आईपीओ ल्याउने तयारीमा ओयो

1.6k
Shares

एजेन्सी । हस्पिटालिटी चेन ओयो रूम्सले भारतमा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) ल्याउने तयारी गरेको छ ।

यसका लागि कम्पनीले भारतीय नियामक निकाय सेबीमा आफ्नो ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस अर्थात् मस्यौदा नोभेम्बरमा पेस गर्ने योजना बनाइरहेको छ । यसमार्फत कम्पनीले करिब ७० हजार करोड भारु मूल्यांकन गर्ने अपेक्षा गरेको छ ।

भारतीय समाचार संस्था एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारअनुसार, कम्पनीले अर्को साताको बोर्ड मिटिङमा यसबारे टुंगो लगाउनेछ।

हाल ओयोले आफ्नो सेयरधनीहरूको लगानी मूल्य बढाउने उद्देश्यले विभिन्न रणनीतिक विकल्पहरूको मूल्यांकन गरिरहेको कम्पनीका प्रवक्ताले बताएका छन्।

पछिल्ला केही सातामा कम्पनीका प्रमुख बैंकिङ पार्टनरसँग छलफल भइरहेको छ र मूल्यांकन गाइडेन्स करिब ७० हजार करोड रुपैयाँ पुगेको समाचारमा जनाइएको छ । यो प्रति सेयर करिब ७० भारुको मूल्यमा आधारित छ । यो कम्पनीको सञ्चालन नाफाको करिब २५–३० गुणा बढी हो ।

पछिल्ला केही महिनादेखि कम्पनीको प्रमोटर जापानको सफ्ट बैंक ग्रुपले बजारको अवस्थाबारे एक्सिस बैंक, सिटी बैंक, गोल्डम्यान स्याक्स, आईसीआईसीआई बैंक, जेएम फाइनान्सियल र जेफ्रिजसँग विस्तृत छलफल गरिसकेको छ ।

फिडब्याकपछि कम्पनी आफ्नो निर्णयबारे आश्वस्त भएको देखिन्छ ।

हाल कम्पनीले आफ्ना रणनीतिक विवरणहरूलाई अन्तिम चरणमा पु‍र्याउँदैछ र बोर्डसँग अर्क‍ो हप्तादेखि सम्पर्क गरिने समाचारमा जनाइएको छ । सफ्ट बैंक अझै पनि ओयोको ठूला सेयरहोल्डरमध्ये एक हो ।

यसका साथै कम्पनीले प्रिमियम होटल र मिडमार्केटदेखि प्रिमियम कम्पनी सर्भिस होटलका लागि छुट्टै एप ल्याउने योजना बनाइरहेको छ । यो सेग्मेन्टमा भारत र अन्य देशहरूमा आकर्षण देखिएको छ ।