यती एयरलाइन्सलाई जब हिमालयन बैंकले ऋण पत्याएन



काठमाडौ । यती एयरलाइन्सलाई जब हिमालय बै‌कले ऋण पत्याएन त्यसपछि नै यती एयरलाइन्स बनेको रोचक तथ्य रहेको छ । यो एयरलाइन्स स्थापना गर्नुअघि यती यती एयरलाइन्सका अध्यक्षल्हाक्पा सोनाम शेर्पाले कति मेहनत र संघर्ष गरेका थिए भन्ने विषय उनले आफ्नो जीवनी हिम्बु नामक पुस्तकमा उतारेका छन् ।

शेर्पाको पुस्तकको एक अंश जस्ताको त्यस्तै:

थामसेर्कु कम्पनीको व्यापार वृद्धि निकै राम्रो भयो । खासगरी पर्यटक काठमाडौं बस्नेभन्दा पनि पोखरा, अन्नपूर्ण, सोलु, चितवनतिर जान मन गर्थे । अझै अन्नपूर्ण बेस क्याम्प (एबिसी) र एभरेस्ट बेस क्याम्प (इबिसी) तिर पुग्ने धेरैको इच्छा हुन्थ्यो । साहसिक पर्यटनको आनन्द लिन पूर्वदेखि पश्चिमका हिमाली जिल्ला विशेषतः ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ र मुस्ताङ पर्यटकहरूको रोजाइमा पर्थे । विदेशी पर्यटक सुदूरपश्चिमका अपी-सैपाल हिमाल र कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जस्ता ठाउँमा पनि घुम्ने चाहना राख्थे । सिजनमा छ-सात हजार पर्यटकलाई हवाई सेवा दिनुपर्थ्यो । जसरी उडेर जान्थे, तिनलाई काठमाडौं फर्काउन पनि हवाई यातायातको आवश्यकता पर्थ्यो । निकै थोरै समयको व्यवस्थापन गरी पर्यटक नेपाल आएका हुन्छन् । छुट्टी मनाउन उनीहरूले नेपाललाई नै रोजेका हुन्थे । उनीहरूको मनोभावनालाई ख्याल गरी हामीले सेवा दिनुपर्थ्यो । त्यतिबेला हाम्रो कम्पनीले सबै पर्यटकको हवाई उडानको टिकटको जिम्मा दिएको थियो- नेपाल एक्सप्रेस ट्राभल्सलाई । ट्राभल्ससँग मेरो सर्त थियो, ‘जति पनि टिकट काट्नुपर्छ, सबै यही संस्थाबाट काटिन्छ । टिकट जस्तै परिस्थितिमा पनि मिलाउनुपर्छ । जसरी हुन्छ हाम्रा ग्राहकले सिट पाउनुपर्छ ।

सर्त ट्राभल्सले मान्यो । हामीले पनि टिकटको जिम्मा उसलाई दिइरह्यौं । यो क्रम लामै समय चलिरह्यो। एक दिन मैले यसो हिसाब हेरें- ओहो, डरलाग्दो रकम गइरहेको रहेछ । थामसेर्कुले ट्राभल्सलाई टिकटबापत अति धेरै पैसा तिरिरहेको रहेछ । यो स्थिति देखेर झसङ्ग भएँ । हामीले त सिट पाउने लोभमा निकै धेरै रकम दिइरहेका रहेछौं। अन्य कुनै पनि संस्थासँग व्यवहारै गरेनछौं । कुनै मोलमोलाई वा घटबढ नगरी टिकट किनिरहेका रहेछौं । पैसाको खोलो बगेको देखेपछि आफ्नो काम गराइमा एक चोटी घोत्लिन बाध्य भएँ । यसबारे मैले दुवै भाइसँग सल्लाह गरें । के गरी अगाडि बढ्ने भनेर विचार बुझें । खासगरी टिकटमार्फत गइरहेको ठूलो धनराशिलाई कसरी कम गर्ने वा अर्को विकल्पमा जाने  भन्नेबारे भाइ आङछिरिङ र आङ तेन्डीसँग निकै छलफल गरें ।

