शवबाट हड्डी बिक्री प्रकरण: धरौटी बुझाएर छुटे चार जना

427
Shares

काठमाडौं । पशुपति आर्यघाटमा शव जलाउने क्रममा हड्डी निकालेर बिक्री गरेको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा भएका छन् ।

चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

प्रहरीको अनुसन्धानमा उनीहरूले राम शाहीको सद्गदका क्रममा आधा जलेको शवबाट हड्डी निकालेर बिक्री गरेको पाइएको छ। जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो र बिहीबार सबैलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ।

मुलुकी फौजदारी संहिताको धारा १५७(१) अनुसार धार्मिक रीति–रिवाजमा जानाजानी बाधा पुर्‍याउने कार्यमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ। मिश्रीलाललाई मुख्य अपराधीको आधा सजायको माग गरिएको छ ।