वालेटको लाइसेन्स लिएर अवैध धन्धा, ब्रेकसुमार्फत सुन तस्करीको १ खर्ब रुपैयाँ पेवेल र सजिलो पेबाट भुक्तानी

कनेक्ट आईपीएस प्रयोग गरेर बैंकको मुख्य खातामा रकम जम्मा, ६ जना पक्राउ



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत लिएका दुई कम्पनीले अरु नै धन्धा गरेर पैसा कमाउने गरेको खुलेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति दिएका पेवेल र सजिलो पे सुन तस्करी र हुण्डी गरेर आर्जन गर्ने गरेको पाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ब्रेकसुमार्फत सुन तस्करीबारे गरेको अनुसन्धानको क्रममा यी दुई कम्पनी पनि तानिएका हुन् ।

सुनको भुक्तानी यी वालेटमार्फत् हुने गरेको अनुसन्धानको क्रममा पाइएको छ । सो कार्यका लागि यी कम्पनीले एजेन्टहरुको उपयोग गर्ने गर्थे ।

ब्रेकसुमार्फत् गरिएको सुन तस्करीको दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा पक्राउ परेकामाथि सोधपुछ गर्दा पेवेल र सजिलो पे जोडिएका सीआईबीले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार १ वर्षको अवधिमा दुई कम्पनीले कुल १ खर्ब रुपैयाँ बढीको कारोबार गरेका छन् । त्योमध्ये अधिकांश रकम सुनको भुक्तानी गर्न प्रयोग भएको पाइएको छ । पेवेलेको १५ सय एजेन्टमध्ये ८ एजेन्ट यो काममा संलग्न रहेको पाइएको छ ।

सजिलो पेले वर्षमा २६ अर्बको कारोबार गरेको छ ।

प्रहरीले पेवेलका अध्यक्ष भीम तिमल्सिना, नायव प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य, सञ्चालक सुरज शमशेर जवरा तथा सजिलो पेका प्रमुख कार्यकारी अधिकृत कश्यप मानन्धर, सञ्चालक सुशील ज्याकिबञ्जा र फुन्सुक डाग्पालाई पक्राउ गरेको छ ।

यस्तै पेवलका एजेन्टहरु अरुण यादव र जेके मनी ट्रान्स्फरका सञ्चालक लालबहादुर कुँवर पनि अनुसन्धानका क्रममा छन् ।
कुँवर एक्लैले ३ अर्ब ३४ करोड र यादवले १ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।

यादव बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक हुन् । उनले पेवेलमार्फत १ अर्ब १७ करोड र सजिलो पेमार्फत् ३ करोडको कारोबार गरेको छन् । कुँवर बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक हुन् ।

प्रहरी अनुसन्धानले सुन कारोबारको रकम हुन्डीमार्फत् विदेश पठाउने गरेको निकर्ष निकालेको छ । एजेन्टहरुले विदेशबाट नेपाल पैसा पठाउन चाहनेको रकम संकलन गर्थे र सो रकमलाई डिजिटल मुद्रामा रुपान्तरण गरेर उतै सेटल गराउँथे ।

नेपालमा भुक्तानी दिन एजेन्टहरु प्रयोग हुन्थे । सुन तस्करीको काम गर्नेहरुलाई यी कम्पनीमार्फत् भुक्तानी दिइन्थ्यो । अर्कातर्फ यी दुई वालेटमा रकम कसरी जम्मा हुन्थ्यो भन्ने अनुसन्धान गर्दै जाँदा नयाँ तथ्य भेटिएको छ ।

यी कम्पनीको विभिन्न बैंकमा खाता छन् । ती खातामा प्रतिकारोबार १० लाख रुपैयाँभन्दा कमका दरले नगद जम्मा हुने गरेको पाइएको छ । ती खाताको रकम साँझमा कनेक्ट आईपीएस प्रयोग गरेर मुख्य खातामा पैसा पठाइन्थ्यो ।

सीआईबी स्रोतका अनुसार दुईमध्ये एउटा वालेटको मुख्य खाता एभरेस्ट बैंकमा थियो । १० लाख रुपैयाँभन्दा बढी नगद जम्मा गर्दा शंकास्पद कारोबार रिपोर्ट गर्नुपर्ने भएकाले १० लाखभन्दा कम रकम जम्मा गरिन्थ्यो ।

यसरी जम्मा भएको रकम एजेन्टमार्फत् भुक्तानी हुन्थ्यो ।

सुन तस्करीको भुक्तानी दिन आफूले वालेट सञ्चालनका लागि लाइसेन्स दिएको कम्पनीबाट हुन थालेको पाएपछि नेपाल राष्ट्र बैंकले पेवेल र सजिलो पेको सबै खाता रोक्का गरेको छ ।

दुई साताअघि नै केन्द्रीय बैंकले उनीहरुले गरिरहेको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको भन्दै खाता रोक्का गरेको हो ।

यी कम्पनीले आफ्नो खातामा पैसा जम्मा गराएर एजेन्टमार्फत् भुक्तानी दिँदा कमिसन लिने गरेको पाइएको छ । एउटा प्रयोजनका लागि इजाजतपत्र लिएर अर्कै काम गरेर पैसा कमाउने खेलोमा लागेपछि अहिले केन्द्रीय बैंक चनाखो बनेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदनअनुसार अहिले सीआईबीले करिब ६१ किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ मा विमानस्थल भन्सार बाहिरबाट मोटरसाइकलको ब्रेकप्याड (ब्रेक सु) मा लुकाएर ल्याएको ६० किलो ७ सय ग्राम सुन बरामद गरेको थियो । प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो चरणको अनुसन्धान सकेर भदौमै मुद्दा दायर गरिसकेको छ ।

तर अनुसन्धानमा कमजोरी भएको भन्दै आचार्य नेतृत्वको जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगले पनि अनुसन्धानमा लापरबाही भएको ठहर गरेको थियो । आयोगकै प्रतिवेदनअनुसार तथा फरार व्यक्तिलाई पक्राउ गर्दै थप तथ्य बटुलेको हो ।

जसअनुसार प्रहरी ३२ टन सुन तस्करीमा संलग्न गिरोहले नेपालमा पेवेल र सजिलो पे तथा विदेशमा विभिन्न एजेन्ट परिचालन गरेर हुण्डीमार्फत् भुक्तानी राफसाफ गर्ने गरेको निष्कर्षमा पुगेको छ । ब्रेकसुमार्फत् ६१ किलो सुन तस्कर गर्ने समूहले यति धेरै सुन तस्करी गरेको प्रहरीको ठहर छ ।


रोविन पौडेल