साढे २ खर्ब बढी मागदाबी, पेवेल र सजिलो पेलाई ८१ करोड, कसको कस्तो संलग्‍नता ?



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानपछि प्रहरीले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ माग दाबी गरेकोमा भन्सार ऐन तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँ, क्रिप्टो करेन्सी तर्फ १ खर्ब ४९ अर्ब ६८ करोड २८ लाख ७ हजार ८८६ रुपैयाँ, नेपाल राष्ट्र बैंक ऐन तर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२ रुपैयाँ, पेवेल प्रालिलाई ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३ रुपैयाँ र सजिलो पे पेमेन्ट सर्भिसेजलाई १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ तथा अन्य प्रतिवादीलाई ५ अर्ब १८ करोड १५ लाख ९१ हजार ९६४ रुपैयाँ मागदाबी गरिएको छ ।

यस प्रकरणमा २० जना पक्राउ परेका छन् । २६ जना अझै फरार छन् । सीआईबीले गरेको अनुसन्धानबाट पक्राउ परेका सिद्धार्थ भनिने २० वर्षीय सिद्धनाथ अशोक गायकवाड भारतको महाराष्ट्रका नागरिक हुन् ।

उनले काठमाडौं महानगरपालिका–२२ न्यूरोडको संकटामा सुन रिफाईनरी पसल सञ्चालन गर्ने गरेका थिए । उनी वैशाख २३ गते पक्राउ परेका हुन् । उनले अवैध सुन खरिद गर्ने, गाल्ने, पगाल्ने र बिक्री गर्ने काम गर्दै आएका थिए । साम भनिने चिनियाँ नागरिक जोङ चियाङ्कहुआनबाट उनले अवैध सुन खरिद गरी बिक्री गर्ने गरेको पाइएको छ ।

गायकवाडको साथबाट १ करोड २३ लाख रुपैयाँ, डिजिटल तराजु, लक्की ज्वेलर्सको नामको विलप्याड, अवैध सुन बरामद गरिएको छ । यस्तो सुन नेपाल र भारतमा पठाउने गरिएको छ ।

साथै उनैसँग काम गर्ने भारतको महाराष्ट्रका २१ वर्षीय धिरज दिनेश भोईटे भनिने व्यक्ति पनि पक्राउ परेका छन् । उनले पनि अवैध सुन खरिद गर्ने, गाल्ने तथा पगाल्ने र बिक्री गर्ने काम गर्दै आएका छन् ।

तिब्बतमा जन्मिएका ३६ वर्षीय सोनाम गुरुङ भनिने सेराब ग्याल्मो भारतमा तिब्बतीय शरणार्थीको रुपमा बस्दै आएका थिए । उनी हाल बौद्ध चारघरेमा बस्ने गरेका छन् ।

उनी असार २ गते पक्राउ परेका छन् । उनको साथबाट ५ किलो ९९५ ग्राम सुन, ४८–०१–६९–०३४६२ नम्बरको किर्ते नागरिकताको प्रमाणपत्र फेला परेको छ । गुरुङ अवैध सुन खरिद बिक्री गर्ने तथा क्रिप्टो यूएसडीटी मार्फत भुक्तानी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ । गुरुङले गायकवार्डलाई यूएसडीटी बिक्री गर्ने गरेको पाइएको छ ।

प्रहरीले पक्राउ गरेका मध्ये ४३ वर्षीय एनजे भनिने मनोजराज श्रेष्ठ रहेका छन् । चितवन भरतपुर महानगरपालिका–१ बेल्टाडीका श्रेष्ठको चितवनको मिलन रोडमा मुक्तिनाथ सुनचाँदी पसल छ । उनी असार ३ गते पक्राउ परेका हुन् । अवैध सुन खरिद बिक्रीमा उनको पनि संलग्नता रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । अशोकबाट सुन लिने र बिक्री गर्ने गरेको पाइएको छ । उनले सजिलो पे मा पैसा जम्मा गर्ने गरेको पनि अनुसन्धानमा खुलेको छ ।

काभ्रेपलान्चोक जिल्ला भुल्मु गाउँपालिका–१ का २२ वर्षीय रुपक भण्डारी हाल बुढानीलकण्ठ नगरपालिका १० कपनमा बसेबास गर्दै आएका छन् । असार ३ गते पक्राउ परेका उनले पनि अशोकबाट सुन लिएर बिक्री गर्ने, अवैध रकम निक्षेप गर्ने गरेको अनुसन्धानले देखाएको छ । पेवेल नेपाल, सजिलो पेमा पैसा जम्मा गर्ने जिम्मा उनको भारतमा रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।


क्लिकमान्डु