आइएमई ग्रुपले किन्यो सस्तो डिल, अनलाइन सपिङमा आक्रामक विस्तारको रणनीति बनाउँदै



काठमाडौं । नेपालको व्यवसायीक घराना आइएमई ग्रुपले अनलाइन सपिङ प्लेटफर्म सस्तोडिल किनेको छ । आइएमई ग्रुपले सस्तोडिलको बहुमत सेयर खरिद गरेर साउनदेखि औपचारिकरुपमा सेवा दिने गरी तयारी गरिरहेको छ ।

क्लिकमान्डुलाई प्राप्त जानकारीअनुसार आइएमई ग्रुपले सस्तोडिलको ७० प्रतिशत सेयर खरिद गरेको छ । यो कम्पनीले डोल्मा इम्प्याक्ट फण्डको सस्तोडिलमा रहेको ६० प्रतिशत सेयर खरिद गरेको हो । आइएमईले सन् २०२२ मै ५ करोड रुपैयाँ लगानी गरेर १० प्रतिशतको हिस्सेदार भएको सस्तोडिलमा थप लगानी गरेर बहुमत सेयरको स्वामित्व लिएको हो । डोल्माको सस्तोडिलमा रहेको सबै सेयर आइएमई ग्रुपले खरिद गरेर बजारमा आक्रामक सेवा विस्तारको तयारी थालिसकेको छ ।

स्रोतकाअनुसार डोल्माले सस्तो डिलमा लगानी गरेको ३० करोड रुपैयाँको सेयर आइएमई ग्रुपलाई बेचेको छ ।

आइएमईले डोल्माको सेयर खरिद गरेपछि सस्तोडिलमा उक्त कम्पनीको ७० प्रतिशतको सेयर स्वामित्व पुगेको छ । बहुमत सेयर खरिद गरेको आइएमई ग्रुपले अब सस्तोडिललाई रिब्राण्डिङ गरेर सञ्चालन गर्ने भएको छ । सस्तोडिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमुन थापाले डिसेम्बर २०२३ मा कार्यकारी प्रमुखबाट राजीनामा दिएपछि नेपालकै पहिलो अनलाइन सपिङ सस्तोडिल बन्द भएको थियो ।

कोभिडपछि अनलाइन सपिङको बजार बढ्दै गएको भए पनि सीमित क्षेत्रमा मात्रै सेवा दिनुपर्ने र कोभिडका कारण थलिएको व्यवसाय उठ्न नपाउँदै सस्तोडिलको सेवाको दायरा खुम्चन थालेको थियो । व्यवस्थापनको कमजोरी र प्रतिस्पर्धी बजारका कारण धराशायी भएको सस्तोडिलमा यसअघि नै आइएमई ग्रुपको त्यतिबेलाको मूल्यांकन अनुसार १० प्रतिशतको हाराहारीमा सेयर थियो । यो कम्पनीले थप लगानी गरेसँगै अब सस्तोडिललाई आक्रामक रुपमा अगाडि बढाउने भएको छ । बहुमत सेयर खरिद गरेको आइएमई ग्रुपले सस्तोडिल चलाउने भएपछि यसका अरु लगानीकर्ता पनि उत्साहित भएका छन् ।

सस्तोडिल छोडेका यसका संस्थापक अमुन थापाको पनि १० प्रतिशत सेयर छ । यो कम्पनीमा रमेश कर्पले टेलिभेञ्चर कम्पनीमार्फत सन् २०१६ मै २ करोड रुपैयाँ लगानी गरेको छ । यो कम्पनीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआईएमबी एस क्यापिटलको १ करोड लगानी छ । सस्तो डिलमा, आइसीटीसीसहितका अरु कम्पनीले पनि लगानी गरेका छन् ।

सन् २०११ मा अमुन थापाले स्थापना गरेको नेपालकै ठूलो अनलाइन प्लेटफर्म सस्तोडिलल दराजको प्रवेशसँगै व्यवस्थापमा चुक्दै गएको कारण बजारमा टिक्न अहज भएको थियो । सन् २०१८ मा अलिबाबाको प्रवेशपछि नेपालमा दराज नामबाट सुरु भएको अनलाइन सपिङसँग अरु कम्पनीले प्रतिपर्धा नै गर्न नसक्ने अवस्था बन्दै गयो ।

दराजले शुरुवातका दिनदेखि नै अधिक छुट दिएर आक्रामक बजार विस्तार गर्दै गयो । सस्तोडिलको प्रवेशपछि नेपालमा विस्तारै अनलाइन प्लेटफर्मको सुरुवात भइरहेको भए पनि बजारलाई नियन्त्रण्मा लिने काम भने दराजले गर्न सफल भयो ।

