अमेरिकामा राष्ट्रपति निर्वाचन: ट्रम्प र ह्यारिसमा कसको सम्भावना बलियो ?



अमेरिकामा यही मंलगवार (नोभेम्बर ५) हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा टक्कर देखिएको छ ।

पछिल्ला मतसर्वेक्षणहरूमा ट्रम्प र ह्यारिसको उस्तै समर्थन सूचकांक रहेको देखिन्छ यद्यपि ट्रम्पको झिनो अग्रता देखिएको छ । मतदानको दिनअघि भएका प्रिइलेक्शन भोटिङमा ७ करोड मतदाताले भाग लिइसकेका छन् । यो विशाल संख्याले कुन उम्मेदवारलाई फाइदा पुर्‍याउनेछ भनी विज्ञहरूले यकिन गर्न सकेका छैनन् ।

अनिर्णित मतदाताहरू धेरै भएको राज्य (स्विङ स्टेट) मा कुन उम्मेदवारले राम्रो प्रदर्शन गर्छ भन्ने तथ्यले निर्वाचनको परिणाम निर्धारण गर्ने गर्छ । नर्थ क्यारोलाइना, जर्जिया, एरिजोना, नेभाडा, विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनिया यी ७ वटा राज्यलाई स्विङ स्टेट मानिएको छ । एटलसइन्टेल नामक मतसर्वेक्षण कम्पनीले यी सातैवटा राज्यमा ट्रम्पको झिनो अग्रता रहेको देखाएको छ ।

त्यस्तै अर्को प्रतिष्ठित मतसर्वेक्षण संस्था रियलक्लियरपोलिङले राष्ट्रिय औसत (नेशनल एभरेज) मा ट्रम्पले ह्यारिसलाई ०.३ अंकले उछिनिरहेको देखाएको छ । ट्रम्पको ४८.४ औसत रहेकोमा ह्यारिसको ४८.१ औसत छ । कठोर प्रतिस्पर्धा भइरहेका राज्य (टप ब्याटलग्राउन्ड्स) मा ट्रम्पको ४८.६ औसत अंक छ भने ह्यारिसको ४७.४ अंक छ ।

उता इमर्सन कलेजको मतसर्वेक्षण परिणामलाई हेर्दा ट्रम्प र ह्यारिस दुवैजना समान ४९ प्रतिशत मतका साथ एकअर्कालाई कडा टक्कर दिइरहेका छन् । फाइभथर्टीएट नामक संस्थाको मतसर्वेक्षणमा चाहिँ ट्रम्पले जित्ने सम्भावना ५३ प्रतिशत छ भने ह्यारिसको ४७ प्रतिशत मात्र छ ।

यसैबीच गत बुधवार सीएनएनमा ह्यारी एन्टन नामक निर्वाचन तथ्यांक विश्लेषकले ह्यारिस पक्षलाई चिन्तित बनाउने आँकडा प्रस्तुत गरेका छन् । उनका अनुसार, अहिले जम्मा २८ प्रतिशत अमेरिकीहरूले देश सही गतिमा अघि बढिरहेको भनेका छन् । यति थोरै मानिसले देशको दिशाका विषयमा आशा राख्नु सत्तारूढ दलका लागि खतराको घण्टी हो भनी एन्टनले विश्लेषण गरेका छन् । त्यसमाथि राष्ट्रपति जो बाइडनको समर्थन सूचकांक एकदमै कम भएको अवस्थामा उनको दल डेमोक्रेटिक पार्टीको सम्भावना कमजोर देखिएको एन्टनको भनाइ छ ।

तर निर्वाचनअघिका मतसर्वेक्षणहरू सधैं मिल्छन् भन्ने छैन । सन् २०१६ मा ट्रम्पलाई सबै मतसर्वेक्षणहरूले उनको प्रतिद्वन्द्वी हिलारी क्लिन्टनभन्दा निकै पछि रहेको भनी देखाएका थिए । तर सबैलाई आश्चर्यमा पार्दै ट्रम्प विजयी भए ।

यसपालिको निर्वाचनमा मुखर नरहेका मतदाता (साइलेन्ट भोटर) ले निर्णायक मत दिने बताइएको छ ।

मुखर भइरहेका विषयको कुरा गर्दा चाहिँ विशेषगरी ह्यारिसले महिलाहरूको शारीरिक स्वायत्तता र अधिकारका विषयमा जोड दिएर कुरा उठाइरहेकाले विशाल संख्यामा महिलाहरू उनको पक्षमा मतदान गर्न तम्तयार रहेको आकलन गरिएको छ । ट्रम्पले महिलाको प्रजनन स्वास्थ्यमा हस्तक्षेप गर्दै उनीहरूलाई गर्भपात गर्नबाट प्रतिबन्ध लगाउनेछन् भनी ह्यारिसले महिलाहरूलाई सचेत गराइरहेकी छन् । यही विषयले गर्दा सन् २०२२ मा भएको हाउस अफ रिप्रजेन्टेटिभ्सको निर्वाचनमा रिपब्लिकनहरूले सुविधाजनक बहुमत ल्याउन सकेका थिएनन् ।