अनि मैले मानसिकता बनाएँ- एयरलाइन्स कम्पनी खोल्छु । त्यसो त सन् १९९७ तिरै एयरलाइन्स कम्पनी खोल्छु भन्ने सोचेको थिएँ । त्यतिबेला चितवनका एक जना नेता भेटेको थिएँ- जागृतप्रसाद भेटवाल । उनीसँग आफ्ना कुरा राखेको थिएँ । उनी निकै सकारात्मक भावना भएको र मनैदेखि सहयोग गर्ने जिम्मेवार नेता रहेछन् । भेटवाल त्यति बेला कलङ्कीमा बस्थे । हामी चाँडै नजिक भयौं । हामीबीच आउजाउ निरन्तर हुन थाल्यो । हवाई सेवामा जोडिएर अगाडि बढ्न खोजेको कुरा उनलाई सुनाएँ । भेटवालले मलाई सहयोग गरूँला भने । नभन्दै सलिम मियाँ अन्सारी पर्यटनमन्त्री भएका बेलामा तीन ओटा ट्विनअटर ल्याउन मिल्ने लाइसेन्स पाएँ । यस कार्यमा भेटवालको ठूलो सहयोग र शुभेच्छा पाएँ । ‘मेरा एकदुई जना मान्छेलाई काममा राखिदिनुहोला ।’ भेटवालले यत्ति सर्त राखेर सघाएका थिए ।



लाइसेन्स त पाइयो । अब जहाज किन्ने भएँ । तर कसरी किन्ने ? कहाँ किन्ने ? पैसा छैन । फेरि अर्को चिन्ता सुरू भयो । त्यति बेला केही निजी बैंक भर्खरै खुलेका थिए । बैंकबाट ऋण पाइन्छ कि भनेर यताउता दगुरें । हिमालयन बैंकको नाम खुबै चलेको थियो । त्यसले ऋण पत्याउला कि भनेर गएँ । बैंकले मेरा कुरा ध्यान दिएर सुन्यो; ऋण चाहिँ पत्याएन । रित्तै फर्किएँ । मन खिन्न भइरह्यो । जतिखेरै आर्थिक जोहो गर्ने कुराले मन आत्तियो । हरपल के गरी समस्या समाधान गर्ने होला भनेर अनेक विदेशी साथीभाइका नाम मनमा लिएर उपाय खोज्न थालें ।

आँटेपछि काम पूरा नगरी भएन । वास्तवमा आफ्नै लागि मात्र मैले एयरलाइन्स खोल्न खोजेको थिएँ । अरू धेरै साथी लाइसेन्स लिएर व्यापार गर्न खोज्दै थिएँ । विभिन्न कोणबाट सोचेर तीन जना फ्रान्सेली साथी दिमागमा सर्र आए । उनीहरूबाट सहयोग हुने ठानें ।

३० लाख डलर सापटी देऊ भनेर सुरूमै तीन जना करोडपति साथीहरूलाई फ्याक्स गरें । त्यतिबेला फ्याक्सको चलन थियो । अन्य सञ्चार साधनको विकास भइसकेको थिएन । सम्पूर्ण कुरा फ्याक्समा पठाएपछि बल्ल फोन गरें । फोनमा धेरै कुरा भए । भने- ‘जहाज किन्नका लागि सापटी मागेको ।’ कुरा प्रस्ट पारेपछि बेनार्ड नोबेल फोनमा मज्जाले हाँसे । त्यसपछि उनले थप सरसल्लाहका लागि फ्रान्स आऊ ।

यो सन् १९९८ को वर्षातिरको बेला थियो । केही दिनपछि परिस्थिति मिलाएर फ्रान्सतिर लागिहालें । लाइसेन्स लिइसकेकाले सक्दो छिटो जहाज लिनुपर्ने थियो । फ्रान्स पुगेर नोबेललाई भेटें ।  ‘मेरो व्यापारका लागि जहाज आवश्यक छ । तिम्रो सहयोग चाहियो । तिमीले ऋण मिलाइदेऊ । रकमको ग्यारेन्टी तिमीबाट होस् ।’

नोबेललाई सबै कुरा बताएँ । केकसरी व्यापार गरिरहेथें- कत्तिको मिहिनेतसँग व्यापार विस्तार गरिरहेथें, सबै सूचना र जानकारी नोबेललाई थाहा थियो । मेरो कामप्रतिको खटाइ र लगावसँग उनी परिचित थिए । हाम्रो व्यापारमा जहाज किन र कति आवश्यक छ, कुराबाट उनी अझै प्रस्ट भए । मेरो इमानदारी र कर्तव्यनिष्ठतासँग उनी परिचित थिए । कुरा गराइबाट उनी अझै छर्लङ्ग भए ।

मेरो प्रस्ताव नोबेलले स्विकारे । अनि पैसा दिने कुरा गरे । मैले उनलाई जहाजका लागि सबै ज्ञान भएको एक योग्य बजार व्यवस्थापक र जहाजको प्राविधिक पक्ष हेर्ने अर्को इन्जिनियर पनि खोजिदिन अनुरोध गरें । उनले सबै कुरा माने । नोबेलले बैंकसँग कुरा गरे । ३० लाख डलर उनले एकै वचनमा बैंकबाट ऋण दिलाइदिए । उनी आफैँ पनि फ्रान्सका ठूला सम्मानित व्यवसायी थिए । त्यसैले बैंकबाट ऋण लिनमा कठिनाइ भएन । साथै जहाज किन्दा सबै कुरा बुझ्ने एक मध्यस्थकर्ता व्यक्ति र अत्यन्तै दक्ष इन्जिनियरको खोजी पनि उनैले गरिदिए । एक जनाको पाँच सय र अर्को जनाको सात सय डलर पारिश्रमिक थियो प्रतिदिन । नोबेलमार्फत पैसा पाउने भएपछि त्यो रात म खुसीले तीन पटक रोएँ । नेपालका बैंक र कुनै नेपालीले नपत्याए पनि एक अर्कै देशको व्यक्तिले पत्याएका थिए । ती मेरा आफन्त, नातेदार वा रगतको साइनो पर्ने मानिस पनि थिएनन् । आफ्नाहरूको बेवास्ता तर एक परदेशीको माया, विश्वास र भर-पत्यारले पगालेको थियो ।

जहाज लोकेट भइसकेको थियो । प्रदीप राणाको नेपाल एयरवेज कम्पनी भर्खरै बन्द भएको थियो । त्यहाँबाट केही मान्छे ल्याएँ । पाइलट एमबी गुरूङ, विजय श्रेष्ठ, इन्जिनियर एचपी धौभडेल, एसजेबी सिंह र अनुज रिमाललाई मेरो एयरलाइन्समा प्रवेश गराएँ। नेपाल इन्डोस्वेज बैंकमा कार्यरत उमेश राईलाई पनि ल्याएँ । यी जनशक्तिबाट जहाज ल्याउने कार्यको व्यवस्था मिलाएँ ।

अन्य आर्थिक र सबै कुराको चाँजोपाँजो मिलाई म मलेसियातिर लागें । फ्रान्सबाट इन्जिनियर र बजार व्यवस्थापन हेर्ने व्यक्ति लिएर क्वालालाम्पुर पुगें । जुलाईको महिना थियो । सामान्य लुगा लगाएर गएको थिएँ । जीवनमा मैले एकदमै कम मात्र टाई-सुट लगाएँ । त्यो दिन दुई फ्रान्सेली व्यक्तिका साथ साधारण लुगामा जहाजका लागि डिल गर्न गएको थिएँ । साधारण लुगा, शेर्पा अनुहार,  ठाँटबाँट केही नभएको र अत्यन्तै सामान्य मानिसका रूपमा सायद म देखिएको थिएँ । त्यसमाथि ३८ वर्षको सामान्य केटो थिएँ । त्यसैले जहाजको मालिकले मलाई नपत्याएको होला । उसले तीन-चार पटक अत्यन्तै अविश्वासी पारामा मलाई तलमाथि हेरिरह्यो- व्यक्तित्व नभएको, आर्थिक क्षमता नभएको मानिसका रूपमा । ‘जहाज किन्ने को हो ?’ मलाई हेर्दै एयरलाइन्सको मालिकले सोध्यो । ‘म हुँ । तिमीलाई पैसा चाहिएको कि म ? जहाज किन्ने म । अरू थप कुरा बुझ्नुपर्ने भए यी मेरा दुई जना व्यक्तिबाट बुझ्नू ।’

ओजपूर्ण बोलीमा भनेको थिएँ यी कुरा। मेरा कुराले ऊ केही हच्कियो । जहाज खराखरी हेरेपछि सम्झौता भयो । त्यसपछि कागजपत्र परीक्षण गर्न, जहाजको सबै निरीक्षण गर्न, कानुनी प्रक्रिया र अन्य सबै कुरा व्यवस्थित गर्न दुई-तीन दिन लाग्यो । अरू आवश्यक सबै प्रक्रिया मिलाउन थप १० दिन जति समय लाग्यो । यी सम्पूर्ण परिस्थितिको व्यवस्थापन गरेर काठमाडौं फर्किएँ । फ्रान्सबाट पैसा आउन करिब एक महिना लाग्यो । हामीले हेरेका जहाज तेल कम्पनीका रहेछन् । सेप्टेम्बरमा जहाज काठमाडौं आए ।

जहाजको छनोट राम्रो थियो । निर्मित समय, उडान अवधि, संरचना, जहाजबाट लिन सकिने थप उपलब्धिबारे निकै उपयोगी साबित हुने देखियो । सन् १९९८ देखि २००० सम्म मैले नै जहाज कम्पनी चलाएँ । भाइहरू थामसेर्कु कम्पनी चलाउँथे ।

एभिएसनमा हात हाले पनि भाइहरूसँग छलफल र सल्लाह भइरहन्थ्यो । एभिएसनमा जोडिएको केही महिनादेखि चौतर्फी रूपमा शारीरिक र मानसिक रूपमा हमला हुन थाल्यो । कहिले पाइलटको अप्ठ्यारो, कहिले अन्य कर्मचारीको असहयोग । यता टिकटको हैरानी, उता मन्त्रालयको असजिलो ।

कहिले इन्जिनियरको दिग्दारी, कहिले यात्रुहरूको अनावश्यक गुनासो । यो कुन भुमरीमा आएछु भन्ने लागिरह्यो । पर्यटनका लागि जुन सहज स्थिति होला, पर्यटकले जसरी सेवा पाउलान् भन्ने सोचेथें- वातावरण पूरै नकारात्मक भएर आयो । व्यक्तिगत फाइदाभन्दा पनि राष्ट्रको विकासमा सघाउन र हात बढाउन आएको थिएँ । तर चारैतिरबाट घेराबन्दी पारेर मलाई असफल पार्ने चेष्टा भइरहेको अनुभव गरें । नकारात्मक वातावरण देख्दा दुःख लाग्यो । गलत ठाउँमा आएँ भन्ने भइरह्यो । मलाई हवाई क्षेत्रमा व्यापार गर्नु उपयुक्त होजस्तो लागेन ।

त्यसमाथि म जस्तो सरल, विदेशीहरूसँग लामै समय बिताएको शेर्पालाई । यहाँ त हरेक ठाउँमा लप्पनछप्पन, झमेला, बाधा-व्यवधान मात्रै, हरेक ठाउँमा भत्काउने र बिगार्ने मात्रै चरित्र देख्दा खिन्न हुन पुगे । कम्पनीका लागि जसरी सहयोग हुन्छ भन्ने सोचेथें, यही कारणले ट्रेकिङ कम्पनी नै प्रभावित हुने स्थिति आयो । एकअर्कोलाई सघाउलान् भनेर जुन लक्ष्य र सपनासाथ एभिएसनमा आएको थिएँ, दिनदिनै हरेस खान थालें । पश्चात्ताप र दिग्दारी बढ्न थाल्यो ।

तीन वर्षपछि फ्रान्सका साथीको ऋण तिरें । त्यो तिर्दा पनि जहाजको कमाइले मात्र पुगेन । यताउता खोजखाज गरें । जहाज आएपछि अरूले पनि पत्याए । बैंकले पनि ऋण पत्यायो । फेरि सरसापट गरें अनि तिरें । साथीसँगको गहिरो सम्बन्ध, उसको भरोसा र विश्वासलाई भत्काउनु हुँदैनथ्यो ।

मसँग दुईवटा ट्विनअटर जहाज थिए । यिनै जहाजबाट व्यापार गरिरहेकै थिएँ । करिब तीन वर्षपछि हवाई यातायातमा योभन्दा माथि नजाने मन बनाएँ । जेजस्तो भयो-भयो । अब रहर पनि पुग्यो । अनुभव पनि राम्रै भयो, योभन्दा माथि जान्नँ । बलियो निर्णय गरेर कम्पनी चलाइरहेको थिएँ ।

किनभने दिनहुँ एकपछि अर्को समस्याले गर्दा म यसभन्दा अगाडि नजाने योजनामा पुगिसकेको थिएँ । बिस्तारै वातावरण प्रतिकूल भएर गइरह्यो । राजनीतिक अस्तव्यस्तता, कर्मचारीहरूको भार, टिकटको समस्या, यात्रुहरूका अनेकौं असहयोग, सरकारको उपेक्षा, दलहरूको दबदबा आदि कारणले जहाज बेच्ने मनस्थितिमा थिएँ । कम्पनी नै बेच्ने सोचाइमा थिएँ । एक दिन दुवै भाइसँग आफू जहाज बेच्ने सुरमा रहेको विचार पोखें ।

साइँला भाइले भने- ‘कहाँ हुन्छ र दाइ त्यस्तो ? कति कष्ट र दुःखले यहाँसम्म आइएको छ । हुँदैन बेच्नु । म हेर्छु । कम्पनी बेच्ने कुरा नगरौं अब ।’ भाइ आङछिरिङले कसैगरी मानेन । बेच्ने कुरा उसले सुन्नै चाहेन । भाइले दह्रो आत्मविश्वाससाथ भन्यो- ‘हिजो जे-जस्तो भयो, भयो । अब नयाँ ढङ्गले जानुपर्छ । सबै जिम्मा म लिन्छु ।’  त्यही दिनदेखि एयरलाइन्सको सबै जिम्मा साइँलो भाइले लियो । म फेरि थामसेर्कुमै फर्किएँ । त्यस दिन आफैँलाई अनौठो लाग्यो । खुसी लाग्यो । दुःख पनि त्यत्तिकै लाग्यो । म जेठोबाठोले सम्हाल्न नसकेको एयरलाइन्सको व्यापार आफूभन्दा उमेरले सानो भाइले कसरी चलाउला भन्ने लागिरह्यो ।

‘भाइलाई अलिक सम्झाएर बेचिहालेकै भए पनि हुन्थ्यो कि ?’ मनमा निकै कुरा खेले ।  तर अब केही गर्न सक्दिनथें । किनभने भाइले म हेर्छु भनिसकेको थियो । मैले पर्खिनु, हेर्नु र कुर्नुको विकल्प थिएन । म पूरै थामसेर्कुमै व्यस्त भएँ । त्यहीँ प्रगति गर्न थालें, सुधार गर्न थालें र अरू व्यापार बढाउन थालें । यता भाइ आङछिरिङले दुई ओटाबाट १९ वर्षमा १४ ओटा जहाज पु-यायो। एयरलाइन्सको व्यापार निरन्तर बढिरह्यो ।

सन् २०१९ बाट फेरि एकाएक मैले नै एयरलाइन्स कम्पनी हेर्नुपर्ने भयो । भाइ यती एयरलाइन्स हेरिरहेका छौं । अहिले आठ ओटा जहाज नियमित उडानमा आङछिरिङको दुःखद निधन भएपछि भाइबुहारी चन्दा, भतिज नर्बु र मैले नै छन् । संयुक्तरूपमा कम्पनीमा रहे पनि अहिलेसम्म मैले नै मुख्य सञ्चालन र व्यवस्थापन गरिरहेको छु ।

अब बिस्तारै जहाज घटाउने योजनामा छु । एउटा कम्पनीमा चार फरक किसिमका जहाज थिए । यसले गर्दा हरेक कुरा चार किसिमका हुन पुगेर कम्पनीलाई ठूलो नोक्सानी भइरहेको थियो । चार किसिमका इन्जिनियर, चार किसिमका सामान, चार किसिमका जनशक्ति भएपछि यिनै कारणले गर्दा कम्पनीमा ठूलो आर्थिक भार परिरहेको थियो । अहिले पाँच ओटा एटिआर विमान छन् । त्यस्तै ट्विनअटर तीन ओटा छन् ।

यी चार किसिमका जहाजले जनशक्ति, सरसामानमा मात्रै वर्षभरिमा झन्डै कम्पनीलाई ९ देखि १० करोडको भार पर्छ । यसैले जेट स्ट्रिम र डोर्नियर बेचेर एटिआर र ट्विनअटर मात्र राख्ने सोचाइ छ । यस प्रक्रियालाई निरन्तर अगाडि बढाएँ । केहीअघि मात्रै जेट स्ट्रिम र डोनियर बेची पनि सकें । सहरी क्षेत्रमा ठूला एटिआर जहाजले सेवा दिनेछन् । यसैगरी हिमाली र पहाडी क्षेत्रमा ट्विनअटरले यात्रु र कार्गो बोक्नेछन् । आगामी दिनमा यिनै दुई किसिमका जहाजमा विस्तार गर्ने मैले योजना र लक्ष्य बनाएको छु।

हाम्रो एयरलाइन्स कम्पनीमा ११ सय कर्मचारी छन् । यस कम्पनीले राष्ट्रको पर्यटकीय, सामाजिक र आर्थिक क्षेत्रमा ठूलो योगदान पुऱ्याएको छ । समग्र आर्थिक आँकडामा ४६ प्रतिशत मार्केट सेयर छ । डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु, कालिकोट, जुम्लामा नियमित हवाई उडान गरी हाम्रो एयरलाइन्सले हिमाली क्षेत्रमा ज्यादै ठूलो सेवा पुऱ्याइरहेको छ । अझ कर्णालीमा विकट, असहज र अत्यन्तै अप्ठ्यारो भूभाग हुँदाहुँदै पनि हामीले निरन्तर सेवा प्रदान गरिरहेका छौं । त्यहाँको समाजलाई यात्रु ओसार्नेदेखि सरसामान लैजाने कार्यमा समर्पित छौं । हिमाली क्षेत्रमा हामीले निकै विशेष योगदान गरेका छौं । १८ वर्षदेखि कर्णालीमा नेपाली यात्रु बोकेर मात्र एयरलाइन्स चल्न सक्दैन । नेपाली यात्रुको भाडादरबाट जहाजको खर्च पनि उठ्दैन । तर पनि हाम्रो कम्पनीले यी सबै कुरा एकातिर थाती राखेर कर्णालीमा निरन्तर सेवा दिइरहेको छ ।

राज्यको आफ्नै जहाज कम्पनी छ- नेपाल वायुसेवा निगम । उसका ठूलादेखि साना ट्विनअटर जहाज पनि छन् । तर अनेक बहानामा ती जहाज हिमाली र पहाडी क्षेत्रमा उड्दैनन् । आखिरमा हाम्रै जहाजले मान्छे, सरसामान, औषधि, चामलदेखि निर्माणका सामान बोक्नुपर्छ । राज्य सरक्क पन्छिन त मिल्दैन । तर आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर अलग्गै बसेको छ । हामीले नै सबै कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्छ । त्यति गर्दा पनि जिल्लावासी खुसी नभएको, अनावश्यक टीका-टिप्पणी गरेको देख्दा हृदय खिन्न हुन्छ ।

हाम्रा कुरा, समस्या र जटिलता न सरकारले सुन्छ, न स्थानीय निकाय वा जिल्लावासीले । हामी सबैतिरबाट घेरिएका छौं । राज्यले आफ्नो फेसिलिटी पावर देखाएर फाइदै मात्र लिन खोज्छ । तर हामीलाई दिने अवसर, सुविधा र अभिभावकत्व प्रदान गर्ने कुरामा मन खुला पारेको छैन ।

यात्रुले काटेका हरेक टिकटबाट एक रूपैयाँ अलग्गै छुट्याएर देशभरिका तीन-चार गैरसरकारी संस्थालाई हामी आर्थिक सहयोग गछौं । महिला, स्वास्थ्य, असहाय, अपाङ्गसँग सम्बद्ध संस्थालाई हामीले त्यो रकम दिने गरेका छौं ।

मैले नेपालको पर्यटनलाई ध्यानमा राखेर ट्विनअटर जहाज भित्र्याएँ । हाम्रा धेरै पर्यटकीय ठाउँ हिमाली क्षेत्रमै छन् । ट्विनअटरका लागि सानो ठाउँ भए पुग्छ । घुमाउन, मोड्न, रनवे र जहाज थन्काउन ठूलो विमानस्थल चाहिँदैन । टुरिजमका लागि उपयुक्त ट्विनअटर नै हो । हिमाली एयरपोर्टका लागि यसकै महत्त्व छ । अझै पनि ट्विनअटरको खाँचो र आवश्यकता छ ।

राम्रो व्यापार भए अझै पनि ट्विनअटर थप्दै जाने इच्छा छ । एटिआर ७२ सिटे जहाजमार्फत हामीले सहरी क्षेत्रमा उडान गरेका छौं । भद्रपुर, विराटनगर, सिमरा, पोखरा, जनकपुर, भरतपुर, लुम्बिनी, नेपालगन्ज र धनगढीमा एटिआरका जहाजबाट सेवा दिइरहेका छौं । नेपालीलाई ठूला जहाज चढाउने लक्ष्य छ । निरन्तर ठूला जहाज उडाएर तराईका फराकिला विमानस्थलमा सेवा दिने सोच छ |

यसरी सुरुवात भयो यती र ताराको

सानै उमेरदेखि नै मैले ट्रेकिङ गरे । १४-१५ वर्षको उमेरदेखि नै हिमाली क्षेत्रमा गाइड गर्ने काम गरें । आफैं पनि फुर्सदका समयमा हिमाल वरपरका ठाउँ हेर्ने, डुल्ने, घुम्ने गरें । ११-१२ वर्षको उमेरदेखि नै प्रायः गोठ, खर्कतिर गइरहन्थे । याकगोठ जाँदा होस् वा भेडीखर्कतिर, आफूभन्दा ठूलाले यतीको कथा सुनाउँथे । जङ्गल, हिमाल, भीर र हिउँका चुचुरातिर यतीले बास गर्छ भन्थे। बेस क्याम्पतिर जाँदा पनि भरिया, गाइडहरूले पनि यतीको चर्चा सुनाउँथे । विदेशीहरूले त झन् चाख मानेर यतीबारे प्रश्न गरिरहन्थे । भरियाहरूले नाम्चेमाथि खुम्बुका हिमाल, खोच, चेप र हिउँ ओडारतिर यती बस्छ भन्थे । कति विदेशीहरूले मान्छेकै अर्को रूप यती भएको सुनाउँथे । यतीलाई कतिपयले देखेको सुनाउँथे । कतिपयले यतीको पाइला देख्न पाएको भन्थे ।

मेरा पिकतिर जाँदा होस् वा त्याङ्बोचेतिर, यतीको अस्तित्वबारे कोही न कोहीले सुनाउँथे । यतीसँग हिमाली समाज अति जोडिएको थियो । शेर्पा भाषामा यतीलाई हिउँमा बस्ने मान्छे भनिन्छ । हिउँका गुफा र खोचतिर शान्तसँग यो बस्छ । यो पवित्र प्राणी हो । बेलाबखत बाहिर देखापरे पनि प्रायः गुफा र हिउँ गुफातिर जीवन गुजारिरहेको हुन्छ भन्ने मान्यता छ ।

पुर्खाहरूले यतीबारे सुनेका, देखेका कुरा गर्थे भनेर बुबाआमाले पनि सुनाउनुहुन्थ्यो । यसको आकारप्रकार झन्डै मानिसको जस्तै हुन्छ भनिन्छ । दुई खुट्टाले टेकेर यताउता गर्ने, शरीरभरि भुत्लैभुत्ला भएको, असाध्यै चेतनशील प्राणी, उच्च हिमाली भेगको हावापानीमा रमाउने र त्यहाँको वनस्पति, खोलानाला एवम् मौसमबारे सूक्ष्म जानकारी राख्न सक्ने प्राणीका रूपमा यतीलाई लिइन्छ । शेर्पा समुदायमा असाध्यै पवित्र र चोखो प्राणीका रूपमा यसको अस्तित्व स्विकारिएको पाइन्छ । हिमाली गाउँ समाजमा यतीबारे नजोडिएका घर, बस्ती र समुदाय थिएनन् । यती एउटा श्रद्धेय, पूज्य नाउँ त थियो नै । यसबारे धेरैले चासो गरिरहन्थे ।

यो नाम एकातिर अनौठो त थियो, मानिसका ओठ ओठमा झुन्डिएर लोकप्रियसमेत भइरहेको थियो । दुई ओटा ट्विनअटर किनिसकेपछि म हवाई सेवामा औपचारिक रूपमै जोडिएँ । आफू पनि हिमाली क्षेत्रकै भएकाले हिमालसँगै सम्बन्धित नाम दिन मन गरें । पहिल्यैदेखि सुनिआएको, छोटो-मीठो र आफ्नो माटोसँग गाँसिएको नाउँ यती अत्यन्तै मन पर्यो । त्यसैले मेरो एभिएसन कम्पनीको नाम राखें- यती एयरवेज । सन् १९८७ तिरै ट्रेकिङ कम्पनीको नाउँ यती राख्ने सोचाइ थियो । आखिर यही नाम राखें । नाम लोकप्रिय पनि भयो ।

१५ वर्षअघि भाई आङछिरिङले नाम फेर्ने सल्लाह गरे । अन्तर्राष्ट्रिय स्तरमा जाने सोचाइ राखेर हाम्रो एयरलाइन्सको नाम परिवर्तन गर्ने कुरा राखे । यती एयरवेजको साटो यती एयरलाइन्स राखौं भने । मैले उनको सल्लाह सरक्क मानें । त्यही बेलादेखि यती एयरलाइन्सको नामले प्रसिद्धि कमायो हाम्रो एभिएसन कम्पनीले । यतीको नाम राखेपछि धेरैले यो नाउँको अर्थ जान्न खोज्थे। यो नाम राख्नुको कारण जान्न खोज्थे । एकातिर नाम मीठो, छोटो र झट्टै सम्झिन सक्ने खालको त थियो नै- हिमालसँगै गाँसिएको त्यो नामले हाम्रो पहिचान पनि खुलेको लाग्दथ्यो ।

विदेशीहरू यतीबारे निकै उत्सुक हुँदै सोध्थे । भेट्दा निकै खुलदुलीपूर्ण भएर यसबारे जान्न खोज्थे ।  ‘यती कहाँ बस्छ ?’ उनीहरू निकै चासो लिँदै सोध्थे । ‘यती एयरपोर्टमा टन्नै छ,’ उत्तर दिन्थेँ । मेरो कुराले हाँसो हुन्थ्यो ।  दिनदिनै हाम्रो एयरलाइन्स कम्पनी फराकिलो भयो । अनेकौ चुनौती, समस्या, जटिलता र बाधाहरूसँग जुध्दै कम्पनीले आफूलाई विस्तार गर्यो । ठूला जहाज उडाउन, ओराल्न सहज हुन्छ । तर नेपालका सबै विमानस्थलमा त्यो सम्भव छैन । खासगरी हाम्रा पहाड, हिमालमा धेरै विमानस्थल छन् । त्यसैले तिनका लागि साना, सजिला र छरिता खालका विमानको महत्त्व धेरै छ । यही सोचेरै सुरूमा ट्विनअटर विमान किनेको थिएँ ।

पर्यटनलाई लक्ष्य गरेर नै यती एयरवेज स्थापना गरेको थिएँ । ट्विनअटर हिमाली र पहाडी विमानस्थलका लागि अत्यन्तै उपयोगी मानिन्छ । ट्विनअटर बलियो र रफमा पनि ओर्लने खालको विमान हो । नेपालका सबै हिमाली जिल्लामा ट्विनअटर सेवाले पर्यटनको विकास, विस्तार गर्नुपर्छ भन्ने सोचाइले नै सुरूमा दुई जहाज ल्याएको थिएँ ।

ट्विनअटर विमान सेवा विश्वप्रसिद्ध छ । संसारका धेरै देश र साना एयरपोर्टमा यही सेवा प्रदान गरिन्छ। मैले पनि यही अवधारणा थाहा पाएर ट्विनअटर विमान नै नेपालमा सुरुमा भित्र्याएँ । मौसम तुरून्त बदलिरहने, उच्च जोखिमयुक्त, फराकिला र सुविधासम्पन्न विमानस्थलको अभाव आदि कारणले ट्विनअटर बढी भरपर्दो, बलियो र सुविधाजनक हुन्छ । हिमाली र पहाडी क्षेत्रमा बढी दुर्घटना हुने सम्भावना हुन्छ । त्यसैले यस दुर्घटनाको सम्भावनालाई अध्ययन गरेर नेपालका लागि ट्विनअटर विमान नै उपयुक्त हुन्छन्। दुर्घटना पनि कम हुन्छ ।

सन् २०११ तिर तारा एयरको जन्म भयो । भाई आङछिरिङले तारा एयरको सिर्जना गरेका हुन् । त्यो अहिलेसम्म निरन्तर छ । यात्रु र सामान दुवै बोक्नमा सानो जहाज अत्यन्तै उपयोगी हुन्छ । खासगरी कर्णालीमा नियमित उडान गरेर त्यहाँको समाज र जनताका लागि हाम्रो कम्पनीले अत्यन्तै ठूलो सेवा गरेको छ । कम्पनीले कर्णालीमा जहाज उडाउँदा कमाएको छैन, पूरै घाटामा छ । पिछडिएको जिल्लाका लागि निजी क्षेत्र पनि भाग्दैन, सेवा गर्नमा जोडिएकै छ भन्ने सन्देश दिन हामीले त्यहाँ हवाई सेवा सञ्चालन गरिरहेका छौं ।

नेपालको पर्यटन विस्तारमा ट्विनअटर विमानको अत्यन्त ठूलो योगदान छ । विशेषतः भौगोलिक विकटता, खोच, भिराला पहाड, डाँडैडाँडा, चाँडोचाँडो मौसम फेरिइरहने र भिजिबिलिटीको समस्या बढी हुने कारणले ट्विनअटर विमानको महत्त्व धेरै छ । हाम्रो पर्यटन फस्टाउने ठाउँ पनि तराईको तुलनामा हिमाल र पहाड नै बढी हो । युरोपका मानिसमा पनि पहाड र हिमालै हेर्ने बढी रहर छ । हिमाली र पहाडी जीवनशैली पनि नितान्त बेग्लै छ । सांस्कृतिक, प्राकृतिक जीवन पद्धति बुझ्नकै निम्ति पनि विदेशीका लागि हिमाल र पहाड विशेष छनोटमा  परेको पाएको छु ।

सानो पखेरा ताछेर पनि पहाडमा विमानस्थल बनाउन सकिन्छ । केही गरा मिलाएर पनि एयरपोर्ट बनाउन सकिन्छ । केही कान्ला सम्याएर पनि ट्विनअटरका लागि चौर बनाउन सकिन्छ । हिमाल, पहाडको भूबनोटमा पनि टिवनअटर उड्न र बस्न सक्छन् । त्यसैले हामीले ट्विनअटर सुहाउँदा जिल्लामा हवाई सेवा पुयाएर  पर्वतीय पर्यटनको व्यापार विस्तार गर्न सक्छौं ।

(यती एयरलाइन्सका अध्यक्ष  ल्हाक्पा सोनाम शेर्पाको पुस्तक हिम्बुबाट)


क्लिकमान्डु