जसले वर्षमा १ करोडको तितेपाती जापान पठाउँछन्



‘जाबो तितेपाती पनि ८० रुपैयाँ ?’ ईश्वर बलामीलाई तितेपाती बोकेर आउनेले अक्सर सोध्ने प्रश्न हो यो ।

उनीहरुले आफूसँगै ल्याएको तितेपाती बलामीलाई बेच्छन् र छक्कपर्दै पैसा लिएर फर्किन्छन् । बलामीले यसरी आफूँकहाँ लिएर आउनेहरुलाई एक केजी तितेपाती बराबर ८० रुपैयाँ दिन्छन् । नत्र उनी केजीको ६० रुपैयाँ दिएर बिक्रेताकै घरमा पुगेर तितेपाती किन्छन् ।

तितेपातीको गुणस्तर हेरेर उनले ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म मूल्य तोकेका छन् । ‘पात पछाडि जतिधेरै भुवा भयो उति गुणस्तर मानिन्छ, यस्तोखालको तितेपाती ल्याउनेसँग हामी केजीको हिसाबमा किन्छौँ’ बलामी भन्छन् ।

सितापाइलामा रहेको योमासो प्राइभेट लिमिटेडमा अचेल तितेपाती ल्याउने र पैसा लानेहरुको चहलपहल बाक्लिन थालेको छ । अधिकांश स्थानीय बासिन्दा हुन्छन् । जो दिनभर डाँडाकाँडा र झाडीमा चहारेर भुवादार तितेपाती योमासोमा ल्याउँछन् । गएको केही वर्ष देखि स्थानीयको दैनिकी नै बनेको छ, तितेपाती खोज्ने ।

काठमाडौँमा डाँडाकाँडा र झाडीमै पाइने भए पनि उपत्यका बाहिर भने ईश्वरले किसानहरुलाई खेती नै गराएका छन् । धादिङ, नुवाकोट, संखुवासभा, पाँचथर, इलामको फिदिम, ताप्लेजुङ लगायतका स्थानका किसानबाट उनले तितेपाती किन्दै आएका छन् । सो क्षेत्रमा ईश्वरले किसानलाई व्यवसायीक खेती गर्न लगाएर उनीहरुबाट तितेपाती किन्दै आएका हुन् ।

विभिन्न जिल्लाबाट वर्षमा ८० टनसम्म तितेपाती उनले संकलन गरिरहेका छन् । ‘गाउँमा त कति जलायौँ हिसाबै छैन, खैर पैसा पो जलाएर गरिब भयौँ भन्दा रहेछौँ हामी त’, तितेपातीमा पैसा देखेको झण्डै ३ दशक पछि भेटिएका ईश्वर गुनासो गर्छन् ।

बालापनमा लौरोले फाँड्दै हिँडेको, ढडेलो लगाएर सखाप पारेको तितेपातीलाई अचेल उनी भिरपाखामाा खोज्दै हिँड्छन् । आफूसँगै २० जनालाई पनि तितेपाती खोज्न लगाउँछन् ।

संकलन गरेको तितेपाती सुरुमा सुकाइन्छ । बिक्रेताले नै सुकाएर ल्याउने गरेकोले प्रशोधनमा सजिलो भएको उनी बताउँछन् ।

सुकेको तितेपतीका पातलाई मेसिनमा हालेर सफा गरेर प्रशोधन गरिन्छ । प्रशोधन भएर निस्किँदा तितेपातीले मोक्जाको स्वरुप पाइसकेको हुन्छ ।

जापानमा प्रसिद्ध मानिएको तितोपातीको धुलोबाट बनाइने औषधी मोक्जालाई ईश्वर २० जना सहयोगीबाट स–साना कागजका लाम्चा सिन्का आकृतिमा प्याकेजिङ गर्छन् । यसरी प्याकेजिङ गरिएका मोक्जा ईश्वरले वर्षेनी लाखौँ मूल्यमा जापान निर्यात गर्दै आएका छन् । गत वर्षमात्रै ईश्वरले ४० लाख रुपैयाँ बराबरको मोक्जा जापानमा विक्री गरे ।

ईश्वर अकुपेन्चरिष्ट हुन् । अकुपंचरमा प्रभावकारी माानिने औषधी मोक्जालाई उनी नेपालमै पनि प्रयोग गरिरहेका छन् । सितापाइला रहेको दिव्य सञ्जिवनी अस्पताल सञ्चालन गरेर उनले तितेपातीबाट उपचार गराइरहेका छन् ।

तितेपातीमा औषधीजन्य गुण भएको आयुर्वेदमा पनि उल्लेख गरिएको छ । ग्रामिण क्षेत्रमा तितेपातीको विभिन्न रोगको उपचारमा प्रयोग हुने गरेको भए पनि व्यवसायीकता बारे भने नेपालमा खासै चर्चा हुने गरेको छैन ।

लामो अनुसन्धानपछि तितेपातीबाट बनेको औषधीबाट मलेरिया निको पार्न सकिने खोज चीनले पहिलो पटक सन् २०१५ मा पत्ता लगायो । त्यसपछि अन्तर्राष्ट्रिय रुपमा यसको महत्व झन् बढदै गएको हो ।

तितेपातीबाट मलेरिया निको पार्न सकिने खोजका लागि चीनले नोबेल पुरस्कारसम्म जित्न सफल भयो । विभिन्न खाध्यान्नलाई बिग्रन नदिन र किरा लाग्नबाट बचाउन अहिले पनि परम्परागत रुपमा गाउँघरका किसानहरु तितेपाती प्रयोग गर्छन् ।

