
काठमाडौं । नेपालभर आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा दर्ता भएका अपराधमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा रहेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मात्रै १६०३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्, जसको हिस्सा कुल अपराधको २८.२५ प्रतिशत छ।
उक्त महिनामा जम्मा ५,७४० अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये बैंकिङ कसुरपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका ८७५ वटा मुद्दा (१५.२१%), आत्महत्याका ५५४ (९.७६%), लागुऔषध ४६० (८.०९%), चोरी ३७९ (६.६०%) र ठगी २६२ (४.५६%) रहेका छन् ।
त्यसैगरी, जबरजस्ती करणीका २४२, सवारी दुर्घटना १३०, ज्यान मार्ने उद्योगका १०२ र बहुविवाहका ६० मुद्दा पनि प्रहरीमा दर्ता भएका छन्।
प्रदेशगत अवस्था
साउन महिनामा सबैभन्दा बढी अपराध काठमाडौं उपत्यकामा १ हजार ६११ वटा मुद्दा दर्ता भएका छन्। प्रदेशगत विवरणअनुसार काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशमा ५३६, मधेश प्रदेशमा १,०७२, लुम्बिनी प्रदेशमा ६८५, कोशी प्रदेशमा ९१८, गण्डकी प्रदेशमा ४१३, सुदूरपश्चिम प्रदेशमा ३३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा १७३ वटा मुद्दा दर्ता भएका छन्।
साउन महिनामा दर्ता भएका अपराधमध्ये ज्यान सम्बन्धी मुद्दा ७२३ वटा, आत्महत्या सम्बन्धी ५५४, चोरी सम्बन्धी ३७९, संगठित/आर्थिक अपराध सम्बन्धी ७८८, सामाजिक अपराध सम्बन्धी ९७१, महिला बालबालिकाविरुद्ध ४२८, सवारी सम्बन्धी १८१ र विविधमा १७१६ वटा मुद्दा दर्ता भएका प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले साउन महिनामा दर्ता भएका अपराध असार महिनाको तुलनामा ६.५६ प्रतिशतले घटेको जनाएको छ।








प्रतिक्रिया