
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फेसबुकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय रहेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले प्रश्न उठाएका छन् ।
नेपाल सरकारले सूचीकरण नभएका फेसबुक, ह्वाट्सएप, एक्सलगायतका सामाजिक सञ्जाल बन्द गरेको छ । तर पनि सभापति देउवाले शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागी भएको गतिविधि फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
यही पोस्टको कमेन्ट बक्समा मेयर शाहले देउवालाई प्रश्न गरेका हुन् । उनले लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी? सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त ।’
शाहको सो कमेन्टमा असाधारण प्रतिक्रिया आएको छ । उनको टिप्पणीमा मात्रै ८ हजारभन्दा बढीले रियाक्ट गरेका छन् भने देउवाको मूल पोस्टमा करिब २ हजार मात्र रियाक्ट पुगेका छन् ।
यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भीपीएन प्रयोग गरेर सामाजिक सञ्जाल अपडेट गरेका थिए ।








प्रतिक्रिया