पोखरेलीले बेवास्ता गरेपछि नारा फेर्दै  रास्वपा: लामिछाने छुटाउन होइन, सहकारी पीडितलाई न्याय



पोखरा । पूर्वउपप्रधान एवम गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४ दिनदेखि विरोध प्रदर्शनमा छ ।

शुक्रबार काठमाडौं केन्दिय कार्यालयबाट पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनी पक्राउ  परे लगत्तै रास्वपाले देशभर विरोध प्रदर्शनको कार्यक्रम घोषणा गर्‍यो । पोखरामा शनिबारदेखि नै विरोध प्रदर्शन भइरहेको छ । सोमबार रास्वपाका समर्थक, नेता र कार्यकर्ताहरुले पृथ्वीचोकबाट विरोध र्‍याली निकालेर मानवअधिकार चोकसम्म पुगेका थिए ।

प्रदर्शनमा पोखरेली जनताले साथ नदिएपछि रास्वपाले रणनीति नै फेरेको छ । सोमबारको विरोध र्‍यालीमा रास्वपाका नेताहरुले नारा नै फेरे । यसको प्रमुख कारण हो- सहकारी पिडित । सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्ध सहकारी पिडीतहरुले आवाज उठाइरहेका बेला उनीहरुले सेन्टिमेन्ट क्याच गर्न नारा फरेका हुन् । पोखरेली जनताले समेत साथ नदिएपछि उनीहरुले विरोध प्रदर्शनमा सहभागी गराउन सहकारी पीडित न्याय दिन आएको बताएका थिए ।

प्रदर्शनका बीचमा कतिपयले प्रदर्शन गरेर सहकारी पीडीतले बचत फिर्ता नपाउने बताएका थिए । उनीहरुले प्रदर्शनको औचित्य नरहेका बताएपछि रास्वपाका नेताहरुले नारा फेरेका हुन् ।

रास्वपा सांसद तथा नेतृ तोसिमा कार्कीले सभापति लामिछानेलाई छुटाउन नभई सहकारी पीडीतको न्यायका लागि आएको बताइन् । उनले सहकारी पीडीतको न्यायका लागि आएको भन्दै पोखरेली जनताले साथ दिने बताइन् । सोमबारको रास्वपाको प्रदर्शनमा ५/६ सय जनाको उपस्थिति थियो ।

रास्वपाका नेता कार्यकर्ताहरुले सहकारी पीडीतलाई  न्याय दे भन्दै ब्यानर बोकेका थिए भने चर्को स्वरमा नारा समेत लगाएका थिए । उनीहरुले ८७ अर्ब रुपैयाँ सहकारीमा अपचलन भएको तर सरकार ६५ करोड रुपैयाँ अपचलन गरेको भन्दै एकजना मान्छेमाथि खनिएको उनीहरुको भनाइ छ । पूरै ८७ अर्ब रुपैयाँ सरकारले कोष खडा गरेरै भएपनि फिर्ता गर्नुपर्ने उनीहरुको भनाइ छ । जीवी राईले अपचलन गरेको रकम रवि लामिछानेले गरेको भन्दै पक्राउ गरेको उनीहरुले दाबी गरे ।

रास्वपा नेता तथा सांसद गणेश पराजुलीले सहकारीको सम्बन्धमा अध्ययन गरेर रास्वपाले सरकारलाई प्रतिवेदन दिइसकेको बताए । उनले सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा रास्वपाका सभापति पक्राउ गरेर बसेको बताए ।  संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नभएको बताए । उनले पोखराबासीले यो प्रदर्शनमा साथ दिने बताए ।

रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले रवि लामिछानेलाई थुन्नकै लागि पूर्वडिआईजी छबिलाल जोशीलाई थुनेको बताए । यदि त्यसरी थुनेको भए अन्याय भएको उनको भनाइ छ  । उनले बुधबार सभापति लामिछाने छुट्ने बताए ।

‘सहकारी पिडीतलाई झोले नभनिदिनुहोला । उनीहरु नेपाली हुन् । आफ्नो रकम फिर्ता लागि बसेका छन् । हामी उहाँहरुको न्यायको पक्षमा छौं,’ रास्वपा नेतृ सुमना श्रेष्ठले भनिन्, ‘आफ्नो बचतका रकम फिर्ता लागि लड्नुहोस् ।’ उनले सरकारको नियत ठिक नभएको बताइन् ।

लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडियाले सहकारीको रकम अपचलन गरेको निष्कर्षसहित संसदीय विषेश छानबिन समितिले प्रतिवेदन बुझाएको थियो ।

संसदीय समितिले रवि लामिछाने, जीबी राई, कुमार रम्तेल र छविलाल जोशीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

लामिछाने गोर्खा मिडियाको १५ प्रतिशतको मालिकसहित प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन लगायतका सहकारीको ६५ करोड रुपैयाँ अपचन गरेको आरोप छ । सूर्यदर्शन पीडितहरुले लामिछानेविरुद्ध दिएको पुरक उजुरीको आधारमा लामिछानेलाई पक्राउ गरि पोखरा ल्याइएको हो ।

कास्कीको उक्त सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।

रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी जिबी राई भने अझै फरार छन्। सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।


दिनेश खड्का