यात्राको शुरुवात म्यानमारबाट भएको हो । रावतमाल गोल्यानले सन् १९६० को दशकमा बटम उद्योग लगाएका थिए । म्यानमारबाट नेपाल आएर उद्योग लगाए पनि रावतमान गोल्यान भने सफल हुन सकेनन् । त्यसपछि गोल्यानले ट्रेडिङमा हात हाले ।

रावतमाल गोल्यानका छोरा शंकरलाल अग्रवालले बाबुको व्यवसायिक यात्रालाई अगाडि बढाउन सन् १९८० को दशकमा शंकर ग्रुपको स्थापना गरे ।

शंकरलालले शुरुको व्यवसायिक यात्रा भने ट्रेडिङबाट गरेका थिए । अहिले शंकर ग्रुप अन्तर्गत ४० वटाभन्दा बढी कम्पनी छन् । शंकर ग्रुपको लगानी नभएको कुनै क्षेत्र छैन भन्दा पनि फरक पर्दैन ।

शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।

नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुप अन्तर्गत छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । सन् २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो । यस्तै धागो उद्योग जगदम्बा यार्न शंकर ग्रुप अन्तर्गतको अर्को सफल कम्पनी हो ।

सिमेन्ट र डण्डी उद्योगमा शंकर ग्रुप नेपालको पायोनियर मानिन्छ । शंकर ग्रुपले कम्पनीहरुमा सौरभ ग्रुप तथा अम्बे ग्रुपसँग साझेदारी लगानीमा व्यवसायिक यात्रा अगाडि बढाएको छ ।

ट्रेडिङबाट पाएको सफलताले शंकरलालले उद्योगमा सफलता पाए । उनका छोराहरु साहिल अग्रवाल र सुलभ अग्रवालले व्यवसाय अगाडि आउँदा ग्रुप फेरि ट्रेडिङमा ट्रेडिङमा केन्द्रित भयो । छोराहरुको सक्रियता र आक्रमक सोचले यो समूहको ग्रोथको पारो उकालो मात्रै छ ।

शंकर ग्रुप टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता बनेपछि नेपाली बजारमा टिभिएसले बलियो उपस्थिती जनायो । अहिले टिभिएस मोटरसाइकल र स्कुटरको एसेम्बल नेपालमै हुन्छ । केही समयअघि यो समूहले मलेसियाको प्रोटोन गाडीलाई भित्र्याएको थियो । प्रोटोन गाडीको नेपालमा आधिकारिक बिक्रेता शंकर ग्रुपको कम्पनी जगदम्बा अटोमोबाइल्स हो ।

यसबाहेक सिमेन्ट उद्योगमा पछिल्लो समय ग्रुपले हेटौंडामा रिद्धिसिद्धी तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ । नक्सालमा ५ तारे होटल हिल्टन बनाइरहेको छ । यसबाहेक ग्रुपले जलविद्युत् आयोजनामासमेत लगानी गरेको छ ।

वित्तीय क्षेत्रमा भने शंकर ग्रुपको सबैभन्दा बढी लगानी रहेको जीवन बीमा कम्पनी युनियन लाइफ हो । जसले प्रथम बीमा शुल्क आर्जनमा स्थापित भइसकेका पुराना कम्पनीलाई समेत जितेको छ । यसबाहेक हालै लाइसेन्स पाएको हिमालयन रि इन्स्योरेन्समा पनि ग्रुपको ठूलो लगानी छ ।

शंकर ग्रुप नेपालका लागि रियलमी मोबाइलको आधिकारिक बिक्रेतामा समेत नियुक्त भएको छ ।

शंकरका छोराहरु व्यवसायीको छाता संगठनमा सक्रियरुपमा आवद्ध छन् । साहिल नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा छन् भने सुलभ नेपाल उद्योग परिसंघको कार्यसमितिमा छन् ।


आशीष ज्ञवाली