सुन तस्करी प्रकरणः सजिलो पे र पेवेलबाट खर्ब रुपैयाँ भुक्तानी कनेक्सनको नालीबेली



काठमाडौं । सुन तस्करीको भुक्तानी क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी तथा डिजिटल वालेट पेवेल नेपाल र सजिलो पे पेमेन्ट सजिलो पेमेन्टस्मार्फत् भएको देखिएपछि गरेको अनुसन्धानको क्रममा यी दुई वालेटबाट खर्ब रुपैयाँभन्दा बढीको भुक्तानी भएको खुलेको छ ।

सुन तस्करीमा संलग्न शिवकुमार शर्राफ र राजु खत्रीबीचको ह्वाट्सएपको कुराकानीमा रकम जम्मा गर्ने व्यक्तिको नाम स्पष्टसँग र जम्मा गर्दा स्रोत ‘रेमिट्यान्स’ लेख्न निर्देशन सुनिएको थियो ।

सिद्धार्थ अशोक गायक्वाड नाम गरेका व्यक्तिको संकटास्थित रिफाइनरी पसल खानतलासी गर्दा ९८ लाख रुपैयाँबराबरको ६ वटा भौचर भेटिए । यसैगरी राजु खत्रीको मोबाइलबाट १ करोड १० लाख रुपैयाँबराबरको १७ वटा, प्रशान्त बज्वाल्करकोमा १० वटा, धिरज दिनेश वैद्यको बाट ३७ वटा र गायक्वाडको बाट ४९ वटा भौचर भेटिए ।

सबै भौचर के प्रयोजनको लागि राखियो भन्ने अनुसन्धानको क्रममा ‘पेवेल र सजिलो पैसा डिपोजिट गर्ने’ भन्ने किसिमको कुराकानी भएको अडियो प्रहरीले फेला पार्‍यो ।

त्यसपछि भौचर अध्ययन गर्दा पेवेल नेपालको नाममा रकम डिपोजिट भएको पाइयो । पेवेल नेपालले नै डिपोजिट गरेको भौचर भेटियो तर त्यो भौचरको रकम दोस्रो व्यक्तिले दाबी गरेको देखियो ।

यदी रकम दाबी गर्ने व्यक्ति एजेन्ट, मर्चेन्ट र ग्राहक होइन भने सम्बन्धित सेवा प्रदायक जिम्मेवार हुनुपर्छ भन्ने जवाफ नेपाल राष्ट्र बैंकले दियो ।

यी ३ प्रकारबाहेकका व्यक्तिले वालेटको बैंक खातामा डिपोजिट गरेको पैसा तेस्रो व्यक्तिले निकाल्छ भने संस्था जवाफदेही हुनुपर्छ ।

सजिलो पे र पेवेल डिजिटल वालेट हुन् । रकम जम्मा हुँदा बैंकबाट ट्रान्स्फर भएको हुनुपर्छ भन्ने बुझ्छौं । कुनै पनि वालेटले भौचर जम्मा गरेपछि वालेटमा टपअप गर्दैनन् ।

पेवेलको नयाँ प्रणालीबाट ५५ अर्र्ब र पुरानोबाट ५ अर्ब रुपैयाँ टपअप भोचर लोड गरेर भएको छ । अर्थात्, ई–मनी बनाइएको छ ।

कसरी बनाइयो इमनी ?
यी कम्पनीले आफूले रेमिट्यान्स भित्र्याएको दाबी गदै आएका छन् । तर, विवरण अध्ययन गर्दा कुल व्यवसायको ११.७ प्रतिशतमात्र रकम रेमिट्यान्समार्फत् भित्रिएको देखियो भने ८३ प्रतिशत रकम भौचर प्रयोग गरेको प्राप्त भएको पाइएको छ ।

ई–मनी बनाउन बैंकमा केही नगद मौज्दात चाहिन्छ । ई–मनी जारी गर्ने हो भने बराबर रकम बैंक खातामा जम्मा हुनुपर्छ । दुबै वालेटको सेटलमेन्ट बैंक खाता कुमारी बैंकमा छ । कुमारी बैंकको सेटलमेन्ट खातामा जति मौज्दात रकम छ, ग्राहकलाई त्योभन्दा बढी भुक्तानी गर्न पाइँदैन वा एजेन्टलाई पठाउन पाइँदैन ।

अनुसन्धानको क्रममा पेवेल नेपालले सुरुका दिनमा सेटलमेन्ट खातामा भएको रकम बराबर ई–मनी जारी गरेको पाइएको छ । २०२३ डिसेम्बर १९ तारिख पछि पेवेलले राष्ट्र बैंकमा गलत रिर्पोटिङ गरेको देखिएको छ ।

पेवेलले २–३ करोड रुपैयाँ ई–मनी रहेको रिपोर्टिङ गरे । वास्तवमा उनीहरुले खातामा पैसा नै नराखी करोडौं करोड रकम ई–मनी जारी गरेका थिए ।

ई–मनी अवैध कारोबारमा संलग्न एजेन्टलाई भुक्तानी गर्थे । र एजेन्टले सोही रकमबाट कारोबार गर्ने गरेको पाइएको छ ।

