
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागका निर्देशक प्रभाकर मल्लिकले बिहीबार दिउँसो माउन्टेल हेलिकप्टरका महाप्रवन्धक तथा एकाउन्टेबल म्यानेजर डिबी ओलीलाई फोन गरे । फोनमा उनले भने, ‘तपाईंको हेलिकप्टर तत्काललाई होल्ड गर्नुस् ।’ हेली आउने अन्तिम तयारीमा हुँदा तत्काल होल्ड गर्नु भन्ने निर्देशनपछि ओलीले मल्लिकलाई सोधे, ‘किन ?’
मल्लिकले जवाफ फर्काए, ‘तत्काललाई हेलिकप्टर ल्याउन नदिने निर्णय भएको छ बाँकी जानकारी पत्रमार्फत आउँछ ।’
मल्लिकको फोनपछि नेपाल भित्रने अन्तिम तयारीमा रहेको माउन्टेन हेलिकप्टर रोकिएको छ । माउन्टेले एयरवसको एउटा एएस ३५० बीथ्री नामक हेलिकप्ट चीनबाट ल्याउन पैसा भुक्तानी गरिसकेको छ । पैसा तिरिसकेको हेलिकप्ट नियामकले नल्याउनु भनेपछि कम्पनी ‘कारण थाहा पाउन’उड्डयन प्रधिकरणको पत्रको प्रतिक्षामा छ ।
प्राधिकरणले नै दुई महिना अगाडि ल्याउन अनुमति दिएको हेलिकप्टर अहिले रोकिँदाको असर माउन्टेनलाई मात्रै परेन । प्राधिकरणबाट अनुमति पाएर हेलिकप्टर ल्याउँदै गरेको अन्य तीन वटा कम्पनीलाई पनि असर परेको छ ।
प्राधिकरणको निर्णयले अन्नपूर्ण हेलिकप्टरको २ वटा, माउन्टेन हेलिकप्टर, अल्टिच्यूड एयर र एयर डाइनेष्टिको १/१ वटा हेलिकप्टर बाटैमा रोकिएका छन् ।
प्राधिकरणबाटै अनुमति लिएर नेपाल भित्रने तयारीमा रहेका यी ५ वटै हेलिकप्टरमध्ये कतिपयको पैसा भुक्तानी भइसकेको छ भने केहीले बिक्रेतासँग सहमति गरेर पैसा पठाउन थालेको पनि सम्बन्धित हेलिकप्टर कम्पनीले जानकारी दिएका छन् ।
नेपालमा ईयूले १२ वर्षदेखि हवाई उडानमा लगाएको प्रतिबन्ध नहटाएपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रतिशोधको भावना लिएर हेलिकप्टर आयातमा रोक लगाएको बाहेक अन्य कुनै कारण नदेखिको हेलिकप्टर सोसाईटीका एक पदाधिकारीको भनाइ छ ।
‘नेपालमा अहिले ९० प्रतिशतभन्दा बढी हेलिकप्टर एयरबसकै छन् । नेपालमा उडान सेवा दिइरहेको जहाज पनि अधिकांश युरोपेली कम्पनीकै जहाज नेपालमा उड्छन्,’ उनले भने, ‘कालोसूचीबाट हटाएन भनेर प्रतिशोध साँध्ने नाममा वायुसेवा कम्पनीलाई समस्यामा पार्न मिल्छ ?,’
उनी नेपालमा बढी उडान भर्ने कम्पनीका जहाज दुर्घटना वा प्राविधिक समस्या देखिनु सामान्य भएको बताए ।
तर, उड्डयन सुरक्षामा सुधार गर्न नसकेपछि बहाना बनाएर युरोपेली कम्पनी एयरवसका हेलिकप्टरको आयात रोकिएको हो भने व्यवहारिक नहुने उनको भनाइ छ ।
अनुमति पाइसकेका हेलिकप्टर के हुन्छ, पाटपूर्जा आयातमा के गर्ने भन्ने विषयलाई पनि प्राधिकरणले स्पष्ट पार्नुपर्ने अर्का वायुसेवा सञ्चालकले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक भएको तीन वर्षसम्म उड्डयन सुरक्षामा सुधार गर्न नसकेपछि प्रदीप अधिकारीले युरोपेली युनियन (ईयू)सँग प्रतिशोध साधेका हुन् । अधिकारीले बिहीबार नेपालमा उडान भइरहेको एयरवस हेलिकप्टरको उडान सुरक्षित नभएको, धेरै दुर्घटना भएको र असुरक्षित उडान रोक्न भन्दै एयरवसका हेलिकप्टरको आयातमा रोक लगाउने निर्णय गरेका हुन् ।
