ग्राउन्ड जिरो: रवि पक्राउको विरोध प्रदर्शनमा किन कसैले बोकेनन् रास्वपाको झण्डा ?



पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि शुक्रबार पक्राउ गर्‍यो ।

सहकारी ठगी प्रकरणमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै स्थलमार्ग भएर शनिबार बिहान कास्की ल्याइयो ।

काठमाडौंबाट रास्वपा सभापतिलाई लिएर आएको सीआईबीको टोलीले जिल्ला प्रहरी कार्यालयलाई लामिछाने जिम्मा लगाएर फर्कियो ।

लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक तताउन सर्कुलर जारी गर्‍यो भने नेताहरुले शनिबारदेखि नै देशव्यापी प्रदर्शनका लागि आह्वान गरे । शनिबार काठमाडौं लगायत पोखराको प्रहरी कार्यालय नजिकै उनीहरुले लामिछाने समर्थकले प्रदर्शन गरे ।

आइतबार प्रहरीले लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा लैजाने तयारी गर्‍यो । अनुसन्धानका लागि म्याद थप गर्न अदालत लैजाने तयारी गर्दा जिल्ला अदालत कास्की परिसर नजिकै सहिद चोकमा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरु जम्मा भएर प्रदर्शन गरे ।

उनीहरुले गरेको प्रदर्शनमा कुनै पनि नेता कार्यकर्ताले पार्टीको झण्डाको प्रयोग भने गरेका थिएनन् । यसले यो प्रदर्शन रास्वपाको नभएर रवि लामिछानेको मात्र भएको पुष्टी गर्छ । हुन पनि लामिछाने रास्वपाका सभापति भएर पक्राउ गरिएको होइन, सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका हुन् । उनले राजनीति गरेका आधारमा उनलाई पक्राउ गरिएको होइन्, ठगीको आरोपमा पक्राउ गरिएको हो ।

रास्वपका नेता, कार्यकर्ता, समर्थकहरुले निधारमा सेतो र कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गरेका थिए । पक्राउ पर्ने सूचना पाएपछि ‘सरकार मर्‍यो ! हामीलाई जुठो पर्‍यो’ भन्दै सामाजिक सञ्जालमा लामिछानेले स्टाटस लेखेका थिए । त्यसकैको प्रतिकात्मक रुपमा नेताहरुले सेतोपट्टी बाँधेका हुन् ।

पूर्वाग्रही रुपमा गरिएको पक्राउको बिरोधमा कालोपट्टी बाँधिको रास्वपाको आइतबारको प्रदर्शनमा सहभागी नेताहरुले बताए ।

हरेक जिल्लाबाट १०० जना आउन उर्दी, उपस्थिति कमजोर

रास्वपाले हरेक जिल्लाबाट १०० जना कार्यकर्तालाई पोखरा उतार्न उर्दी नै जारी गरेको थियो । यस हिसाबले सबै जिल्लाबाट तोकिएको संख्यामा कार्यकर्ता उतार्न सकेको भए ७७०० जना रास्वपा नेता कार्यकर्ता भेला हुनु पर्ने हो । तर आइतबारको प्रदर्शनीमा रास्वपाका सबै जसो सांसद, केन्द्रीय नेतासहित ६/७ सयजतिको उपस्थिति थियो ।

‘रवि लामिछाने पक्राउ परेपछि पोखरामा हजारौं मान्छे सडकमा आउँछन् भन्ने सोचेका थियौं तर होइन रहेछ,’ आइतबार रास्वपाको प्रदर्शन हेर्न पुगेका एक स्थानीयले भने, ‘क्रेज घटेको हो कि ? गलत गरेका हुन् भनेर मानिसहरु नआएका हुन् थाहा भएन ।’

पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठको नेतृत्वमा प्रदर्शन सुरु भएको थियो । शहिद चोकमा सुरुमा करिब ५० जना समर्थकहरु सहित उनले प्रदर्शन सुरु गरेकी थिइन् । ५० जनाबाट सुरु भएको प्रदर्शनमा ६/७ सय जना सहभागी भएको आन्दोलनलाई नजिकबाट नियालिरहेका कास्की प्रशासनका एक उच्च अधिकारीले भने ।

सहभागी ६/७ सय जनामा पनि रास्वपाका केन्द्रीय तहका नेता र सांसद भएको उनको भनाइ छ ।

प्रदर्शनमा इलाम, काठमाडौं, चितवनलगायतका स्थानका समर्थक धेरै थिए । सामाजिक सञ्जालहरुमा पोखरामा रास्वपाको ठूलो प्रदर्शन भन्दै तस्बिरहरु सार्वजनिक भएका छन् । तर, प्रदर्शनमा आन्दोलनकारी भन्दा धेरै नेपाली प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, युट्युवरहरुको उपस्थिति धेरै देखिएको थियो ।

लामिछानेलाई अदालतमा पेस गर्नुअघि प्रहरी र रास्वपा समर्थकबीच तनाबको स्थिति बनेको थियो ।