उता ट्रम्पले चाहिँ अनियन्त्रित रूपमा अवैध आप्रवासीहरू अमेरिकामा प्रवेश गरी अमेरिकीहरूको जागिर खोसिरहेको र सरकारी सुविधा पनि हडपिरहेको अनि हिंस्रक अपराध पनि गरिरहेको विषयलाई जोडतोडका साथ उठाइरहेका छन् । त्यसका साथै अमेरिकामा जीवनयापन गर्न कठिनाइ हुने गरी महंगी बढिरहेको र बाइडन–ह्यारिस प्रशासनले त्यसलाई घटाउनका लागि ठोस पहल गर्न नसकेको विषयलाई पनि ट्रम्पले उठाइरहेका छन् ।

ह्यारिस र ट्रम्पको केन्द्रीय विषयवस्तुलाई विचार गर्दा अवैध आप्रवासी र बढ्दो महंगीको समस्याको स्तरमा गर्भपातको विषयले मतदातालाई धेरै छुन्छ जस्तो लाग्दैन । हुन पनि सन् १९८० को दशकको तुलनामा गर्भपातको संख्या ६० प्रतिशतले घटेको देखिन्छ । त्यसपछि विकसित भएका कपर टी र गर्भनिरोधक चक्कीहरूले काम गरिरहेकाले गर्भपातको स्थितिसम्म महिलाहरू पुगिरहेका छैनन् । अनि अहिलेका अमेरिकी महिलाहरू गर्भधारण गर्ने र आमा बन्ने कुरालाई मात्र प्राथमिकता दिँदैनन्, आफ्नो करीयर अघि बढाउन चाहन्छन् ।

तर अवैध आप्रवासीहरू मेक्सिको सीमाबाट डरलाग्दो गरी अमेरिकामा भित्रिरहेको र यहाँको संरचनालाई तहसनहस बनाइरहेको अनि आफूले त्यसलाई रोक्ने एवम् अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने भनी ट्रम्पले देखाएको डरले मतदाताहरूलाई असर पारेको देखिन्छ । यस्तो अवैध आप्रवासनको विषयलाई महिला र पुरुष दुबैले गम्भीरताका साथ लिएका छन् भने काला जातिका मानिसले समेत अवैध आप्रवासीहरू आएर आफ्नो जागिर खोसिरहेको पीडा व्यक्त गरिरहेका छन् ।

अनि महंगी लगातार बढेर कमाएको पैसा बचत गर्नै नसकिएको पीडाले पनि आम अमेरिकीहरूलाई पिरोलिरहेको छ । त्यसमाथि पछिल्लो तथ्यांकले अमेरिकामा जम्मा १२ हजार नयाँ रोजगारी थपिएको देखाएकाले बाइडन प्रशासन रोजगारी सिर्जना तथा महंगी नियन्त्रणमा असफल साबित भइरहेको निष्कर्ष मतदाताहरूले निकालेका छन् ।

यसको असर ह्यारिसलाई पर्ने देखिन्छ । उनले आफ्नो विजय भएमा अवसर अर्थतन्त्र (अपर्ट्युनिटी इकोनोमी) भित्र्याउने कुरा त गरिरहेकी छन् तर त्यसको बारेमा बहुसंख्यक अमेरिकीलाई बुझाउन सकेकी छैनन् । अनि उनी स्वयं बाइडन प्रशासनको अंग भएको नाताले अर्थतन्त्र सुधारमा प्रयास गर्न उनको पनि भूमिका हुनुपर्थ्यो र उनी त्यसमा असफल छिन् भनी मतदाताहरूले धारणा बनाएको देखिन्छ ।

अर्थतन्त्र सम्बन्धी जनताको गुनासोलाई थप बल पुग्नेगरी बाइडन प्रशासनले युक्रेन र इजरायललाई लाखौं डलर उपलब्ध गराइरहेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षालाई कुनै असर नपार्ने हजारौं माइल टाढाको युद्धमा किन यति धेरै पैसा खन्याउनुपरेको हो भनी अमेरिकी मतदाताहरू प्रश्न गरिरहेका छन् । त्यो पैसा अमेरिकामा रोजगारी सिर्जना, महंगी नियन्त्रण र संरचनागत सुधारमा लगाउनुपर्थ्यो भन्ने आवाज पनि चर्कै सुनिन्छ । ट्रम्पले आफूलाई युद्धविरोधी र अमेरिकाकेन्द्रित उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् र उनको त्यो अडानलाई मतदाताले समर्थन गर्ने सम्भावना छ ।

