६० किलो सुन तस्करी प्रकरणका २० जना पक्राउ, २६ अझै फरार



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानपछि २० जना पक्राउ परेका छन् । २६ जना अझै फरार छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएसँगै यो सार्वजनिक भएको हो । सिआईबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

सिआईबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको हो । यसअघि ३ अर्बभन्दा बढी माग दाबी लिएर २५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । २४ जना र्पुपक्षका लागि थुनामा रहेका छन् । अहिले ब्यूरोले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ ।

५ वटा डमी कम्पनीबाट पानी तान्ने हेन्ड पम्प, मोबाइलको ब्याट्री, ब्रेक सुमा ल्याउने गरेको पाइएको छ । ३ हजार १९४ किलो सुन अवैध पैठारी भएको छ । यसको बिगो दाबी रकम ३० अर्ब ८२ करोड रुपैयाँको अवैध सुन चोरी पैठारी भएको पाइएको छ ।

प्रहरीका अनुसार राकेश सिंह लगायत तीन जना व्यक्तिको पहिचान भइसकेको छ । ५ जना विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सुमन खरेल लगायत समूह पहिले नै पक्राउ परेका थिए ।


क्लिकमान्डु