लेखा समितिले कुलमानसँग माग्यो टीओडी मिटरको डेटा, ५ दिनमा प्रतिवेदन बन्ने



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको डेटा मागेको छ । लेखा समितिको शुक्रबारको बैठकपछि प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो ।

सो आधारमा ५ दिनमा प्रतिवेदन तयार पारी अर्को बैठकमा उद्योगी र प्राधिकरणबीच विवाद सुल्झाउने निर्णय गरिनेछ ।

शुक्रबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उद्योगी व्यवसाय, नियामकीय निकाय विद्युत नियमन आयोगका पदाधिकारीलाई लेखा समितिले डाकेको थियो । बैठकको अन्त्यमा समितिले यस्तो निर्णय गरेको हो ।

समितिले आयोग र व्यवसायीलाई ४–४ प्रश्न गरेको थियो । यस्तै प्राधिकरण प्रमुख घिसिङलाई पनि प्रश्न गरेको थियो ।

बैठकको निर्णय गर्ने क्रममा लेखा समितिका सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की परेको थियो । त्यसै गरी समितिका सदस्यहरुसँग प्रमाण भए सचिवालयलाई उपलब्ध गराउन समेत सभापति ऋपिकेश पोखरेलले आग्रह गरेका छन् ।


क्लिकमान्डु