भ्रमणले चिनायो तितेपाती

अकुपंचर उपचार विधि पढिरहेका ईश्वर सन् १९९३ सालमा तालिमका लागि जापान पुगे । तीन महिनाका लागि गएका उनले जापानमै भइरहेको अन्तर्राष्ट्रिय अकुपंचर प्रदर्शनीमा सहभागीता जनाए ।

‘विदेशमा महंगा औषधी र नयाँ आविस्कार गरिएका औषधीहरु होलान् भनेको हाम्रै गाउँघरमा कुहिरहेका तितेपाती पो देखेँ,’ तितेपाती देखेपछि उनी सोधखोज गर्न थाले । यतिबेलासम्म तितेपातीको पात मात्रै देखेका उनले मोक्जाको रुपमा औषधी बन्नेकुरा चाल पाएका थिएनन् । ‘मलाई मोक्जा शब्द थाह थियो यो चीनको पुरानो उपचार विधिमा प्रयोग गरिन्थ्यो’उनी सम्झन्छन्।

त्यसपछि उनी तितेपाती प्रशोधन गरेर मोक्जा बनाउने जापानिज कम्पनी योमासोमा पुगे । जहाँ उनले तितेपातीको गुणस्तरको पहिचान गर्नेदेखि प्रशोधन कसरी गर्ने भन्ने बारे सिक्न पाए । ‘त्यहाँ हाम्रो गाउँघरमा भएको तितेपातीको पातबाट भुवा निकालिदो रहेछ’ उनी भन्छन् । भुवालाई प्रशोधन गरेर धुलो बनाएपछि त्यसले मोक्जाको स्वरुप पाउने ईश्वरले थाहा पाए ।

‘त्यहाँ मोक्जाको माग अत्याधिक रहेको थाह पाएपछि मैले नेपालमा मोक्जा बनाउने सोच बनाएँ’ उनले भने ।

तीन महिनाको तालिम सकिएलगत्तै नेपाल फर्किएका ईश्वर काठमाडौँमै भेटिने तितेपाती संकलनमा लागे । काठमाडौँका अधिकांश नाली तथा झाडीहरुमा भुवादार तितेपाती पाइएपछि उनले गुणस्तर मापन गर्न सुरुमा जापान नै पठाए ।

नेपालमा २२ प्रकारका तितेपाती पाइने उनी बताउँछन् । जसमध्ये पातको तल पट्टी वा एकतर्फ सेतो भुवा जस्तो देखिने तितेपाती मोक्जा बनाउन प्रयोग गरिन्छ ।

‘नेपालको तितेपाती अन्य देशहरुको भन्दा गुणस्तरीय हुने रहेछ, त्यो थाह पाएपछि नै हो मैले व्यवसायीक रुपमै मोक्जा उत्पादन सुरु गरेको,’उनी सुनाउँछन् । परीक्षणका लागि तितेपाती पठाएको कम्पनीले नै बलामीबाट नेपाली मोक्जा किन्ने भयो ।

जापानबाट फर्किएपछि सन २०११ मा सितापाइलामा उनले जापानी कम्पनी यमासोकै नाममा कम्पनी खोले ।

सुरुका वर्षहरुमा बाटोभरी पाइने तितेपाती संकलन गर्न समस्या हुँदा उनले मोक्जा माग अनुसारको उत्पादन गर्न सकेनन् । ‘काम नहुनेहरुलाई तितेपाती संकलन गरेर ल्याउँ पैसा दिन्छु भन्दा पागल भयो भन्दै हिँड्थे,’उनी सम्झन्छन् । सुरुमा पागल ठानेर उनको प्रस्ताव नमान्नेहरु अहिले बलामीका नियमित बिक्रेता बनेका छन् ।

यमासो कम्पनीले गत वर्षमात्रै ८० टन तितेपाती संकलन गरेर मोक्जा उत्पादन गर्यो । जसबाट सोही वर्ष ४० लाख बराबरको मोक्जा जापानमा निर्यात भयो । ‘हामीले वर्सेनी ३० देखि ४० लाख नेपाली रुपैयाँको मोक्जा जापान पठाउँदै आएका छौँ ।’

पछिल्लो समय एक करोड रुपैयाँभन्दा बढीको मोक्जा माग भएको उनले बताए । तर उत्पादन गर्न नसक्दा निर्यात गर्न समस्या भइरहेको उनको भनाइ छ ।

माग बढ्न थालेपछि ईश्वरले उपत्यका बाहिरका किसानलाई व्यवसायीक तितेपाती खेती गराइरहेका छन् । उनले खेतमै पुगेर संकलन गर्ने र काठमाडौँको सितापाइलामा रहेका योमासोको परिसरमा मोक्जा तयार पार्दै आएका छन् ।

नेपालमा पनि मोक्जाबाट उपचार

जापानमा मोक्जाबाट हुने उपचारको बजार देखेर लोभिएका बलामीले नेपालमा पनि उपचार गर्ने व्यवस्था मिलाए । उनले योमासो पछि दिव्य सञ्जिवनी अस्पताल खोले ।

जहाँ तितेपातीबाट बनेको मोक्जालाई औषधीको रुपमा प्रयोग गरेर उपचार गरिन्छ । मोक्जालाई नसा,हड्डी तथा हाडजोर्नी, बाथ, नसा च्यापिएको लगायतका नसर्ने रोगहरुको उपचारमा प्रयोगका गरिन्छ ।

बलामी आफैं अकुपंचरिष्ट हुनाले पनि उनी मोक्जालाई प्रभावकारी औषधी मान्छन् । यसको प्रयोग गरेर दैनिक २० जनाको अकुपंचर बिधिबाट उपचार गराउँदै आएको उनी बताउँछन् ।


सम्झना घिमिरे