भारतको धार्मिक मेलामा भागदौड हुँदा १ सयभन्दा बढीको मृत्यु



एजेन्सी । भारतको उत्तर प्रदेशस्थित एक धार्मिक भेलामा भएको भागदौडमा १ सय जना भन्दा धेरैको मृत्यु भएको छ । प्रहरी इन्स्पेक्टर शलभ माथुरले मिडियालाई दिएको जानकारी अनुसार घटनामा मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ ।

उत्तर प्रदेशको हाथरास जिल्लामा आयोजित हिन्दू धार्मिक सभा सत्संगको क्रममा यस्तो भागदौड भएको हो । पीडितहरुमध्ये अधिकांश महिला र बालबालिकाहरु रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

तर भागदौड के कारणले भयो भन्नेबारे विस्तृतमा केही खबर सार्वजनिक भएको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार भागेर बाहिर निस्कने गेट निकै साँघुरो थियो । त्यसैले पनि धेरै मानिसहरु सभास्थलबाट भाग्न खोज्दा च्यापिएर मृत्यु भएक बताइएको छ ।

उत्तर प्रदेशको प्रहरीले भने घटनास्थलबाट केही घण्टासम्म पनि पीडितहरुको उद्धार हुन नसकेको बताएको छ । घटनास्थलबाट ट्रक, बस, मोटर बाइक लगायत सवारी साधनमा घाइतेहरुलाई अस्पताल लैजाँदै गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् । यसअघि २०१३ मा पनि मध्यप्रदेशको एक हिन्दु सभामा गोली हानाहान हुँदा १ सय १५ जना मारिएका थिए ।

भेलामा करिब २ लाख ५० हजार मानिसहरु भेला भएका थिए । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार गर्न केही घण्टा लागेको थियो ।


क्लिकमान्डु