आरजू देउवालाई १ घन्टा भए पनि थुन्छु भन्दै जब गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न प्रहरी पठाए…



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद आरजू राणा देउवालाई १ घन्टा भए पनि पक्राउ गरेर थुन्ने गृहमन्त्री रवि लामिछानेको हठले सत्ता गठबन्धन नै टुटेको छ । रास्वपा उपसमापतिसमेत रहेका स्वर्णिम वाग्ले लगायतको उक्साहटमा गृहमन्त्री लामिछानेले आरजूलाई पक्राउ गर्न खोजेको रास्वपाकै नेताहरु बताउँछन् ।

गृहमन्त्री लामिछानेको ठाडो निर्देशनमा टीकापुर जग्गा घोटाला प्रकरणमा जोडेर आरजुलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआबी)को टोली शनिबार देउवा निवास बुढानिलकण्ठ पुगेको थियो ।

वाग्लेलगायत नेताको उक्साहटमा रविले टोली खटाएको स्रोत बताउँछ । देउवापत्नी भ्रष्ट रहेको आम जनमानसको बुझाइ रहेको भन्दै उनीहरूले रविसमक्ष आरजुलाई थुन्न सके कांग्रेस सभापति देउवासँगै पार्टी पनि कमजोर हुने र रास्वपाको लोकप्रियता र जनविश्वास पनि वृद्धि भइ पार्टीलाई लाभ हुने भनेर कन्भिन्स गराएका थिए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा गृहमन्त्री लामिछानेले सीआईबीको टोली परिचालन गरेका थिए ।

सीआईबीको टोलीले देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरेर सवारीसाधन आवतजावत रोकेर घेराबन्दी गरेको थियो । यसैबीच एक प्रहरी अधिकृतले देउवाका स्वकीय सचिव भानु देउवालाई खबर गरेका कारण आरजू गिरफ्तारी हुनबाट जोगिइन् । प्रहरीको टोली फर्कियो ।

त्यसपछि आरजुले केपी ओलीसँग समय लिएर असार १५ गते शेरबहादुर देउवासहित भेटिन् । प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री लामिछाने, अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसँग रिसले चुर भएका ओली देउवा दम्पतीको प्रस्तावमा राजी भए।

झन्डै ३ घण्टा भएको छलफलमा प्रचण्ड नेतृत्वको सरकार बदलेर आलोपालो नेतृत्व गर्ने समझदारी भएको नेताहरु बताउँछन् । गृहमन्त्रीजस्तो पदमा बसेको व्यक्तिले स्टण्डबाजी गरी पूराना राजनीतिक दल र तीनका नेताको चरित्र हत्या गरेकाले तत्कालै हटाउनु पर्ने बारेमा छलफल भएको थियो ।

‘रविजीले प्रधानमन्त्री र प्रहरी प्रमुखलाई समेत थाहा नदिई आरजूलाई पक्राउ गर्न खोजेका रहेछन्,’ ओली निकट रहेका एक मन्त्रीले भने,- ‘अहिलेसम्म प्रहरीले आरजूलाई पक्राउ गर्नुपर्ने प्रष्ट कारण खुलाएको छैन । तर, लामिछानेले इगो साँध्न पदको दुरुपयोग गरेको प्रष्टै बुझेपछि अध्यक्षज्यू यो सरकार बदल्न तयार हुनु भएको हो ।’

टीकापुर जग्गा अनियमितता र सरकारी दस्तखत छाप किर्तेमा स्थलगत अनुसन्धानका लागि सीआईबीको एक टोली टिकापुरमै छ।

‘अहिलेसम्मको अनुसन्धानले आरजूको संलग्नता देखिएको छैन । तर, उहाँसँग नजिक मानिएका मान्छेहरु चाहिँ संलग्न देखिन्छन्,’ सीआईबी स्रोतले क्लिकमान्डुसँग भन्यो ।

टीकापुरमा आरजुको नाममा ३.७ कट्ठा जग्गा रहेको छ। तर, उनले भने प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले त्यो जग्गा किनेको दाबी गर्दै आएकी छन् ।

टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गामा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा पदाधिकारीहरूविरुद्ध मुद्दा लगिसकेको छ।

टीकापुर जग्गा घोटालाबारे अनुसन्धान भइरहेको र फाइल खोलिने बताउँदै आएका गृहमन्त्री लामिछानेले आफू निकटहरूसँग १ घण्टा भए पनि आरजुलाई थुन्ने बताउँदै आएका थिए ।

एमाले-कांग्रेसको नयाँ गठबन्धन बन्ने भएपछि गृहमन्त्री लामिछानेले ‘कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो होला। यति पनि बुझ्न सकिँदैन र ?’ भन्ने प्रतिक्रिया दिनुले पनि उनले आरजूलाई पक्राउ गर्न लागेको भनेर प्रष्ट संकेत गरेका छन् ।

आफू सहकारी ठगीको अभियोग खेपिरहेका लामिछानेले सरकार गठन भएको चार महिनासम्म देखाउन लागक कुनै काम गरेका थिएनन् । तर, सरकार ढल्ने देखेपछि उनले आरजूलाई पक्राउ गरेर त्यो कारणले आफूलाई पदबाट हटाइएको भन्दै प्रचार गर्न खोजेको कांग्रेस र एमालेका नेताहरुको विश्लेषण छ ।

‘यो सरकार कसैका कारणले ढलेको होइन, हाम्रै मन्त्रीज्यूहरुको अपरिपक्कता र गैरराजनीतिक स्टण्डबाजीले ढलेको हो,’ ती मन्त्रीले भने ।


क्लिकमान्डु