
अर्घाखाँची । श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेर उनका श्रीमान् किरण गुरुङले शव आफ्नै घरको भान्छा कोठामा गाडेको खुलासा भएको छ ।
प्यूठानको नौबहिनी–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण विगत आठ वर्षदेखि अर्घाखाँचीको पातलेपोखरामा बस्दै आएका थिए । उनी ३४ वर्षकी श्रीमती सुमित्रा र ९ वर्षकी छोरी सरुसँग बस्दै आएका थिए । केही दिनदेखि सुमित्रा बेपत्ता भएपछि उनका आफन्तले भदौ १६ मा प्रहरी चौकी बाल्कोटमा सूचना दिएका थिए।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्रारम्भिक अनुसन्धानमा १२ भदौको राति १२ बजे घरभित्र भएको विवादपछि किरणले श्रीमतीलाई बाँसको भाँटा र हंसियाले प्रहार गरी हत्या गरेको पाइएको छ । हत्यापछि शव कम्बलमा पोको पारेर भान्छाकोठामा खाल्डो खनेर गाडिएको थियो । घरभित्र गन्ध आएपछि प्रहरीले उत्खनन् गर्दा शव फेला परेको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ।
किरणले हत्या गर्ने क्रममा मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट हत्या गर्न प्रयोग भएको बाँसको लाठ्ठी, हंसिया, शव गाड्न प्रयोग भएको गैंची, बेल्चा र सानो कोदालो बरामद गरिएको छ। त्यस्तै, ‘ओरेन्ज’ लेखिएको मदिराको खाली र भरी बोत्तल पनि भेटिएको छ।
प्रहरीका अनुसार किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको हो । किरणको पूर्वविवाहबाट २ छोरी र सुमित्राको पूर्वविवाहबाट ३ छोरी रहेको पाइएको छ ।
प्रहरीले किरणलाई पक्राउ गरी कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।








प्रतिक्रिया