सरकारले सामाजिक सञ्जाल बन्द गर्ने धम्की नदेओस्, लाखौं नेपालीको रोजगारी गाँसिएको छ: रास्वपा

154
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सामाजिक सञ्जाल बन्द गर्न नहुने बताएका छन् ।

रास्वपाका सांसद अशोक चौधरीले लाखौँ नेपालीको रोजगारी, व्यवसाय सामाजिक सञ्जाल बन्द गर्न नहुने बताएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभए पनि प्रक्रिया नमिलेको उनको भनाइ छ ।

‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ९० प्रतिशत नाघिसकेको छ । लाखौँ नेपालीको रोजगारी, व्यवसाय डिजिटल प्लेटफमसँग गाँसिएको छ । तर सरकार धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्ने कुरा गर्छ,’ उनले भने,’ सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने कुरामा कसैको असहमति छैन । सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ । यी सबैलाई दर्ता गरेर नियमन गर्नुपर्छ सरकारको कर्तव्य भनेको अदालतको आदेश कार्यान्वयन गर्नु हो । त्यसका लागि कूटनीतिक वार्ता, कानुनी प्रबन्ध र दीर्घकालीन रणनीति अपनाउनु हो।’

उनले सरकारले वार्तामार्फत सामाजिक सञ्जाल दर्ता गर्ने वातावरण मिलाउनुपर्नेमा एक हप्ता दुई हप्ता भन्दै धम्की दिएर जनहित विपरीत काम गर्न खोजेको बताए ।