
ललितपुर । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ललितपुरस्थित कर्मनाशा खोला किनारमा रहेका अनाधिकृत घर टहरा र संरचनाहरू हटाउन कडा निर्देशन दिएको छ । समितिले ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकालाई पत्राचार गर्दै खोला किनारका अतिक्रमण हटाई कोरिडोर निर्माणमा सहयोग गर्न आग्रह गरेको हो ।
समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भोटले हस्ताक्षर गरेको पत्रमा बागमती र यसका सहायक नदीहरूको संरक्षण तथा कोरिडोर निर्माणका लागि खोला किनारको मापदण्ड पालना गराउनु पर्ने उल्लेख छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ मङ्सिर १ गतेको निर्णय र काठमाडौं उपत्यका नगर विकास समितिले निर्धारण गरेको मापदण्ड अनुसार कर्मनाशा खोलाको दुवै किनारबाट १०/१० मिटर दूरी छाडेर मात्र निर्माण कार्य गर्न पाइने कानुनी प्रावधान छ । तर, हाल सो क्षेत्रमा मापदण्ड विपरीत ठूला भौतिक संरचना र घर टहराहरू बनेको पाइएको भन्दै ती संरचनाहरू खाली गराउन समितिले महानगर र नगरपालिकालाई जिम्मेवारी दिएको छ ।
कर्मनाशा खोला कोरिडोरमा ढल प्रणालीसहितको सडक खोल्ने योजना रहेकाले खोला किनार र नदी उकासको जग्गामा बनाइएका संरचनाहरू बाधक बनेका छन् । यसअघि २०७९ जेठ २७ गते पनि सोही विषयमा पत्राचार गरिएको स्मरण गराउँदै समितिले पुनः संरचना हटाउन ताकेता गरेको हो ।
समितिले स्थानीय तहहरूलाई नयाँ घरको नक्सा पास गर्दा वा निर्माण स्वीकृति दिँदा नदी किनारको १० मिटरको मापदण्डलाई अनिवार्य र कडाइका साथ लागू गर्न समेत अनुरोध गरेको छ । अनाधिकृत संरचना नहटाइएमा विकास निर्माणका कामहरू प्रभावित हुने र नदीको प्राकृतिक बहावमा समेत असर पर्ने समितिले जनाएको छ ।






प्रतिक्रिया