ग्राउन्ड जिरो: रवि लामिछाने ६ दिन प्रहरी हिरासतमै बस्ने, दिनभर पोखरामा के भयो, स्वर्णिम, सुमना र हरिले के भने ?



पोखरा । शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने प्रहरीको तयारी थियो । आइतबार बिहानैबाट पोखराका विभिन्न चोकमा प्रहरी तैनाथ गरेर सुरक्षा व्यवस्थालाई कडा गरिएको थियो । 

शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्रमा रास्वपाका सांसद तथा नेताका साथै कार्यकर्ता र समर्थकले आन्दोलन गरेतापनि आइतबार बिहानको अवस्था भने सुनसान देखिन्थ्यो । यद्यपि पोखराका चोक चोकमा भने प्रहरी तैनाथ थिए। 

कास्की जिल्ला अदालत रहेको बैदाम क्षेत्रमा भने प्रहरीको बाक्लो उपस्थिति थियो । 

लामिछानेको समर्थनमा अदालत नजिकैको सहिद चोकमा भने बिहान करिब साढे १० बजेबाट भीड जम्मा हुन थालेको थियो । सहिद चोकमा नजिकै राष्ट्र बैंक चोकमा सहकारी पीडितले पनि आन्दोलन गर्ने कार्यक्रम तय भएको हुँदा यो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटाइएको थियो । 

सुरुवातमा रविको समर्थनमा दलका कार्यकर्ताका साथमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ लगायत उपस्थित भएर नारा लगाउन थालेका थिए ।

‘सहकारी पीडितलाई न्याय दे’ ‘भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लगाउने तथा पोष्टकार्ड बोक्नेहरुको जमात थियो । 

सहकारी ठगीमा पक्राउ परेका लामिछानेको समर्थनको जुलुसमा ‘सहकारी पीडितलाई न्याय दे’को नारा

विरोधाभास मान्नुपर्छ, लामिछाने सहकारी ठगी प्रकरणमा आरोपित भएर पक्राउ परेका छन् । तर, उनको समर्थनमा आइतबार पोखराको सहिद चोकमा भएको प्रदर्शनमा भने सरकारको विरोधका साथै सहकारी पीडितलाई न्याय दे भन्ने नारा तथा सोही नारा लेखिएका पोष्टकार्डहरु पनि प्रदर्शन भएका थिए । 

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत गैरकानुनीरुपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप छ । उनी यसअघि पोखरा आउँदा कालो झन्डा देखाउन तथा मकैको खोयलाले हान्ने जस्ता घट्ना पनि भएका छन् । हाल हिरासतमा भएका उनी सहकारी ठगी प्रकरणमा संलग्नताको विषयमा अनुसन्धानका लागि पक्राउ परेका थिए । 

आइतबार अदालतमा उनलाई उपस्थित गराउनु अघिबाट नै भइरहेको प्रदर्शनमा भने रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकले ‘सहकारी पीडितलाई न्याय दे’ को नारा लगाइरहेका थिए । 

कालो पट्टी बाँधेर सुरु भएको आन्दोलन सेतो पट्टी बाँधेर सकियो

आइतबार भएको प्रदर्शनमा सुरुवातमा रास्वपाका नेता तथा कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए । 

पोखरा जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको सहिद चोकमा आन्दोलन गरिरहँदा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । यद्यपी उनीहरुले त्यहाँबाट हट्न मानेका थिएनन् । जसकारण केही समय प्रहरी र आन्दोलनकारीबीच मुठभेट पनि भएको थियो । प्रहरीले भिडलाई नियन्त्रण गर्नका लागि पानीको फोहरा फ्याकेको थियो भने एउटा अश्रुग्याँस पनि प्रहार गरेको थियो । 

आँखामा र टाउकोमा कालो पट्टी बाँधेर सुरु भएको आन्दोलन पछि आएर भने सेतो पट्टी बाँध्ने अवस्थामा पुगेको थियो । हरि ढकाल, स्वर्णिम वाग्ले, तोसिमा कार्कीलगायतका रास्वपाका सांसदहरुको आन्दोलनमा उपस्थिति हुँदै जाँदा प्रदर्शनमा उपस्थितहरुले टाउकोमा सेतो पट्टी बाँधेका थिए ।

पक्राउ परेका पार्टीका सभापति लामिछानेले प्रहरी हिरासतमा जानुअघि सामाजिक सञ्जालमा लेखेको स्टेटसमा ‘सरकार मर्यो’ भन्दै उल्लेख गरेको कुरासँग सन्दर्भ हुने गरि उनीहरुले टाउकोमा सेतो फेटा बाँधेका थिए । 