तर ट्रम्पको व्यक्तित्वले धेरैजसो अनिर्णित मतदातालाई बिच्क्याइरहेको छ । आफ्ना प्रतिद्वन्द्वी र विरोधीहरूलाई तुच्छ भाषा प्रयोग गर्दै होच्याउने उनको शैलीलाई मतदाताहरूले मन पराउने गरेका छैनन्। त्यसैले बाइडन प्रशासनका गलत नीतिहरूका कारण आजित भएर डेमोक्रेटिक पार्टीलाई पाठ सिकाउने धोको मतदाताहरूले पालिरहेको भए पनि ट्रम्पको अस्थिर स्वभाव, ठाडो एवम् अभद्र शैली र आत्मकेन्द्रित अभिव्यक्तिले मतदाताहरूलाई उनीप्रति आकर्षित गर्न रोकिरहेको छ ।

हुन त ट्रम्पले कामकाजी वर्गका अमेरिकीहरूको ध्यान आफूतिर खिच्न सफलता पाएका छन् । ऐतिहासिक रूपमा डेमोक्रेटिक पार्टीलाई कामदारहरूको दल मानिन्थ्यो भने रिपब्लिकनहरूलाई अभिजात वर्गको पार्टी ठानिन्थ्यो । तर सन् २०१६ मा ट्रम्पको उदयपछि उनले रिपब्लिकन पार्टीलाई अमेरिकाकेन्द्रित (आइसोलेशनिस्ट) र कामदार वर्गको पक्षमा बोल्ने दलका रूपमा उभ्याए ।

त्यतिखेरको चुनावमा पनि ट्रम्पले विश्वव्यापीकरण (ग्लोबलाइजेशन) का कारण रोजगारी खोसिएका अमेरिकीहरूको पक्षमा उभिएर उनीहरूको मत जितेका थिए । अहिले पनि उनी कामदारहरूको हितका लागि नो ट्याक्स अन टिप्स जस्ता विभिन्न योजना सार्वजनिक गरिरहेका छन् । ह्यारिसले पनि यस योजनालाई अपनाएकी छन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्प समर्थक कामदार वर्गका मानिसलाई घृणास्पद व्यक्तिहरूको समूह (बास्केट अफ डिप्लोरेबल्स) भनी गिल्ला गरेकी थिइन् र तिनै समूहले उनलाई निर्वाचनमा पराजित गरेको थियो । यसपालि जो बाइडनले ट्रम्प समर्थकहरूलाई फोहोरको डंगुर (गार्बेज) भनी चित्रित गरेर कमला ह्यारिसलाई अप्ठ्यारोमा पारिदिएका छन् ।

आफ्ना समर्थकहरूलाई बाइडनले फोहोर भनेपछि ट्रम्पले सफाइ कर्मचारीको पहिरन लगाउँदै फोहोर बोक्ने ट्रकमा फोटो खिचाएर कामदार वर्गको सहानुभूति बटुलेका छन् । त्यसका साथै उनले हजामको पसलमा गएर उनीहरूसँग कुराकानी गरेकाले पनि उनलाई त्यस वर्गको मत आउने देखिन्छ । अचम्म त, इलोन मस्क जस्ता संसारका सबभन्दा धनी व्यक्ति पनि ट्रम्पकै पक्षमा उभिएका छन् ।

तर ट्रम्प र ह्यारिसका यी सबै क्रियाकलापका बावजूद अमेरिकी निर्वाचनको परिणामलाई निर्धारित गर्ने गोप्य शक्तिशाली समूह छ । हतियार पूँजीवादका कारण शक्तिशाली भएको डीप स्टेट भनिने उक्त समूहले आफ्नो आदेश खुरुखुरु मान्ने व्यक्तिलाई जिताउन खोज्छ । खासै धेरै बुद्धिमत्ता देखाउन नसकेकी कमला ह्यारिस डीप स्टेटका लागि उचित उम्मेदवार हुन् ।

उता ट्रम्प भने कसैलाई नटेर्ने स्वतन्त्र व्यक्ति हुनुका साथै युद्धविरोधी पनि भएकाले डीप स्टेट उनलाई मन पराउँदैन । त्यसैले पहिलो कार्यकालभरि ट्रम्पले निरन्तर विरोधको सामना गर्नुपरेको थियो । त्यही कारणले गर्दा पनि ट्रम्पलाई यही वर्ष दुईपटक ज्यान मार्ने प्रयास गरिएको थियो । यसरी हेर्दा यस निर्वाचनमा ट्रम्पको समर्थन सूचकांक ह्यारिसको भन्दा केही बढी देखिएपनि डीप स्टेटले ह्यारिसलाई जिताउनका लागि भित्री खेल खेल्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।