सिंहदरबारभित्र सेयर कारोबार: टीएमएस बन्द गर्दै अख्तियार



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनेबेचमा रोक लगाउने तयारी गरेको छ ।

कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको हो ।

कार्यालय समयमा सरकारी कर्मचारीले सेयर कारोबार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउने गरी पत्राचार गर्न लागेको हो । अख्तियार स्रोतका अनुसार भोलि यसबारे पत्राचार हुँदैछ ।

सिंहदरबारभित्र कर्मचारीहरु कार्यालय समयमा काम छाडेर सेयर किनेबेचमा तल्लिन भएपछि सरकारी काम प्रभावित बन्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

कर्मचारी काम छाडेर सेयर कारोबारी बनेपछि सरकारको केन्द्रीय प्रशासनिक नियकाको कामको प्रभावकारितामा समेत असर गरेको छ।

पछिल्लो समय सेयर बजार बढ्दा कमर्चारी मोबाइल, ल्यापटप र कम्युटरमा नेप्से र टीएमएस चलाएर बस्ने गरेको उजुरी छ।

टीएमएसमा व्यस्त हुँदा कर्मचारीले टिप्पणी फाइल नलेख्ने, माग भएको राय सुझाव नदिने लगायतको प्रवृत्ति बढ्दै गएको भन्दै उजुरी परेपछि अख्तियारले मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्न लागेको हो ।

‘पछिल्लो समय सेयर बजार बढ्दा तथा घट्दा सिंहदरबारभित्र कर्मचारी त्यसैमा व्यस्त हुने गरेका छन्, ‘स्रोतले भन्यो, ‘सेयर बजार बढ्दा उत्साही हुने र घट्दा दुखि भएर काम नगर्ने प्रवृत्ति मौलाएको छ।’

कार्यालयको काम गर्नेभन्दा पनि सेयर कारोबार गर्ने क्रमलाई निरुत्साहित गर्ने अख्तियारले तयारी गरेको हो ।


क्लिकमान्डु