फरक बाटोबाट अदालत ल्याइए रवि, अदालतको गेटबाट ओलीको आलोचना

केही समयअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा रास्वपालगायतका दलहरुको गठबन्धनमा बनेको सरकारमा लामिछाने गृहमन्त्री बनेका थिए । त्यसबेला लामिछानेले हालका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई गृहमन्त्रीको पद दिनका लागि मागेको भन्ने चर्चा भएको थियो । 

हाल सरकारमा तीनै ओली प्रधानमन्त्री छन् । तर, रास्वपालगायतका दलहरु भने सरकारमा छैनन । सरकार बनाएको गठबन्धन हाल फेरिएको छ । 

लामिछानेले यसअघिको सरकारमा आफूलाई गृहमन्त्रीको पद ‘उपहार’ मा दिएका तीनै ओलीको आलोचना भने अदालतभित्र प्रवेश गर्नुअघि पनि गर्न भ्याए । आइतबार दिउँसो करिब २ बजे अदालतमा ल्याएका उनले अदालतको गेटबाट नै न्यायलयले आफूलाई न्याय दिने र ओली सरकार रहँदासम्म जनताले दु:ख पाइरहने भन्दै ओलीको आलोचना गरेका थिए । 

‘मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । अदालतले मलाई न्याय दिन्छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने- ‘यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु ।’

लामिछानेलाई प्रहरीले गैह्रापाटकस्थित जिल्ला प्रहरी कार्यालयबाट भने नियमित रुपमा प्रयोग गरिरहेको भन्दा फरक बाटोबाट ल्याएको थियो । उनीभन्दा अघि ल्याइएका कैदीबन्दीलाई पनि सहिद चोककै बाटोबाट ल्याएको प्रहरीले उनलाई भने त्यो बाटोमा आन्दोलनकारी रहेका कारण पोखराको लेकसाइड पट्टिको बाटोबाट ल्याएको थियो ।

रविको समर्थनमा सुमना श्रेष्ठको तर्क: सहकरी पीडितको पैसा फिर्ता गर्न सरकारले कुनै काम गरेन

रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएसँगै यो विषयलाई उनले र उनी सभापति रहेको पार्टीले लामिछानेको व्यक्तिगत मुद्दाका रुपमा नलिएर राजनीतिककरण गर्दै रास्वपा पार्टीकै मुद्दाका रुपमा अघि सारिरहेको छ । 

यो शिलशिला आइतबार अदालतमा लामिछानेलाई उपस्थित गराउँदाको समयमा पनि यथावत नै रहेको देखिन्थ्यो । पार्टीकी शीर्ष नेत्री तथा पुर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अदालत बाहिर सञ्चारकर्मीसँग गरेको कुराकानीमा सरकारले सहकारी पीडितको पैसा फिर्ता गराउन कुनै काम नगरेको सरकारले रवि लामिछानेलाई बलि चढाएपछि सबै ठीक हुन्छ भन्ने व्यवहार देखाएको आरोप लगाइन् ।

‘सहकारी सम्बन्धित छानविन गर्न बनेको समितिको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्न नलाग्ने, पीडितको पैसा फिर्ता गर्नतर्फ नलागेको सरकारले रवि लामिछानेलाई पक्राउ गरेर मुद्दा चलाएपछि सबै ठीक हुन्छ भन्ठानको छ ’ सूमनाले भनिन्- ‘सहकारीका बचतकर्ताले न्याय पाएनन् भन्ने छ । हामी सहकारी पीडितको साथमा हामी छौं ।’ उनले थपिन्, ‘धनराज गुरुङको केस आउँदा संसदीय सुनुवाई समिति मागिएको छैन । किनकि पीडितले पैसा फिर्ता पाउनुपर्छ भन्ने मान्यता हाम्रो हो । संसदीय समिति बनाएर मात्रै सहकारी पीडितले पैसा पाउने होइन, सरकारले पैसा फिर्ता गराउने गरी काम पनि गर्नुपर्छ ।’

रास्वपाका अर्का नेता तथा प्रतिनिधि सभाका सांसद हरि ढकालले पनि सुमनाकै जस्तो अभिव्यक्ति दिए । उनले भने, ‘संसदको रेकर्डमा हेर्ने हो भने यो साढे दुई वर्षका बीचमा सहकारीको विषयमा सबैभन्दा धेरै पटक कुरा रास्वपाका सांसदले निकालेका छन् ।’

उनले रविमाथि लगाइएको संगठित अपराधको मुद्दा नै नराम्रो भइरहेको तर्क दिए । 

दुई पक्षका वकिलको बहसपछि न्यायाधीश र लामिछानेको ‘वान टु वान’ कुराकानी, ६ दिन म्याद थप गर्ने निर्णय

