सिन्धुपाल्चोकमा तितेपातीबाट तेल उत्पादन सुरु, प्रतिलिटर १२ हजार मूल्य



काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु भएको छ ।

ईन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिए ।

तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले बताए ।

‘अहिले यो तेलको उच्च माग छ,’ उनले भने,’स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन् पहिला त्यसको पहिचान हुन सक्नुपर्ने र म्यापिङ गर्न सकिए धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ ।’

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्ने बताए ।

वडाअध्यक्ष आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आयआर्जनमा वृद्धि हुने लक्ष्य राखिएको बताए ।

घरेलु रक्सी बनाएको जस्तै तरिकाले यो तेल उत्पादन हुन्छ । लोकल रक्सी बनाउँदा भाडामा बस्ने भए पनि तितेपातीको तेल बनाउँदा उडेर जान्छ । त्यसैले ‘हाइड्रो डष्टिलेट’ नामको मेसिनबाट यसको तेल उत्पादन हुन्छ ।

नेपालमा १२ प्रकारको तितेपाती पाइन्छ । १ हजार किलो तितेपातीबाट १ केजी तेल उत्पादन हुन्छ ।

नुवाकोटमा तितेपातीको तेल उत्पादन गर्दै आएका ललितपुरका उत्तम बज्रचार्यका अनुसार तितेपाती संकलन, अन्य व्यवस्थापनको खर्च जोड्दा करिब १५ लाख रुपैयाँ लगानी चाहिन्छ । १५ लाखको लगानी गर्दा वार्षिक रूपमा ३० लाख बढी नाफा हुने उनीको भनाइ छ ।

तितेपाती फुल्नु वा दाना लाग्नुभन्दा पहिला नै तेल बनाउन प्रयोग गर्नुपर्छ । सामान्यतया वैशाखदेखि भदौ–असोजसम्म यसको तेल बनाउने उपयुक्त समय हो । हिउँदयाममा भने, फुल्ने तथा तितेपातीको बिरुवा मर्न थाल्छ र तेल निकाल्न सकिँदैन ।

तितेपातीको तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । त्यस्तै जीउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुने बताइन्छ । चोटपटकबाट बगेको रगत बन्द गर्न तितेपाती बहुउपयोगी हुन्छ ।

त्यस्तै डण्डिफोरको निराकण, यौनांगमा देखा पर्ने छालासम्बन्धी समस्याको पनि हुन्छ उपचार गर्न सकिन्छ । सामान्यतया कपालमा तेल लगाएको जसरी उक्त तेलको प्रयोग गर्नुपर्छ । तितेपातीको तेलमात्रै होइन पात नै पकाएर खाए पनि धेरै रोग निको हुने बज्राचार्य बताउँछन् ।


क्लिकमान्डु