वालेट सेवा प्रदायकले टपअप र युटिलिटी पेको सेवा दिने हो । तथ्यांकले टपअपबाट रकम प्राप्त नभएको देखिन्छ । अधिकांश रकम बैंक ट्रान्स्फरबाट पठाइएको छ ।

गज्जबको कुरा त के छ भने सेटलमेन्ट खाताबाहेकबाट ई–मनीको कारोबार गर्न पाइँदैन । तर, पेवेलेको ८६ अर्बको बिजनेसमध्ये ६७ करोड रुपैयाँको कारोबार सेटलमेन्ट खाताबाट भएको छ । बाँकी कारोबारका लागि सेटलमेन्ट खाता बाइपास गरिएको छ ।

पेवेलले गरेको कुल भुक्तानीको ०.७ प्रतिशतमात्र युटिलिटी पेमेन्टमा गएको छ । सबैजसो रकम बैंक ट्रान्स्फरबाट पठाइदिने गरेको अनुसन्धानबाट खुलेको छ ।

पेवेलका ८ ठूलो एजेन्टको कारोबार बाँकी साना १३ सयको भन्दा बढी देखिनु पनि निकै अस्वभाविक प्रहरीले मानेको छ ।

अर्कातर्फ अहिले आन्तरिक रेमिट्यान्स बन्द छ । तर, पेवेल नेपालमा क्लेम गरिएका भौचर अनुसन्धान गर्दा बिजनेसको नाममा ४० हजारवटा र रेमिन्ट्यान्सका नाममा ३३ हजारवटा कारोबार भएको छ ।

पेवेल नेपालका सिनियर कर्मचारीले एजेन्टलाई टेलिफोनमार्फत् क्रिप्टो, चोरी र वैदेशिक रोजगारीको पैसा नलिन निर्देशन दिन्थे । बाँकी जस्तो सुकै पैसा पनि स्वीकृत गर्दा हुन्छ भन्ने एजेन्टहरुले बयान दिएका छन् ।

पेवेलले गत मंसिरदेखि नेपाल राष्ट्र बैंकलाई मासिक रुपमा बुझानुपर्नेमा पठाएको छैन ।

सजिले पेले पनि ठ्याक्कै पेवेलकै नाममा काम गरेको छ । राष्ट्र बैंकमा रिपोर्टिङ लाखौंको गर्नु र काम करोडौंको गर्नु सजिलो पेको धन्दा हो ।

सजिलो पेको कुल कारोबारमध्ये रेमिट्यान्सबाट १ प्रतिशतमात्र कारोबार हुँदा भौचरबाट ९४ प्रतिशत र ४ प्रतिशत अनलाइन लोड गरेको देखिन्छ ।

यी कम्पनीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई नै गलत विवरण पठाएको खुलेको छ । सुन तस्करले पैसालाई सकेसम्म क्रिप्टो र नसके पेवेल तथा सजिलो पेबाट भुक्तानी गर्ने गरेको पाइएको छ ।

अस्ट्रेलियाबाट आएको रेमिट्यान्सः सुन तस्करीको पैसा हुन्छ रकम प्राप्त गर्नेलाई भुक्तानी
सजिलो पे र पेवेलबाट हुने भुक्तानी अस्ट्रलियाबाट नेपाल पठाएको रकम भएको पाइएको छ । अस्ट्रेलियाबाट नेपाल पैसा पठाउन सेन्ड मनी नेपाल र नमस्ते रेमिट्यान्स प्रयोग गर्नेको रकम सबै हुण्डीबाट आएको खुलेको छ ।

यी कम्पनी रेमिट्यान्स पठाउन अनुमति पाएका कम्पनी होइनन् । अस्ट्रेलियाबाट रकम पठाउन चाहनेले यी कम्पनीलाई अस्ट्रेलियन डलर दिन्थे । ती कम्पनीले नेपालमा पैसा पठाउन रेमिट्यान्स च्यालन प्रयोग गर्नुको सट्टा मेसेज पठाउँथे । तर, नेपालमा जो जसलाई भुक्तानी दिनु भनेको छ, उसैको खातामा बैंक ट्रान्स्फर गरेर पैसा पठाइदिन्थे । यसरी नेपालमा भुक्तानी भएपछि र भनेअनुसार पैसा पाएपछि कसैलाई पनि कुन माध्यमबाट आयो–गयो भन्ने मतलब हुने भएन ।

सो रकम भुक्तानी एजेन्टमार्फत् हुने गरेको खुलेको छ ।

नेपालमा रकम प्राप्त गर्नेसँग सोधपुछ गर्दा आफूलाई ‘अस्ट्रेलियाबाट सेन्ड मनी नेपाल, नमस्ते रेमिट्यान्समार्फत् पैसा पठाएको’ जवाफ दिएका थिए ।

यसरी, अस्ट्रेलियाबाट सेन्ड मनी नेपाल, नमस्ते रेमिट्यान्समार्फत् रेमिट्यान्स भनिएको रकम पाउनेले तस्कर गरेको सुनको रकम पाएको खुलेको छ ।


रोविन पौडेल