
सुनवल (नवलपरासी) । महाकवि देवकोटा क्याम्पस, सुनवलको ‘जब प्लेसमेन्ट सेल’को पहलमा आगामी महाकवि रोजगार मेला–२०२५ आयोजना हुने भएको छ ।
क्याम्पस परिसरमै हुने उक्त रोजगार मेलामा विभिन्न बैंक, बीमा कम्पनी, शैक्षिक संस्था, उत्पादन तथा सेवा क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउने भएका छन् ।
कार्यक्रम भदौ १७ गते बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
रोजगार मेलाको प्रमुख उद्देश्य भनेको स्थानीय तथा क्षेत्रीय युवाहरुलाई रोजगारी अवसरसँग प्रत्यक्ष जोड्ने, तिनीहरूको दक्षता र क्षमता प्रदर्शन गर्ने प्लेटफर्म उपलब्ध गराउने रहेको जनाइएको छ ।
साथै रोजगारदातालाई योग्य जनशक्ति छनोट गर्न सहज वातावरण सिर्जना गर्नु, हालसालै स्नातक तथा स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीलाई उद्योग–व्यवसायसँग प्रत्यक्ष सम्पर्कमा ल्याएर कार्यक्षेत्रमा प्रवेश गर्ने अवसर दिने लक्ष्य मेलाले लिएको कार्यक्रम संयोजक केशव भण्डारीले जानकारी दिए ।
रोजगार मेलाले विद्यार्थी र युवाहरूलाई मात्र नभई रोजगारीदातालाई पनि फाइदा पुर्याउने अपेक्षा गरिएको छ। एकै स्थानमा ठूलो संख्यामा योग्य उम्मेदवार उपलब्ध हुने भएकाले कम्पनीहरूले आफ्ना आवश्यकता अनुसार छान्न सक्नेछन् ।
साथै, यस किसिमका कार्यक्रमहरूले शैक्षिक संस्थाले उत्पादन गरेका जनशक्तिको गुणस्तर, सीप र व्यवहारिक क्षमताबारे उद्योग–व्यवसायलाई जानकारी दिलाउने भएकाले शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने विश्वास क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले व्यक्त गरे ।
यो मेला केवल रोजगारी अवसर प्रदान गर्ने मात्र नभई विद्यार्थीलाई करियर काउन्सिलिङ, सीभी राइटिङ, अन्तर्वार्ता तयारी जस्ता सीपमा समेत मार्गदर्शन गर्ने मञ्च बन्ने उनले बताए ।








प्रतिक्रिया