पोखरा एयरपोर्टमा १० अर्ब अनियमितता: प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न संसदको सुझाव

लेखा समितिले निकाल्यो निष्कर्षः अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई समेत पत्र

4.6k
Shares


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कर छुटसहित आर्थिक अनियमता गरेर १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले ठहर गरेको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितासहित अहिलेसम्मकै मोटो रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।

उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक प्रदीप अधिकारी आयोजना प्रमुख रहेको र उनकै निर्देशनमा काम भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन गरेर थप अनुसन्धानका साथै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनसमेत सिफारिस गरेको छ ।

विमानस्थल निर्माणमा भ्रष्टाचार भएको बारे क्लिकमान्डुले बारम्बार समाचार सम्प्रेषण गरेको थियो ।

१४ अर्बमा बन्नुपर्ने विमानस्थलको लागत २४ अर्ब बनाएर १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष उपसमितिले निकालेको हो ।

विमानस्थलमा अनियमितता, करछुट, अस्वभाविक खर्च र अनियमित ढंगले काम गरेको पाइएको उपसिमितिको ठहर छ ।

संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदनको तयार पारेर लेखा समितिलाई बुझाएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा २ अर्ब २२ करोड रुपैयाँ कर छुट दिएको, ठेक्का भित्रैबाट गर्नुपर्नेमा छिनेडाँडा विमानस्थल कटान गर्न ३२ करोड २ लाख नेपाल नागरिक उड्डन प्राधिकरण (क्यान)बाट खर्च गरेको उल्लेख छ ।

ठेक्काबाट गर्नुपर्ने खर्चबाहेक विमानस्थलमा एसी जडान गर्न ७ लाख ४२ हजार डलर, नाली खन्न १ करोड ६४ लाख डलर, माटो खन्न ४४ लाख डलर, बाहिरबाट माटो ल्याउन ५५ लाख डलर ठेक्काबाटै गर्नुपर्नेमाा क्यानले आफ्नो बजेटबाट खर्च गरेर अनिमियता गरेको दाबी उपसमितिको छ ।

विमानस्थलमा माटो भर्न २ करोड २२ लाख डलर, इन्धन ट्यांकीका लागि २ लाख डलर, परामर्श खर्चमा २८ लाख डलर पनि अतिरिक्त खर्च गरेको दाबी सहित उपसमितिले क्यानका महानिर्देशकलाई तत्कालै हटाएर अनुसन्धान गर्न सुझाव दिएको उपसमिति सदस्य प्रेम आलेले क्लिकमान्डुलाई जानकारी दिए ।

आलेका अनुसार विमानस्थल १० अर्बमै बन्ने भए पनि लागत बढाएर र अस्वभाविक खर्च बढाएर २२ अर्ब पुर्याएको देखिएको छ । यो विमानस्थल निर्माणमा भएको भ्रष्टाचार अहिलेसम्मकै ठूलो भएकोले पनि संलग्न पदाधिकारीलाई निलम्बन गरेर कारवाही गर्न सुझावसहितको प्रतिवेदन लेखा समितिलाई बुझाएको उनले जानकारी दिए ।