दक्षिण कोरियाली राष्ट्रपति पक्राउ, भने: ममाथिको जाँच अवैध
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति यून सुक-योललाई प्रहरीले पक्राउ गरेको छ । महाभियोगको मुद्दा सामना गरिरहे उनलाई बुधबार बिहान कोरियाली प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि राष्ट्रपति यूनले एक भिडियो सन्देश जारी गर्दै आफूमाथिको छानबिनलाई ‘अवैध’ भनेका छन् ।
गत वर्ष डिसेम्बर ३ मा राष्ट्रपति यूनले देशमा मार्शल ल घोषणा गरेका थिए । यद्यपि, व्यापक विरोध भएपछि केही घण्टाभित्रै उक्त निर्णय फिर्ता लिएका थिए । यस घटनापछि विपक्षी दलहरूले लगातार उनको राजीनामा र गिरफ्तारीको माग गर्दै आएका थिए ।
दक्षिण कोरियाको विशेष छानबिन निकाय ‘सीआईओ’ ले राष्ट्रपति यूनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो र त्यसलाई बिहान ७:२३ बजे कार्यान्वयन गरेको जनाएको छ । यस क्रममा राष्ट्रपतिको निवासबाट गाडीहरूको ठूलो समूह बाहिरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
पक्राउ परेपछि जारी तीन मिनेटको भिडियो सन्देशमा राष्ट्रपति यूनले भने, ‘मैले सीआईओको अगाडि प्रस्तुत हुने निर्णय गरेको छु, यद्यपि यो छानबिन अवैध छ । यो निर्णय मैले रक्तपात रोक्नका लागि गरेको हुँ,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘तर यसको अर्थ यो होइन कि म यो छानबिनलाई मान्यता दिन्छु । न त छानबिन निकाय र न त अदालतसँग मलाई गिरफ्तार गर्ने अधिकार छ।’
राष्ट्रपति यूनको गिरफ्तारीपछि विपक्षी डेमोक्रेटिक पार्टीका सभासद नेता पार्क चन डेले भने, ‘दक्षिण कोरियामा न्याय अझै जिउँदो छ। यो गिरफ्तारी संवैधानिक प्रणाली, प्रजातन्त्र र कानूनी शासन पुनःस्थापनाको पहिलो कदम हो।’
राष्ट्रपति यूनविरुद्धको महाभियोग प्रस्ताव विपक्षी दलहरूले संसदमा ल्याएका थिए, जुन संसदले पारित गरेको थियो । मार्शल ल घोषणा र त्यसपछि फिर्ता लिएको विषयले उनीमाथि जनआक्रोश निम्त्याएको थियो।
यो गिरफ्तारीसँगै दक्षिण कोरियामा राजनीतिक तनाव झनै चुलिएको छ। अब अगाडि हुने कानूनी प्रक्रिया र त्यसको परिणामप्रति सबैको ध्यान केन्द्रित छ ।