महानिर्देशक भएर आएपछि उड्डन सुरक्षामा सुधार गर्न नसकेका अधिकारीले कहिले आन्तरिक वायुसेवामाथि अंकुश लगाउने त कहिले आन्तरिक वायुसेवाको उडानमामाथि अपरिवक्व निर्णय गर्दै आएका छन् । लाभका लागि निर्माणमा ध्यान दिने भएकाले अधिकारीले उड्डयन सुरक्षामा ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।
‘उड्डयन सुरक्षामा भन्दा डीजी सापको ध्यान नयाँ बनाउने र लगानी गर्ने क्षेत्रमा मात्र छ । त्यहाँ कमिसन पनि आउँछ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘उड्डयन सुरक्षामा ध्यान दिएको भए ईयूले कालोसूचीबाट हटाइसक्थ्यो । काम नगर्ने अनि रिस उठ्यो भनेर विमान ल्याउन रोक लगाएर हुन्छ होला त?’
तर प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल नेपालले उडान सुरक्षामा सुधार गरे पनि ईयूले कालोसूचीबाट नहटाएको तर्क गर्छन् ।
ईयूले सन् २०१३ पछि नेपालको उड्डयन सुरक्षामा सुधार भइसक्दा कालोसूचीबाट नहटाएको, नेपाली आकासमा एयरवसका हेली धेरै दुर्घटनामा परेको र उड्डयन सुरक्षासँगै नेपाली सुरक्षालाई प्राथमिकता राखेर एयरवसको हेलिकप्टरको विकल्प खोज्नुपर्ने निर्णय सम्बन्धित हेलिकप्टर कम्पनीलाई दिएको बताए ।
‘नेपाली आकासको लागि युरोपेली हेलिकप्टर असुरक्षित देखिएकोले तत्काललाई रोक लगाउने नीति लिइएको हो,’ उनले भने ।
नेपाली आकासका लागि अहिलेसम्मको इतिहास हेर्दा युरोपेली हेलिकप्टर सुरक्षा दृष्टिले उपयुक्त नभएको निष्कर्ष प्राधिकरणले निकालेको हो । नेपाली आकासमा बढी दुर्घटना भएको र एयरसले नेपाललाई परीक्षणको केन्द्र मात्रै बनाएकोले पनि अन्य कम्पनीकोसमेत वायुसेवा ल्याउन पाउने नीतिमा प्राधिकरण जाने निर्णय भएको पनि भुलको भनाइ छ ।
नेपालको हवाई उड्डयन सुरक्षा विश्वको औषत स्तरभन्दा माथि रहँदासमेत ईयूले नेपाली वायुसेवालाई सुरक्षा सूचीबाट नहटाउनुको कारण पनि युरोपेली जहाजको विकल्प खोज्नुपर्ने अवस्था आएको पनि उनले बताए ।
नेपालमा हाल विभिन्न १२ वटा कम्पनीसँग ३२ वटा हेलिकप्टर छन् । यी मध्ये सिम्रिक र श्री एयरलाइन्सँग मात्रै व्यवसायीक उडान गर्ने अरु कम्पनीको हेलिकप्टर छन् भने बाँकी सबै कम्पनीसँग एयरवसकै मात्रै हेलिकप्टर छन् ।
फरक फरक कम्पनीका जहाजलाई नेपाली वायुसेवा कम्पनीहरुले धान्न गाह्रो हुने एक वायुसेवा सञ्चालक बताउँछन् । फरक जहाज उडाउन पाइलटलाई तालिम, फरक-फरक इन्जिनियर राख्नुपर्ने बाध्यता लगायत हुँदा धान्न समस्या हुने उनको भनाइ छ।
प्रतिक्रिया