२० मध्ये ११ वाणिज्य बैंकले मात्रै बाँडे लाभांश, औसत ४.७७%



काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले औसतमा ४.७७ प्रतिशतका दरले लाभांश बाँडेका छन् । तीमध्ये ११ वटा बैंकले मात्रै सेयरधनीलाई लाभांश दिँदा बाँकी ९ वटा बैंकले सेयरधनीको हात खाली बनाए ।

९ बैंकले सेयरधनीलाई लाभांश नदिँदा औसत लाभांश यति कम देखिएको हो ।

२० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश दिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले २५.५० प्रतिशत लाभांश दिँदा सबैभन्दा कम लाभांश ४ प्रतिशत रहेको छ । ११ मध्ये १० प्रतिशतभन्दा बढी लाभांश दिने बैंकको संख्या ५ मात्रै छ । सबैभन्दा थोरै लाभांश सिद्धार्थ बैंकले ४ प्रतिशतमात्र दिएको छ ।

बैंकहरुको लाभांश विवरणअनुसार कृषि विकास बैंकले १०.५३ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत, एभरेस्ट बैंकले १५.५३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत, नबिल बैंकले १० प्रतिशत, प्राइम बैंकले ५ प्रतिशत, सानिमा बैंकले ५.२६ प्रतिशत र नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिएको छ ।

लाभांश नदिने बैंकहरु हिमालयन, कुमारी, माछापुच्छ्रे, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया, एनएमबि, प्रभु र राष्ट्रिय वाणिज्य बैंक हुन् ।

२० बैंकमध्ये १९ वटा बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । वाणिज्य बैंक भने सूचीकृत छैन ।

अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरुले गत आवमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका थिए । जसमध्ये वितरणयोग्य नाफा ७ अर्ब ६२ अर्ब रुपैयाँमात्र थियो ।

हालसम्म २० मध्ये १६ बैंकको अन्तिम लेखापरीक्षण भएको वित्तीय विवरण प्रकाशन भइसकेको छ । उनीहरुले अपरिस्कृत वित्तीय विवरणमा ५३ अर्ब ७ करोड रुपैयाँ नाफा देखिएकामा वार्षिक प्रतिवेदनअनुसार ४५ अर्ब रुपैयाँमात्र नाफा छ ।


क्लिकमान्डु