सबै सरकारी कार्यालयमा सेयर कारोबारमा प्रतिबन्ध, सरकारी काम मात्र गर्न प्रधानमन्त्रीको अनुरोध
काठमाडौं । सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएको उल्लेख गरे ।
‘यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ ओलीले भनेका छन्,’यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ ।’
सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको प्रधानमन्त्रीको भनाइ छ । ‘सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ ओलीले भनेका छन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।
सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टिएमएस नचल्ने बनाउन निर्देशन दिएको थियो ।