विश्वकै ठूलो अनलाइन प्लेटफर्म र आधुनिक प्रविधिमा सेवा दिन थालेको दराजले नाफाको परवाह नै नगरी अरुलाई विस्थापित गरेर आफैं स्थापित हुने रणनीति बनायो । त्यही रणनीतिमा दराज सफल हुनु नै नेपालमा चल्तीका अरु अनलाइनको व्यापार सुक्नु पनि हो । पछिल्लो समय बजारमा दराजसँग प्रतिस्पर्धी अनलाइन नै नभएको र साना तथा स्वरोजगार अनलाइन भने स्वतस्फूर्त रुपमा चलिहरेहेको देखिन्छ ।

सस्तोडिलले सन् २०१९ नेपालको अनलाइन सपिङमा विदेशी लगानीको रुपमा डोल्मा इम्प्याक्ट फण्डलाई भित्र्याएको थियो । ५ करोडको लगानीमा डोल्मा भित्रिएपछि व्यवसायीक गति लिएको सस्तोडिलमा यसको लगानी ३० करोड पुगेको थियो । सन् २०२२ मा ५ करोड रुपैयाँ लगानी गरेर आइएमई ग्रुपले समेत १० प्रतिशत सेयर खरिद गरेको थियो भने सोही वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइएमबी एस क्यापिटलले पनि १ करोड रुपैयाँ लगानी गर्यो ।

सस्तोडिलले नेपालमा मात्रै नभएर नेपाल बाहिर जाने योजना अनुसार भारतीय बजारमा सेवा दिने उद्देश्यले फ्लिप कार्डसँग सहकार्य गरेको थियो । फ्लिप कार्ड नेपालमा आएसँगै भारतीय बजारमा पनि नेपाली प्रडक्ट राख्ने काम सस्तोडिलमार्फत भएको थियो ।

सन् २०२२ सम्ममा ४०० जनासम्मलाई रोजगारी दिन सफल भइसकेको सस्तोडिलले बजारको आवश्यकता अनुसार लगानी गर्न नसक्दा र प्रतिस्पर्धी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि विस्तारै बजार घट्दै गयो । क्षमताभन्दा बढीको अर्डर आउन थाल्दा गर्न नसकेको व्यवस्थापले बजारमा स्थापित हुनुभन्दा पनि विस्थापित हुनुपरेको सस्तोडिलका एक लगानीकताको बुझाइ छ ।

सन् २०१३ को नोभेम्बरमा आइपुग्दा सस्ताडिल निकै समस्यामा पर्यो भने त्यतिबेलाका संस्थापक तथा तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमुन थापाले राजीनामा दिए । थापाले सस्तोडिल छोडेसँगै उनले व्यवासायीक घरानाबाट चलाउन, बोर्ड सदस्यबाट उपयुक्त निर्णय लिन पनि आग्रह गरेका थिए । तर उनको राजीनामा सँगै अरु लगानीकर्ताले चासो नदिएका कारण सस्तोडिल पूरै निस्कृय भयो ।

करिब ८ महिनादेखि बन्द भएको सस्तोडिललाई अब भने आइएमई ग्रुपले अगाडि बढाउने भएको हो । यो समूहमा आइएमई ग्रुपले डोल्माको सबै सेयर किनेपछि अहिले सबैभन्दा ठूलो हिस्सा आइएमईको भएको छ । अरु लगानीकर्ताहरुको सेयर यथावत राखेर सस्तोडिल चलाइने भएको छ ।

आइएमई ग्रुपसँग धेरैवटा बिजनेश भएको र यसले बनाउन सकेको प्लेटफर्मका कारण सस्तोडिल चलाउन सकिने निष्कर्षमा पुगेको हो । स्रोतका अनुसार आन्तरिक गृहकार्य टुंगिएको आइएमईले अब साउनदेखि नयाँ रणनीति बनाएर जाने भएको छ । आइएमईले आफ्नो व्यवसायीक दायरा विस्तार गर्दै अनलाइन सपिङलाई प्राथमिकता दिने भएको हो । आइएमई नेपालको स्थापित व्यापारिक घराना हो ।

नयाँ रणनीति बनाएर बजारमा जाने तयारी गरिरहेको भए पनि आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले भने औपचारिकरुपमा प्रक्रिया नटुंगिएकोले अहिले नै अनलाइन सपिङको विषयमा बोल्न हतार हुने बताए ।

ढकालले क्लिकमान्डुसँग भने- ‘सस्तोडिलमा यसअघि नै आइएमईको लगानी रहेकोले थप लगानी गरेर बजारमा जाने विषयमा प्रतिकृया दिने बेला भएको छैन । समय आएपछि हामी आफैं जानकारी गराउँछौं ।’


राजु बास्कोटा