
काठमाडौं । युरोपेली कम्पनी एयरबसका जहाजको आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पछि हटेका छन् ।
प्राधिकरणले बिहीबार नेपालमा उड्डयन सुरक्षा चुनौती बनेको एयरवसका हेलिकप्टर आयात गर्न रोक लगाउने र वायुसेवा कम्पनीलाई विकल्प खोज्न लगाउने गरी गरेको निर्णयले आधिकारिकता नपाउँदै ब्याक हुनु परेको हो । उक्त निर्णयको वायुसेवा कम्पनीहरुले बिरोध गरेका थिए भने निर्णय कार्यान्वयन योग्य नभएको भन्दै आलोचना भएको थियो ।
हेलिकप्टर कम्पनीको असहमतिकाबीच क्यानका डीजी अधिकारीको निर्णयले औपचारिकता नपाउँदै ब्याक हुनु परेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
प्राधिकरणले भने आफ्नो निर्णयको वचाउ गरेको छ । नेपालमा युरोपेली हेलिकप्टर/वायुयान आयातमा प्रतिबन्ध लगाउने कुनै निर्णय नभएको दाबी गरेको छ । निर्णयले औपचारिकता नपाउँदै बिरोध भएपछि पछि हट्नु परे पनि प्राधिकरणले भने छलफल मात्र भएको दाबी गरेको हो । प्राधिकरणको सामाजिक सञ्जालमा भनिएको छ , ‘विश्वभरका सुरक्षित वायुयान निर्माता कम्पनीहरुलाई नेपालमा खुला र समान अवसर प्रदान गर्ने सम्बन्धमा भएको छलफलको तथ्य विपरीत, संचार माध्यममा आएका नेपालमा युरोपेली हेलिकप्टर/वायुयान आयातमा प्रतिबन्ध सम्बन्धित समाचारहरुका सम्बन्धमा कुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरा अनुरोध छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले प्राधिकरणले गरेको अनौपचारिक छलफल र मौखिक निर्णय विपरीत मिडियामा समाचार आएको तर्क गरे ।
‘अनौपचारिक रुपमा छलफल भएको विषय बाहिर आएकोले प्राधिकरणले एयरबसका हेलिकप्टर आयातमा प्रतिबन्ध लगाउने कुनै निर्णय भएको छैन भनेर सामाजिक सञ्जालबाट जानकारी दिएको हो,’ उनले भने, ‘अनौपचारिक रुपमा भएको छलफल कसरी निर्णय नै भनेर बाहिरियो ? त्यो विषयमा जानकारी भएन । तर प्राधिकरणले आधिकारिक रुपमा युरोपेली वायुसेवालाई रोक्ने निर्णय गरेको छैन ।’
प्रवक्ता पाण्डेले अनौपचारिक कुराकानी मात्र भएको भने पनि एयरवसका हेलिकप्टरको आयात रोक्ने निर्णय भएकोले चीनबाट हेलिकप्टर ल्याउन पैसासमेत भुक्तानी गरिसकेको माउन्टेन एयरलाइन्सलाई बिहीबार प्राधिकरण उच्च अधिकारीले फोन गरेर आयात रोक्न मौखिक निर्देशन दिएका थिए ।
प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागका निर्देशक प्रभाकर मल्लिकले बिहीबार दिउँसो माउन्टेन हेलिकप्टरका महाप्रवन्धक तथा एकाउन्टेबल म्यानेजर डिबी ओलीलाई फोन गरेर भनेका थिए, ‘तपाईंको हेलिकप्टर तत्काललाई होल्ड गर्नुस् ।’ हेली आउने अन्तिम तयारीमा हुँदा तत्काल होल्ड गर्नु भन्ने निर्देशनपछि ओलीले मल्लिकलाई ‘किन ?’ भन्दै सोधेका थिए । तर प्राधिकरणले कुनै निर्णय वा निर्देशनको औपचारिक जानकारी माउन्टेन हेलिकप्टरले पाउन सकेन ।
प्राधिकरणले फोनमार्फत गराएको जानकारीलाई केही समय पछाडि गरेको ट्वीटले खण्डन गरेको छ । सम्बन्धित हेलिकप्टर कम्पनीको अनुसार निर्णय भएको भन्दै जानकारी आएको भए पनि सामाजिक सञ्जालबाट उक्त निर्णय फिर्ता भएको आशयको सूचना सार्वजनिक भएको देखिन्छ ।
प्राधिकरणको बिहीबारको निर्णयले अन्नपूर्ण हेलिकप्टरको २ वटा, माउन्टेन हेलिकप्टर, अल्टिच्यूड एयर र एयर डाइनेष्टिको १/१ वटा हेलिकप्टर बाटैमा रोकिएका थिए ।
नेपालमा ईयूले १२ वर्षदेखि हवाई उडानमा लगाएको प्रतिबन्ध नहटाएपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रतिशोधको भावना लिएर हेलिकप्टर आयातमा रोक लगाउने तयारी गरेका थिए । तर, कुनै निश्चित कम्पनीको विमान किन्न वा नकिन्न कप्पनीहरुलाई बाध्य पार्न नमिल्ने भन्दै आलोचना भएपछि उनी ब्याक भएका हुन् ।
अधिकारी नेपाली आकाशमा हवाई सुरक्षा सुधारभन्दा पनि प्रतिशोधपूर्ण रुपमा ईयूविरुद्ध खनिएका हुन् ।
नेपालको हवाई सुरक्षामा सुधार आएको दाबी अधिकारीको छ । तर ईयूले भने हवाई सुरक्षामा सुधार नभएको साथै प्राधिकरणलाई टुक्र्याएर सेवा प्रदायक र नियामक छुट्याउनु पर्ने बताउँदै आएको छ । जसलाई क्यानका डीजी अधिकारीले रुचाएका छैनन् ।
प्रतिक्रिया