तीजको दिन फलफूल लिएर रविलाई भेट्न जेल पुगिन् निकिता

217
Shares

काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भेट्न उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । तीजको व्रत बसेकी निकिताले फलफूलसहित कारागार पुगेर पतिको आशीर्वाद लिइन् ।

यसअघि हिजो मात्र उनले रविलाई जमानतमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेकी थिइन् । रविलाई बिगो रकम बराबरको बैंक जमानतमा जेलबाहिरैबाट मुद्दा सामना गर्न दिनुपर्ने उनको आग्रह छ ।

आफूले उच्च अदालत, बुटवलको ढोका ढक्ढक्याएको उनको भनाइ थियो ।

उनले आफ्ना श्रीमानको जीवन सुरक्षित नरहेको उल्लेख गरेकी थिइन् ।

यस्तो थियो निकिताको भनाइ

आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ ।

मेरो श्रीमान भन्नुहुन्छ, “यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।” तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस कि नपाइयोस, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु ।

मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनिहरुले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन । आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन ।
बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो ।