
एजेन्सी । अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको सन् २०२६ को फिफा विश्वकप अन्तर्गत इराक विरुद्धको खेलमा नर्वेले एकै खेलमा तीनजना पूर्व विश्वकप खेलाडीका छोराहरूलाई मैदान उतारेर फुटबल इतिहासमै पहिलोपटक यस्तो दुर्लभ कीर्तिमान राखेको छ ।
मंगलबार भएको सो खेलमा अर्लिङ हालन्ड, अलेक्जेन्डर सोर्लोथ र क्रिस्टियन थोरस्टभेडले नर्वेको तर्फबाट खेल्दै यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेका हुन् । ठीक ३२ वर्षअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपका क्रममा जुन २३ मा इटाली विरुद्धको खेलमा नर्वेले अल्फ–इन्गे हालान्ड (अर्लिङ हालन्डका बुवा), गोरान सोर्लोथ (अलेक्जेन्डर सोर्लोथका बुवा) र एरिक थोरस्टभेड (क्रिस्टियन थोरस्टभेडका बुवा) लाई एकैसाथ मैदानमा उतारेको थियो ।
इराक विरुद्धको सोही खेलमार्फत विश्वकपमा डेब्यु गरेका हालन्डले दुई गोल गरेपछि नर्वेले इराकको बलियो चुनौतीलाई पन्छाउँदै ४–१ को सहज जीत हात पारेको छ । म्यानचेस्टर सिटीका यी प्रभावशाली स्ट्राइकरले गरेका दुई गोलका साथै लियो ओस्टिगार्डले एक गोल थपे भने इराकका आयमेन हुसेनले एक आत्मघाती गोल गर्न पुगे ।
खेलको सुरुवाती समयमा इराक निकै आक्रामक देखिएको थियो र गोल गर्ने केही अवसरहरू पनि सिर्जना गरेको थियो । त्यसमा आयमेन हुसेनको हेड प्रहार पोस्टभन्दा माथिबाट गयो भने अली अल हमादीको लामो दूरीको प्रहार पनि आकाशियो ।
तर, २९औं मिनेटमा डेभिड मोलर वुल्फको सटिक क्रसलाई हालान्डले पोस्टको पछाडिपट्टि सही पोजिसनमा रहेर गोलमा परिणत गरेपछि नर्वेले खेलमा सुरुवाती अग्रता लियो ।
खेलको १० मिनेटपछि अर्थात् ३९औं मिनेटमा अमिर अल अम्मारीको क्रसमा हुसेनले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर, पहिलो हाफ सकिनु ठीक अगाडि हालन्डको दबाबका कारण इराकी गोलरक्षक जलाल हसनले गल्ती गरेपछि नर्वेले पुनः अग्रता बनाउन सफल भयो ।
मध्यान्तरअघि इराकले खेल बराबरी गर्ने केही राम्रा अवसरहरू गुमाएपछि पहिलो हाफमा नर्वे २–१ ले अगाडि रह्यो ।
दोस्रो हाफमा गोलका स्पष्ट अवसरहरू पहिलो हाफको तुलनामा कम देखिए तापनि ७६औं मिनेटमा क्रिस्टियन थोरस्टभेडको प्रहारपछि प्राप्त कर्नरमा ओस्टिगार्डले हेडमार्फत गोल गर्दै नर्वेको अग्रतालाई थप फराकिलो बनाए । खेलको अन्त्यतिर हालन्डले विपक्षीको खराब ब्याक पासलाई नियन्त्रणमा लिँदै ह्याट्रिक पूरा गर्ने सुवर्ण मौका पाएका थिए तर गोलरक्षक हसनले उत्कृष्ट बचाउ गरे ।
खेलको इन्जुरी समयमा हालन्डकै हेड प्रहारलाई क्लियर गर्ने क्रममा हुसेनबाट आत्मघाती गोल भएपछि नर्वे ४–१ को फराकिलो अन्तरले विजयी भयो ।








प्रतिक्रिया