
काठमाडौं । काठमाडौंमा साहित्यकार मनु योङहाङको उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा अनामनगरस्थित युएन हाउसमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरुले कृतिको मूल्याङ्कन गरेका थिए ।
काइँलाले उपन्यासमा मुन्धुमी विम्ब, ऐतिहासिक प्रसङ्ग र बौद्ध दर्शनलाई सशक्त ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै लेखकको लेखनशिल्पको प्रशंसा गरे । साहित्यकार कृष्ण धाराबासीले यसलाई पूर्वी पहाडको शक्तिशाली आवाज भन्दै राजधानी केन्द्रित सञ्चार माध्यमले मोफसलका सर्जकलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति गुनासो व्यक्त गरे ।
दिपक लुङगेली मगरले उपन्यासलाई इतिहास र सांस्कृतिक स्मृतिको दस्तावेजका रूपमा वर्णन गर्दै पात्रहरुको मनोवैज्ञानिक यात्राले यसलाई विशेष बनाएको बताए । प्रा. डा. संजीव हुमागाईंले दर्शन र इतिहासलाई सबल रुपमा प्रस्तुत गरेको चर्चा गरे भने प्रा. अनुपमा रेग्मीले मिथक र लोकविश्वासमा आधारित वैचारिक–दार्शनिक उपन्यासका रूपमा मूल्याङ्कन गरिन् ।
कार्यक्रमका अध्यक्ष धर्मेन्द्र नेम्बाङले लेखकलाई शुभकामना दिँदै धन्यवाद ज्ञापन गरे । स्रष्टा, साहित्यकार, बुद्धिजीवी तथा साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको कार्यक्रम युवा अध्येता भेषराज चेम्जोङले सञ्चालन गरेका थिए ।








प्रतिक्रिया