हिन्दु र बौद्धमार्गीको धार्मिक गन्तव्य शाश्वतधाममा ५० लाख दर्शनार्थी
नवलपुर । नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेका छन् । सन् २०१७ मा उद्घाटन गरिएको शाश्वतधाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५० लाख पुगेको हो ।
‘शाश्वतधामले आफूलाई नेपालको अन्यत्र कहीँ नभएको धार्मिक स्थलको रुपमा स्थापित गरेको छ,’ ५० लाख औं आगन्तुक मजोज अर्यालले बताए । उनले भने, ‘यहाँ भ्रमण गर्नेहरुको बयान सुनेपछि परिवारसहित आएको हुँ । आफैंले प्रत्यक्ष अवलोकन गरेपछि यति सुन्दर र मनमोहक स्थान नेपालमा अन्यत्र छैन जस्तो लागेको छ । आज शास्वतधामभित्र प्राप्त भएको स्वागत–सम्मान मेरो जीवनमा अविस्मरणीय रहने छ ।’
स्थानीय मौलिक संस्कृति, भेषभूषा, रहनसहन र बाजागाजालाई समेटेर प्रस्तुत गरिएको कार्यक्रमले सनातन धर्मप्रतिको श्रद्धा, आस्था र विश्वास जागरण गर्न तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको शाश्वतधाम परिवारले जनाएको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रवि शंकरद्वारा संयुक्त रुपमा समुदघाटन गरिएको शाश्वतधाम पछिल्लो समय नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ । कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय र शाकाहारी भोजनालय जस्ता स्थलहरु रहेका छन् ।
शाश्वतधाम धार्मिक पर्यटक मात्र नभई शैक्षिक भ्रमणका लागि पनि उपयुक्त गन्तव्य मानिन्छ। यहाँका आर्कषक भित्ते चित्र, पानीका फोहोरा, हरियाली र सजिला पदमार्गहरुले भ्रमणकर्तालाई आकर्षण थपेका छन् ।
शाश्वतधामको प्रमुख आकर्षण एकम्वरेश्वर मन्दिरको भव्यता र कलात्मकतालाई उच्च प्रशंसा गरेका थिए । हरियाली र पानीको फोहोरा रहेको यस मन्दिरले विशेषगरी रातको समयमा पानीमा तैरिरहेको भान गराउँछ । साथै, सनातन धर्मका मुख्य मुख्य देवी देवताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक विषेशता रहेको छ। मन्दिरभित्र रहेको ठूलो शिवलिंग र बुद्धिस्ट सेन्टरले यहाँ आउने आगन्तुकलाई धार्मिक शान्ति र आध्यात्मिक ज्ञान प्रवाह गरेको छ ।
शाश्वतधामः एक मन्दिर, अनेकान महत्व
शाश्वतधाम केवल एक मन्दिर मात्रै होइन, यो हिन्दु र बौद्ध धर्मको उत्कृष्ट स्थल हो, जहाँ एकै ठाउँमा हिन्दुको आस्थाको केन्द्र मन्दिरका साथै बाद्धमार्गीका लािग चैत्य स्थापित छ । नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं २, दुम्कौलीमा रहेको शाश्वतधाम धार्मिक, सांस्कृतिक, पर्यटकीय र पर्यावरणीय हिसावले पनि निकै महत्वपूर्ण छ । धार्मिक सहिष्णुताको महत्व र त्यसको पाठ यहाँ निर्माण गरिएका संरचनाले देखाउँछ ।
नेपालका प्रख्यात उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी विनोद चौधरीले शाश्वतधाम निर्माण गरेका हुन् । ‘सनातन धर्मका अनुयायी एवं धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रका रुपमा शाश्वतधाम स्थापित भएको छ । र, यति छोटो समयमा ५० लाख आस्थावान महानुभावहरु शाश्वतधामको दर्शनका लागि आउनु आफैमा अनुकरणीय छ,’ शाश्वतधामका संस्थापक चौधरीले भने, ‘शास्वतधामलाई दक्षिण एसियामा सनातन धर्मको केन्द्रको रुपमा विकास गर्न ५०औं लाख महानुभावका भावनालाई समेट्दै हामी अगाडी बढ्ने छौ ।’
विश्वमान चित्रमा शाश्वतधामलाई उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । गुरुकुलमा विद्यार्थीहरु निशुल्क अध्ययन गर्न पाउँछन् भने हिन्दु र बौद्ध दर्शन झल्काउने छुट्टाछुट्टै संग्रहालय रहेको छ । यहाँ नक्षत्र बाटिका निर्माण गरिएको छ । जसले पर्यावरणीय महत्वलाई झनै दर्शाउने गरेको छ ।
भगवान गौतम बुद्धको अस्तु बौद्ध गुरुहरुले श्रीलंकाबाट ल्याएर विशेष पूजा आजाका साथ शाश्वतधामका प्रतिस्थापन गरिएको थियो । जसले गर्दा शाश्वतधामलाई हिन्दुमात्रै नभई बौद्धमार्गीका लागि पनि पवित्र स्थलका रुपमा लिइन्छ । यहाँ हरेक वर्ष वैशाख पूर्णिमाका दिन विशेष पूजाआजा गरिन्छ ।