बिहानबाट भइरहेको प्रदर्शन करिब साढे ४ बजेतिर सकियो । पार्टीका कार्यकर्ता तथा सांसदहरु प्रदर्शन गरिरहेको सहिद चोकबाट अन्य स्थानमा कोणसभा गर्दै जुलुसमा हिडेका थिए । 

यता अदालतभित्र भने रविको पक्षका वकिल र जाहेरवालाको पक्षका वकिलको बहस चलिरहेको थियो । 

जाहेर वालाको पक्षका वकिल युवराज पराजुलीकाअनुसार दुबै पक्षले आआफ्ना तर्क प्रमाणसहित बहस गरे । जाहेरवालाको पक्षबाट बहस गर्ने वकिलहरुले लामिछानेलाई थुनामा राख्नुपर्ने आधार र प्रमाणका आधारमा बहस गरेको उनले बताए । 

यता रविको पक्षबाट बहस गरेका रास्वपाका नेतासमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले अहिले थुनामा राख्नु पर्ने आधार के भन्ने जस्ता प्रश्न न्यायलयलाई गरेको उनले जानकारी दिए । 

‘योभन्दा अघि अभियोगपत्र दर्ता हुँदा अनुसन्धान गर्दा लामिछाने निर्दोश देखिने अनि आज रातारात दोषी देखिने आधार के छ ? भन्ने प्रश्न इजलासबाट आयो,’ उनले भने, ‘इजलासले रवि लामिछानेलाई थुनामा नराखि अनुसन्धान गर्दा भाग्ने वा प्रमाण लोप हुने अवस्था छ ? भन्दै सरकारी वकिललाई प्रश्न गरियो । उहाँलाई थुनामा नराख्दा भागिजाने, फरार हुने, प्रमाण लोप हुने के अवस्था छ भन्ने प्रश्न रह्यो,’ उनले भने, ‘उताबाट राज्यपक्षले जवाफ दिन सकेन ।’

छविलाई पनि थुनामा राखेकोले रविलाई पनि राख्ने हो भन्ने तर्क सरकारी वकिलको भएको न्यौपानेले बताए ।

दुवै पक्षका वकिलहरुले बहस गरेको केही समयसम्म न्यायाधीशले लामिछानेलाई सोधपुछ गरेको उनले बताए ।

केही बेरपछि भने लामिछानेलाई पक्राउ परेको दिनबाट लागु हुने गरि ६ दिन म्याद थप गरिएको निर्णय भयो । जसअनुसार बुधबार यसअघि सहकारी ठगी प्रकरणमै पक्राउ परेका छविलाल जोशीकै पेशी भएकै दिन लामिछानेलाई अदालतमा उपस्थित गराइने छ । 

भोलि पनि प्रदर्शन हुनेछ: हरि ढकाल

रास्वपाका सांसद हरि ढकालकाअनुसार पार्टीले लामिछानेको समर्थनमा भोली सोमबार पनि प्रदर्शन गर्ने तयारी छ । उनले समय भने बताउन चाहेनन । यद्यपी उनले भोली पनि लामिछानेको समर्थनमा प्रदर्शन गरिने बताए । 

रास्वपाले पनि आफ्ना पार्टीका सबै जिल्लाका कार्यकर्ताहरुलाई पत्रचार गर्दै हरेक जिल्लाबाट सय सय जनालाई पोखरा आउन पनि अनुरोध गरेको छ । रास्वपाका केन्द्रियस्तरका अधिकांश नेता पोखरामा छन् । तर, प्रदर्शनस्थलमा ३ सयको हाराहारीमा मात्रै नेता तथा कार्यकर्ताहरु छन् । पोखरेलीहरु आन्दोनमा सभागी छैनन् । काठमाडौं र चितवनबाट आन्दोलनमा धेरै कार्यकर्ता आएका छन् । रास्वपाले इगो बनाएको यो आन्दोलनमा न पार्टीको झन्डा छ न त कार्यकर्ताको उल्लेख्य उपस्थिति नै ।

‘यो न्याय दिने काम अदालतको हो, भीडको हाेइन,’ आन्दोलन हेर्न आएका पृथ्वीचोकका एक दर्शनार्थीले भने,- ‘सूर्यदर्शन सहकारीले १८ हजार बचतकर्ताको बचत ठगी गरेको छ । मेरै पनि ३ लाख ठगी गरेको छ । म के गर्दा रहेछन् भनेर रमिता हेर्न आएको हुँ । रास्वपाले अदालतलाई प्रभाव पार्न खोजेको जस्तो देखियो । यसले न रास्वपालाई फइदा गर्छ न त सहकारी पीडितलाई नै ।’


क्लिकमान्डु