लामिछानेलाई अदालतमा उपस्थित गराउने भएपछि अदालत वरिरिपरिका क्षेत्रलाई समेट्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निषेज्ञाधा जारी गरेका थिए । पोखरा महानगरपालिकामा जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुज सक्ने परिस्थितिलाई मध्यनजर गर्दै आइतबार ११:४५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी भयो ।

सहकारी पीडित र रास्वपाका समर्थकहरुले एकै साथ प्रदर्शनी गर्न लागेपछि मुडभेडको स्थिति नबनोस् भनेर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

प्रहरीले निषेधाज्ञा जारी भएको क्षेत्रबाट रास्वपा कार्यकर्तालाई हटाउन खोज्यो । करिब दर्जनपटक प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेलको अवस्था बन्यो । प्रदर्शनकारी हट्न नमानेपछि प्रहरीले पानीको फोहोर र अश्रु ग्यासको प्रयोग गरेको थियो ।

रास्वपाको नारा-सहकारी पीडितलाई न्याय दे

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएर अनुसन्धानका लागि पक्राउ परेका हुन् । तर रास्वपा समर्थकहरुले भने सहकारी पीडितलाई न्याय दिन माग गर्दै प्रदर्शनमा नाराबाजी गरे ।

उनीहरुले सहकारीमा ८७ अर्ब ठगी भएको तर सरकार रवि लामिछाने एक्लैमाथि खनिएको भन्दै आपत्ति जनाए । रास्वपा नेता पुकार बमले राज्य संयन्त्र रास्वपाका सभापतिमाथि मात्रै खनिएको आरोप लगाए । उनले सहकारी ठगी प्रकरणमा रास्वपाले पीडितहरुलाई न्याय दिन चाहेको तर सरकारले त्यसमा केहि काम नगरेको आरोप लगाए ।

लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोप अनुसन्धानका लागि पक्राउ गरिएको हो । तर, रास्वपा नेताहरुले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रकृतिको मुद्दा लगाए जसरी प्रदर्शन गरिरहेको आरोप लागेको छ ।

प्रदर्शनस्थल नजिक भेटिएका अर्का एक स्थानीयले रवि लामिछानेमाथि राजद्रोहको मुद्दा लागे जसरी रास्वपाले मानिसहरुमा भ्रम छर्न खोजेको बताए ।

‘उबेला नेताहरुलाई राजद्रोहको मुद्दा लगाइन्थ्यो, राजनीति प्रतिशोधका लागि,’ उनले भने, ‘अहिले रास्वपाले पनि पार्टी सभापति रवि लामिछानेमाथि राज्यले राजद्रोहको मुद्दा लगाए जसरी प्रचार गरेर भ्रम छर्न खोजेको देख्दा अचम्म लागेको छ । उनी ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरी प्रशासनलाई सहयोग गर्नुको सट्टा यसरी बिरोध प्रदर्शन गर्दा भोलिका दिनका चोर फटाह कसैलाई पनि त समाउन मिलेन नि !’

लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडियाले सहकारीको रकम अपचलन गरेको निष्कर्षसहित संसदीय विषेश समितिले प्रतिवेदन बुझाएको थियो ।

संसदीय समितिले रवि लामिछाने, जीबी राई, कुमार रम्तेल र छविलाल जोशीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

लामिछाने गोर्खा मिडियाको १५ प्रतिशतको मालिकसहित प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन लगायतका सहकारीको ६५ करोड रुपैयाँ अपचन गरेको आरोप छ । सूर्यदर्शन पीडितहरुले लामिछानेविरुद्ध दिएको पुरक उजुरीको आधारमा लामिछानेलाई पक्राउ गरि पोखरा ल्याइएको हो ।

पोखरेलीले दिएनन् साथ ?

रास्वपाले पोखरामा गरेको प्रदर्शनमा पोखरेलीहरुको भने साथ देखिएन । प्रदर्शनस्थलमा पोखराका भन्दा अन्य जिल्लाका बढी थिए । ठगीको मुद्दा भएकाले आफूहरुले साथ दिन नसकेको उनीहरुको भनाइ छ ।

रास्वपाले पोखरेलीको साथ नपाउनुको मुख्य कारण सूर्यदर्शन सहकारी हो । पोखराका सहकारी पीडितहरुले रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका थिए । तर मुडभेडको स्थिति बन्ने भन्दैपछि हटे ।

सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठले सहकारीले सडकमा ल्याएको दुई वर्षपछि पोखराको सडक बेसरी तातेको बताए ।

आफूहरु पनि आन्दोलन गर्न तयारी रहेको भए पनि प्रशासनिक संयन्त्रलाई सहयोग गर्न पछि हटेको उनले बताए । ‘यो विषयमा हामी पनि तातेका थियौं । तर पोखराका प्रशासनिक संयन्त्रलाई सहयोग गर्न उद्देश्यले केही कार्यक्रम स्थगित गर्यौं,’ उनले भने, ‘प्रशासनिक प्रमुखहरुसँग वाचा गरे हामी केही दिन हेरौं भन्ने स्थितिमा पुगका छौं ।’

कास्कीको उक्त सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।

रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी जिबी राई भने अझै फरार छन् । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।

आइतबार लामिछानेलाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


दिनेश खड्का